रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताएका छन् ।
लुम्बिनीमा आज सुरु भएको नेपाल-चीन बौद्ध संस्कृति र कला विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताएका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवर्द्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा गोष्ठी भएको छ । गोष्ठीले नेपाल र चीनबीचको सांस्कृतिक, धार्मिक र बौद्धिक सम्बन्धलाई थप मजबुत बनाउने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे ।
‘लुम्बिनी केवल नेपालको गहना होइन, यो विश्व शान्ति र बौद्ध दर्शनको स्रोत हो’, उनले भने, ‘बुद्धले यही भूमिबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो ।’
नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्दै सांस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएकोमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठूलो फाइदा लिनसक्ने मुख्यमन्त्री आचार्यले बताए । विशेषगरी लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उनले उल्लेख गरे ।

Leave a Reply