काठमाडौं । जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २८ जनाको हत्या भएको आतंकी हमलामा नेपालको मुस्लिम आयोगले केही नबोलेको भन्दै स्वतन्त्र युवाको नाममा एक समूहले २४ घण्टाको अल्टिमेटम दिएको छ ।
सोही समूहले महाराजगन्जस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन समेत गरेको छ । पहलगाम आतंकी हमलामा पाकिस्तानको हात रहेको भारतीय आरोप सही रहेको भन्दै सो समूहले ब्यानर र प्लेकार्डसहित मुख्य सडकमा केहीबेर प्रदर्शन गरेको हो ।
उनीहरुले पाकिस्तानी सेनाविरुद्ध समेत पोस्टर प्रदर्शन गरेका थिए । स्वतन्त्र युवा समूहको प्रदर्शन चलिरहेकै बेला केही व्यक्ति राप्रपाको ब्यानरमा सोही स्थानमा पुगेका थिए ।
उनीहरुले पहलगाम घटनाको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएर ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
पाकिस्तानी दूतावास अगाडिको प्रदर्शनमा आतंकी हमलालाई लिएर प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि स्वतन्त्र युवा समूहका प्रदर्शनकारी भने त्यहाँबाट तितरवितर भएका थिए । यसैबीच नेविसंघले समेत पाकिस्तानी दूतावास बाहिर प्रदर्शन गर्ने भने पनि अन्तिममा रद्द भएको जानकारी दिइयो ।


Leave a Reply