काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी)मा तीन दिने ‘अनुसन्धान लेखन कार्याशाला’ सम्पन्न भएको छ । बागबजारस्थित कलेजको सेमिनार हलमा सम्पन्न कार्याशालामा केएमसीसहित आधा दर्जन बढी क्याम्पसहरुबाट करिब ५० जना उच्च शिक्षा प्राध्यापन गराउने अध्यापकहरुले सहभागीता जनाएका थिए ।
विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा भएको कार्याशालामा १२ जना स्रोत व्यक्तिहरुले आफ्नो विज्ञता र अनुभव पस्केका थिए । कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले शिक्षा क्षेत्रमा सक्रिय जनशक्तिले अनुसन्धानलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए ।

आजको परिवेशमा सुहाउँदो अध्ययन अनुसन्धानले शैक्षिक रुपान्तरणमा मात्रै नभएर व्यवहारिक योगदान पनि हुने भन्दै उनले यसलाई प्राथमिकता दिनुपर्ने बताए । यस्ता कार्याशालाले अध्यापकहरुमा नयाँ र रचनात्मक सीपको विकास गरी आफ्ना कार्यहरुलाई अनुसन्धानमा परिणत गर्न सघाउने उनको भनाइ थियो ।
त्यस्तै, काठमाडौं मोडल कलेजका प्रमुख सुरेन्द्र सुवेदीले आधुनिक समयमा उच्च शिक्षा पेशामा लागेकाहरुले आफूलाई निरन्तर अपडेट गुर्नपर्ने आवश्यकतालाई ध्यानमा राखेर कार्याशाला आयोजना गरिएको बताए । उनले सिकाइ संस्कृति र आफ्नो बौद्धिकतालाई वैज्ञानिक ढंगले लिपिवद्ध गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो र संवद्ध संस्था र समाजलाई समेत परिचित बनाउन यस्ता सिकाइ कार्यक्रमले भूमिका खेल्ने उल्लेख गरे ।

त्यस्तै, कार्याशालामा त्रिविको व्यवस्थापन विभागका डीन प्रा. डा. महानन्द चालिसेले अबको अनुसन्धान नेपालको माटो सुहाउँदो विधि, प्रविधि र परिणामुखी हुनुपर्ने बताए । केवल राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित गर्ने होडबाजीले भन्दा पनि समाजमा आफ्नो अध्ययनले वास्तवमा के कस्तो योगदान दिन सक्छ भन्ने विषयलाई केन्द्रमा राखेर अनुसन्धान गरिनुपर्नेमा उनले जोड दिए ।

रिसर्च म्यानेजमेन्ट सेलका कोअर्डिनेटर प्रा. डा. श्रीधर गौतमले जुनसुकै तहको एकेडेमिसियनले अनुसन्धानलाई साथमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्याशालामा डा. भरत बहादुर थापा, डा. रेवन दाहाल, डा. अमिना सिंह, डा. सुरेन्द्र महतो, डा. सञ्जुकुमार सिंह, डा. खगेन्द्र आचार्य, डा. प्रकाश श्रेष्ठ, डा. गंगाराम विश्वकर्मा, डा. दिनेश बस्नेत, डा. प्रकाश पौडेल, प्रा. डा. आर्हन स्थापितले अनुसन्धानका फरक-फरक विषयवस्तुमा सहजीकरण गरेका थिए ।
कार्याशालालाई केएमसीका आईक्वीएसी हेड ध्रुव प्रसाद तिमिल्सिनाले सञ्चालन गरेका थिए भने कार्यक्रममा रिसर्च म्यानेजमेन्टका उज्ज्वल भट्टराईसहित विभिन्न कलेजका अध्यापकहरुको सक्रिय सहभागीता रहेको थियो ।



Leave a Reply