वर्षमानको आरोप- प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताए ।

आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार बानेश्वर क्षेत्रमा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गर्दा एक सञ्चारकर्मीसहित ६० बढी शिक्षक घाइते भएका थिए ।

पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘करिब एक महिनादेखि पेशागत माग राखेर शिक्षकहरु सडक आन्दोलनमा छन् । विगतमा तीन चरणमा भएका सहमति पालना गर्नुको सट्टा सरकारले दमनको भाषा बोलेको छ’, पुनले भने, ‘यसको म निन्दा र भर्त्सना गर्दछु ।’

लोकतन्त्रमा जनताका आवाज र असन्तुष्टिको समाधान वार्ता र संवादबाट खोजिनुपर्नेमा प्रधानमन्त्री केपी ओलीले नै बल प्रयोग र हठ प्रदर्शन गरेको टिप्पणी उनको थियो ।

‘लोकतन्त्रमा जनताका असन्तुष्टि र मागको सम्बोधन संवादबाट हुनुपर्ने हो’, उनले भने, ‘प्रधानमन्त्री नै शिक्षकहरुप्रति बल प्रयोग र हठको भाषा बोलिरहनुभएको छ ।’

पुनले तत्काल वार्ता गरी शिक्षकहरुका जायज माग सम्बोधन गर्न आफ्नो दलका तर्फबाट माग गरे ।

Comments

One response to “वर्षमानको आरोप- प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयो”

  1. ksp pyl Avatar
    ksp pyl

    टोखाबाट २५ करोड समातेपछि विक्षिप्त भएको अवस्था ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *