स्पेनमा १० घण्टे लोडसेडिङ अन्त्य

स्पेन । युरोपेली इतिहासमै दुर्लभ घटना लामो अवधिको लोडसेडिङ अन्त्य हुन पुगेको छ । सोमबार करिब १० घण्टा अवरुद्ध बनेको विद्युत् सेवा राति अबेर सुचारु भएको छ । स्पेन, पोर्चुगलमा व्ल्याकआउट हुँदा जनजीवन प्रभावित भएको थियो ।

सोमबार दिउँसो १२:३३ बजे एकाएक विद्युत् सेवा बन्द हुन पुगेको थियो । जसकारण मोबाइल नेटवर्कहरू समेत गायब भएका थिए । इन्टरनेटको पहुँचसमेत बन्द हुन पुग्यो ।

सुपर मार्केटहरूमा दैनिकी उपभोग्य सामानहरू खरिद गर्नेको लर्को लागेको थियो । पसल, रेष्टुरेन्टमा नगदको मात्रै कारोबार हुँदा कार्डबाट भुक्तानी गर्नेहरू समस्यामा परेका थिए । एटीएम समेत बन्द भए ।

३ दिनसम्म व्ल्याकआउट हुने हल्लाले पानी, खाद्यान्न जोहो गर्न स्थानीय दिनभर व्यस्त बने । कैयन मानिसहरू दिनभर लिफ्टहरूमा फसे, रेलहरूभित्रै बस्नुपरेको थियो । अधिकांश पसल, व्यवसाय बन्द भए ।

सोमबार राति १० बजेदेखि स्पेनका ६२ प्रतिशत सबस्टेशनहरू अनलाइन भैसकेका छन् । ६ सय ८० मध्ये ४ सय २१ वटाबाट ४३.३ प्रतिशत विद्युत् आपूर्ति सम्भव भएको थियो । उता पोर्चुगलको ग्रिड अपरेटर आरइएनले देशका ८९ सबस्टेशनमध्ये ८५ मा विद्युत् सुचारु भएको जनाएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत् सेवा सुचारु गर्ने काम रातारात सम्भव भएको बताएका छन् । मङ्गलवारसम्म सबै क्षेत्रमा विद्युत् सुचारु हुने दाबी गरे । प्रधानमन्त्री सान्चेजले स्पेनमा थप बिजुली पठाएकोमा फ्रान्स र मोरक्कोलाई धन्यवाद दिएका छन् ।

अत्यधिक तापमानको भिन्नताको कारण विद्युत् सेवा रोकिन पुगेको भनिए पनि वास्तविक कारण अझै खुलेको छैन । यति लामो अवधि विद्युत् सेवा रोकिनु युरोपका लागि विरलै घटना मानिन्छ ।

व्ल्याकआउटेज युरोपमा असामान्य छ। सन् २००३ मा इटाली र स्विट्जरल्याण्ड बीचको हाइड्रोइलेक्ट्रिक पावर लाइनमा समस्या हुँदा १२ घण्टा लोडसेडिङ हुन पुगेको थियो । सन् २००६ मा जर्मनीमा ओभरलोड विद्युत् नेटवर्कले देशका भागहरू र फ्रान्स, इटाली, स्पेन, अस्ट्रिया, बेल्जियम र नेदरल्याण्डमा विद्युत् सेवा अवरुद्ध हुन पुगेको थियो ।

स्पेनको राष्ट्रिय ग्रीड अपरेटर रेड इलेक्ट्रीकाले सामान्य अवस्थामा फर्किन लाग्ने समय यकिन गरेको छैन । उसले यसलाई असाधारण घटना भनेको छ । उसले ‘विद्युत् प्रणालीहरू बीचको सिंक्रोनाइजेसन विफलताको कारण’ भनेर प्रारम्भिक भनाइ सार्वजनिक गरेको छ ।

यो बिरलै घटना हो । स्पेनकै पहिलो घटना । यहाँ इन्भटर राख्ने चलन नै छैन । दिनभर नेटवर्क, बिजुली बन्द ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *