‘अमेरिकाको ट्यारिफ हाम्रो लागि फाइदाजनक छ, अन्य देशका उद्योगी नेपाल भित्रिने सम्भावना उच्च छ’ (भिडिओसहित)

काठमाडौं । पशुपतिदेव पाण्डे तयारी पोशाकका क्षेत्रमा आबद्ध भएको दुई दशक नाघिसक्यो । पाण्डे पिओर क्लोथ उद्योगका सञ्चालक हुन् । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्ष रहेका पाण्डे नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्यात प्रवर्द्धन समितिमा सहसभापतिसमेत छन् ।

उनले नेपालमा तयारी पोशाक उत्पादन गरेर विदेशमा निर्यात गर्दै आएका छन् । निर्यातमध्ये ४० प्रतिशत अमेरिकामा हुँदै आएको छ । अब नेपालबाट अमेरिका निर्यात हुने वस्तुहरूमा १० प्रतिशत ट्यारिफ लाग्ने भएको छ । यसले नेपाललाई कस्तो असर पार्छ भन्नेबारे नेपालप्रेसकर्मी रिता राउतले उनै पशुपतिदेव पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंशः

– नेपालमा पछिल्लो समय गार्मेन्ट उद्योगको अवस्था कस्तो छ ?

तयारी पोशाक खाद्यान्नपछिको ठूलो व्यवसाय हो । लत्ताकपडा अत्यावश्यक रहेकाले यसको बजारको हिस्सा ठूलो छ । नेपालबाट निर्यात हुने वस्तुहरूको दोस्रो स्थानमा तयारी पोशाक रहेको छ ।

एकताका अमेरिकासँगको मल्टीफाइबर एग्रिमेन्टअन्तर्गत कोटा सिस्टममा सामानहरू त्यहाँ जाने गरेको थियो । यसमा विभिन्न मुलुकसँगै नेपाल पनि परेको थियो । सन् २००५ मा मल्टीफाइबर एग्रिमेन्ट अन्त्य भयो । त्यसपछि नेपालमा करिब १ हजार २८५ वटा गार्मेन्ट उद्योग बन्द भए ।

तत्कालीन समयमा वार्षिक ४० करोड डलरको निर्यात हुने गरेको थियो । लाखौंको रोजगारी गुम्यो, अर्बौंको क्षति हामीले व्यहोर्नुपर्‍यो । त्यसपछि यस्ता थुप्रै उद्योग रुग्ण भए । त्यसबेला एकै सालमा १५ वटाको सङ्ख्यामा उद्योग झरे । थुप्रै उद्योगी पलायन भए । कामदारहरू पनि पलायन भए ।

हाल नेपालमा गार्मेन्ट उद्योगको सङ्ख्या १०० को हाराहारी रहेको छ । अहिले यस क्षेत्रमा ५० हजारले मात्रै रोजगारी पाएका छन् । नेपालका गार्मेन्ट उद्योगहरूमा धेरैजसो नेपालीहरूले नै रोजगारी पाएका छन् । केही भारतीयहरूले पनि रोजगारी पाएका छन् ।

 

– अर्थतन्त्रमा देखिएको मन्दीले गार्मेन्ट उद्योगलाई कस्तो असर पारिरहेको छ ।

अर्थतन्त्रको मन्दीले अवश्य पनि समस्या परी नै हाल्छ । राज्यको सबै अङ्गमा असर गर्छ । हामी उद्योगीहरूलाई नपर्ने भन्ने हुँदैन, परेको छ ।

– तपाईं नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिमा सहसभापति पनि हुनुहुन्छ । नेपालबाट हुने निर्यातको अवस्था कस्तो छ ?

नेपालबाट तयारी पोशाकमात्रै होइन, अन्य थुप्रै वस्तु तथा सेवाहरू निर्यात हुने गर्छ । गलैँचादेखि कुकुरका लागि आहारसम्म निर्यात हुन्छ । समग्रमा नेपालबाट हुने निर्यातको अवस्था नराम्रो छैन । राम्रो नै छ । जुन विस्तारै वृद्धि हुँदै गएको छ ।

अब निर्यात थप बढ्दै जान्छ । अहिले सरकार पनि उद्योग बढाउने, निर्यात गर्ने, अर्थतन्त्र चलायमान बनाउन लागिरहेको छ । यसका लागि सरकारका सबै अङ्ग परिचालन भएका छन् । यसमा छिट्टै राम्रो खबर आउनेछ । राम्रो हुनेमा नै हामी आशावादी छौँ ।

हामीले पनि विभिन्न फोरममा राज्यलाई कसरी माथि लैजाने भनेर नै सुझावहरू दिइरहेका छौँ । हाम्रा सुझावहरूमा सरकार पनि सकारात्मक रहेको छ । चाँडै निर्यातमा हामीले उल्लेख्य प्रगति हासिल गर्न सक्छौँ ।

– आयात र निर्यातको तुलना गर्ने हो भने आकाश-जमिनको फरक छ । आयातको तुलनामा नेपालबाट निर्यात पर्याप्त नहुनुको खास समस्या के हो ?

हामीले आयात र निर्यातमा देखाउने डाटा नै ठीक छैन । प्रशोधन हुने टेक्नोलोजीदेखि विभिन्न चिजहरू जुन नेपाल आएर रिफाइन गरेर उत्पादन दिनेलाई भनिने आयात र ‘कन्जुमरबेस’को आइटमको निर्यातलाई छुट्ट्याउनुपर्छ । तिनीहरूलाई एउटै क्याटोगोरीमा राखेर हुँदैन ।

निर्यातमा जे पनि पठाउन मिल्यो । त्यसलाई डाटामा राख्न पनि मिल्यो । जुन आयात भनिन्छ नि, जुन कन्जुमर बेसका आइटमहरू छन्, तिनीहरूले कुनै पनि परिवर्तन ल्याउँदैन । जनैदेखि लुगासम्मलाई आयातमा राखिएको छ ।

– बजारमा तयारी पोशाकको हिस्सा स्वदेशीभन्दा विदेशी धेरै छ । नेपालीहरूले नै किन नेपाली उत्पादन रुचाउँदैनन् ?

हामी नेपाली सबै बाहिरको लगाउने, बाहिरको नै खाने र बाहिरको नै विश्वास गर्ने भयौं । बाहिरको भन्नेबित्तिकै विश्वास गर्ने, तर त्यही गुणस्तरका लुगाहरू नेपालमै बनेको छ भने त्यो नलगाउने गर्छौँ । बाहिरबाट आयात हुने जस्तै कपडाहरू हाम्रै सदस्य उद्योगीहरूले पनि बनाउँछन् । केटीएम, लोगो फेसनलगायतका विभिन्न उद्योगहरूले नेपालमै राम्रो गुणस्तरको लुगा उत्पादन गर्दै आएका छन्, तर नेपालीहरू मेड इन नेपाल किन लगाउने भन्ने खालका भइदिए । यसमा मानसिकता नै परिवर्तन गर्न जरुरी रहेको छ ।

मेरो राष्ट्र, मेरो उत्पादन र विश्व बजार भन्ने थिमसहित हामीले काम गरिरहेका छौँ । नेपालमै उत्पादन गर्ने आफैंले प्रयोग गर्ने र विश्व बजारमा पुर्‍याउने गरेर हामीले काम गरिरहेका छौँ । मेरो देश म आफै बनाउँछु भनेर तपाईं हामी सबै लाग्नुपर्छ ।

– कुनै समय नेपाली तयारी पोशाकको बजार अमेरिकामा धेरै थियो, धेरै वर्ष अघिदेखि त्यो अवस्था रहेन । कोटा सिस्टम नभएर हो कि हामीले गुणस्तरीय सामान दिन नसकेर हो ?

एकताका नेपाली तयारी पोशाकको ठूलो बजार अमेरिका थियो । यसमा गुणस्तरको कुनै विषय होइन । हाम्रोमा गुणस्तरकै कारण सिध्यायो भन्ने होइन । कोटा फेजआउट भएपछि भन्साररहित सुविधा हटेर भन्सार लागेपछि महँगो पर्न गयो । अन्य मुलुकका सस्तो पर्न गयो । हाम्रोमा महँगो परेपछि ग्राहक आउन छोडेका हुन् ।

– हामीले अरू तेस्रो देशमा नेपालको तयारी पोशाकको वैकल्पिक बजार खोज्न सकिन्न र ?

अहिले अमेरिकामा जम्मा निर्यातको ४० प्रतिशत जान्छ । बाँकी युरोपलगायतका अन्य मुलुकमा निर्यात हुने गरेको छ । अन्य मुलुकमा पनि निर्यात गर्न त सकिन्छ, तर महँगो पर्न गएकाले सम्भव नभएको हो ।

एउटा उदाहरण हेरौँ– तीन वटा दोकान सँगै छ । तीन दोकानमध्ये नेपालको एउटा भयो । एउटा चीनको र एउटा भियतनामको भयो । यी तीन दोकानमा एउटै सामान पाइन्छ, तर मूल्य फरक फरक हुन्छ । जुनमा मूल्य सस्तो छ, त्यसमै त ग्राहक आकर्षित हुने हुन् । हाम्रोमा पनि त्यही भएको हो ।

– अमेरिकाले अहिले जसरी विश्वव्यापी ट्यारिफ (भन्सार कर) बढाएको छ, त्यसले नेपाललाई के असर गर्छ ?

अमेरिकाले नेपालबाट निर्यात हुने वस्तुहरूमा १० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेको छ । अमेरिकाले अप्रिलको २ तारिखदेखि ट्यारिफ लगाएको छ । त्यसपछि हामी एकदमै खुशी थियौँ । ठूलो मात्रामा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खरिदकर्ताहरू सम्पर्कमा आउनुभएको थियो, तर फेरि ९ तारिखमा नयाँ स्टेटमेन्ट आयो । त्यसले फेरि ‘होल्ड’ गरिदिएको छ । अहिले नै नीति कार्यान्वयनमा आएमा नेपालले फाइदा लिनसक्छ ।

अरूले बनाइदिएको पोलिसीले पनि कहिलेकाहीँ राम्रो गर्छ । हामी जस्तै अरू मुलुकहरूलाई ३५-४० प्रतिशत लगाइदिँदा नेपाललाई १० प्रतिशतमात्रै लगाइदिएको छ । यसले नेपाललाई फाइदा पुग्छ । यही नीति आएमा अमेरिकामा निर्यात गर्ने उद्योगहरू, भियतनाम, कम्बोडिया, बंगलादेशलगायतका मुलुकहरूमा सञ्चालन भइरहेका उद्योगहरूमध्ये २-४ प्रतिशत उद्योग नेपाल आउने सम्भावना छ । यसो भएमा नेपालमा आमूल परिवर्तन आउँछ ।

– ट्यारिफपछि नेपालले केही फाइदा लिन सक्छ कि सक्दैन ?

अरू मुलुकको तुलनामा नेपाललाई लगाइएको ट्यारिफले फाइदा पुग्छ । ठूलो मात्रामा नेपालबाट निर्यात बढ्छ । आयात निर्यातको खाडललाई पाँच वर्षभित्रमा तयारी पोशाक, जुत्तालगायत आधा दर्जन वस्तुले नै कम गर्छ । हाम्रै युवाहरू स्वदेश फर्किने सम्भावना छ ।

यसको सबैभन्दा ठूलो फाइदा तयारी पोशाकलाई हुन्छ । दोस्रोमा जुत्तालाई हुन्छ । त्यसपछि पस्मिना, गलैँचा, हस्तकलालगायतका अन्य वस्तुहरूलाई ठूलो मात्रामा फाइदा पुग्छ । ट्यारिफकै कारण अन्य देशका उद्योगीहरू नेपालमा आउँछन् । यसले नेपालको विकासमा ठूलो परिवर्तन ल्याउने सम्भावना छ ।

ठूला उद्योगीहरू नेपाल भित्रिन पनि खोजिरहेका छन् । हामीसँग केही सम्पर्कमा पनि आएका छन् । अन्य मुलुकमा ट्यारिफका कारण घाटा हुने भएपछि नेपालमा ‘सिफ्ट’ हुन खोजिरहेका छन् । अहिलेको ट्यारिफ कायम भएमा नेपालको व्यापार घाटा पाँच वर्षमै अन्त्य हुने गरेर नेपालमा उद्योग विकास भई त्यसबाट निर्यात हुन्छ ।

– नेपाली गार्मेन्ट उद्योगका समस्याहरू के के हुन् ? समस्या समाधान गर्न कसले कस्तो भूमिका खेल्नुपर्छ ?

राज्य ‘सस्टेन’ हुन धेरै चिज चाहिँदैन । पोलिसी रिफर्म भयो भने आफैं भइहाल्छ । सरकार पनि अहिले यसमा लागिरहेको छ । यो सरकारले केही न केही रिजल्ट निकाल्ने हिसाबले काम गरिरहेको छ । यसमा चाँडै रिजल्ट आउँला, तर बजारको सुनिश्चितता एउटा समस्या बनेको छ । विदेशी बजारका ग्राहक आकर्षित गर्न पोलिसी रिफर्म गर्न आवश्यक छ ।

लामो समयदेखि नगद अनुदान दिइएको छैन । कार्गोमा टीडीएस लगाइएको छ । निर्यात गर्ने उद्योगहरूमा सहजै लगानी गर्न मानिँदैन । यी सबै समस्या समाधान गर्ने हो भने गार्मेन्ट उद्योग नेपालमा फस्टाउँछ ।

गार्मेन्ट उद्योगीहरूलाई सस्तो ब्याजदरमा ऋण आवश्यक छ । आजभन्दा १५ वर्ष अगाडि पेमेन्ट गेट वे युरोप, अमेरिकाले प्रयोगमा ल्याइरहेका छन्, तर नेपालले आजसम्म सकेको छैन । ई-कमर्समार्फत विश्व बजारमा हाम्रा उत्पादन पुर्‍याउने वातावरण बनाइदिनुपर्छ । केही समयलाई बाहिरको सामान नै किन्न बन्द गरिदिऔं । समस्या कहाँ छ, त्यसको चुरो कुरो खोजेर समाधान गरिदिनुपर्छ । जसरी हुन्छ निर्यात बढाउने वातावरण राज्यले बनाइदिनुपर्छ ।

– अहिले सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । गार्मेन्ट उद्योगीहरू कस्तो बजेट चाहन्छन् ?

अर्थतन्त्र चलायमान हुने बजेट चाहियो । निर्यातमैत्री बजेट चाहियो । बजेटले उत्पादन र निर्यातलाई जोड्न सक्नुपर्‍यो । लगानी बढ्ने वातावरण बजेटले बनाइदिनुपर्छ । हामीले सरकारलाई सुझावहरू पनि दिएका छौँ । हाम्रा सुझाव बजेटमा समावेश हुनुपर्छ भन्ने सबै गार्मेन्ट उद्योगीको माग छ ।

Comments

One response to “‘अमेरिकाको ट्यारिफ हाम्रो लागि फाइदाजनक छ, अन्य देशका उद्योगी नेपाल भित्रिने सम्भावना उच्च छ’ (भिडिओसहित)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    कामदार प्राय सबै भारतिय मुसलमान, लगानी भारतिय अनि नेपाली लाइ चाही बाबा जी का ठुल्लु!! २-४ करोड राजस्व प्राप्त होला सरकारलाइ , अनि २-४ जना तिमेरू जस्ता ब्यापारीलाइ लाभ हुन्छ त्यती हो , गार्मेन्ट उध्योगमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *