लोकतन्त्रमा रचनात्मक आलोचना होस्, समाजलाई भाँड्ने खालको होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताएका छन्। भूकम्प स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुपर्ने बताए।

उनले भने, ‘आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुपर्दछ ।’

उनले ०७२ को भूकम्प जाँदाको परिस्थिति संविधान निर्माणको कामको अन्तिमतिर भएको स्मरण गरे।

उनले भने, ‘हामीसँग अत्यन्तै तितो अनुभव थियो । एउटा संविधानसभा चार वर्षको कार्यकाल पूरा गरेर संविधान दिन असफल भएर टुंगिएको थियो । धेरै मेहनत र धेरै कठिनाइ पार गर्दै र धेरै व्यवधानहरू पन्छाएर हामी संविधान निर्माण गर्न हामी अन्तिम चरणतिर दृढ संकल्पका साथ गएका थियौँ । भूकम्प त्यसैबेला गयो ।’

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै,

हामी जति बेला संविधान निर्माणको अन्तिम अन्तिम चरणतिर थियौँ र संविधान जारी गर्ने हाम्रो राष्ट्रको जुन साझा आकांक्षा थियो, तितो अनुभवसहित र अघिल्लो असफलताको तितो अनुभवसहित त्यही कुरा हामी दोहोरिन नदिन चाहिरहेका थियौँ र कुनै पनि हालतमा दोहोरिन नदिने हाम्रो संकल्प थियो । त्यस संविधानसभाले संविधान दिनै पर्दथ्यो, त्यो संकल्पका साथ हामी डटिरहेको बेला, जुटिरहेको बेला स्वभाविक रूपमा त्यहाँ स्वार्थ समूहहरू उत्पन्न हुनु, स्वार्थ समूहहरूले आफ्ना आफ्ना स्वार्थहरूलाई संविधान निर्माणका बखत अगाडि बढाउनु, स्वार्थहरू बाझिनु, स्वार्थहरू टकराउनु धेरै अस्वाभाविक थिएन ।

हामीले ती कुराहरूलाई समाधान गर्नु पर्ने थियो । त्यस्तो बेलामा अचानक महाभूकम्प गयो । जसले नेपालको परिस्थितिलाई अर्कै दिशामा मोड्दियो । म नेपालका राजनीतिक दलहरूको सुझबुझलाई धन्यवाद भन्न चाहन्छु, त्यसबेला पक्ष र प्रतिपक्ष नभनेर जसरी एकजुटता कायम गर्ने र यस विपत्तिको हामी सबैले सामना गर्नु पर्दछ र संविधान निर्माणको काममा पनि साथैसाथै अगाडि बढ्नु पर्दछ भन्ने एउटा राष्ट्रिय एकताको भावना सबैतिरबाट प्रदर्शन भयो, त्यस कुराको म स्मरण गर्न चाहन्छु र त्यसका लागि सबै पक्षहरूलाई म धन्यवाद पनि भन्न चाहन्छु।

हाम्रो युनिटी त्यसरी नै देखिनु पर्दछ । राष्ट्रिय प्रश्नहरूमा, राष्ट्रिय हितका प्रश्नहरूमा वा यस्ता महत्त्वपूर्ण प्रश्नहरूमा राष्ट्रिय एकता अनिवार्य छ । त्यसै गरेर सुशासन र विकासका प्रश्नहरूमा पनि हाम्रो राष्ट्रिय एकता अनिवार्य हुनुपर्दछ ।

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनु पर्दछ । आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुपर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *