काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताएका छन्।
प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रवार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताए।
उनले भने, ‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने र बलियो राज्यका मध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ।’
आमसञ्चार माध्यमले हरेक घटनालाई राज्य र नागरिकका बिच गहिरो सम्बन्ध कायम गर्ने कोणबाट विश्लेषण गर्नु पर्ने भन्दै समाचारले समाजलाई सकारात्मक प्रभाव पार्नु पर्नेमा जोड दिए। नकारात्मक समाचारले समाजलाई गलत दिशा तर्फ लैजाने उनको धारणा छ ।
नेपालमा धेरै बाह्य लगानीबाट हुने रिसर्चहरू प्रायोजित र देशलाई कमजोर बनाउने खालका हुने उनको धारणा छ । ‘के देखाउने भन्ने कुराको आधारमा रिसर्च हुने गर्दछ, त्यसले हाम्रो समाजलाई विसङ्गति तर्फ लैजान्छ’, उनले भने।
अहिले एमाले र एमालेको नेतृत्वमाथि चौतर्फी घेराबन्दी भएको जिकिर गरे। त्यो घेराबन्दी एमालेले नराम्रो काम गरेको कारण वा कामको नराम्रो परिणाम आएको कारण नभएको उनले प्रष्ट पारे।
एमालेले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेको कारण विकास विरोधीले घेराबन्दी गरेको उनको धारणा छ । ‘यो मुलुकमा विकासको सपना देख्ने, रणनीतिक ठुला विकास परियोजनाको काम गर्ने पार्टी नेकपा एमाले हो’, उनले भने।
लोकप्रियवादले समाजलाई दुर्घटना तर्फ लैजाने बताउँदै त्यसले देशलाई विकास र समृद्धि दिन नसक्ने उनको धारणा छ । लोकप्रियवाद समस्याको समाधान नभएको उनले स्पष्ट पारे।
एमालेले भन्दा एमाले विरुद्ध कुण्ठा र आक्रोश पोख्ने काम भइरहेको उनले बताए । ‘जसले जे अनुचित सपना देखेका थिए, त्यसको बाधक एमाले बनेको छ, त्यसैले एमाले माथि प्रहार भइरहेको छ’, उनले भने। देशलाई सही बाटोमा ल्याउने सामर्थ्य नेकपा एमालेले मात्रै राख्ने उनले दाबी गरे।

Leave a Reply