दुबई । सयुक्त अरब एमिरेट्स (यूएई)को दुबईमा महावाणिज्य दूतावास (कन्सुलेट) स्थापनाका लागि दुईजना सरकारी अधिकारीलाई यूएई आइपुगेका छन् ।
परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णप्रसाद चापागाईंसहित तृतीय सचिव प्रदिप सागर गिरी यूएई आएका हुन् । सरकारले सक्दो छिट्टो दुबईमा कन्सुलेट स्थापना गरेर यस क्षेत्रमा रहेका नेपालीलाई सेवा प्रदान गर्न चाहन्छ । उनीहरु यसै साता यूएई आएको नेपाली दूतावास आबुधावीले पुष्टि गरेको छ ।
सरकारका स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदिप पौडेलको स्वागतमा नेपाली जनसंपर्क समितिले गएको शनिबार दुबईमा गरेको कार्यक्रममा सम्बोधन गर्दै यूएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले यस विषयलाई सार्वजनिक गरेका हुन ।
‘हाल कर्मचारी आइसक्नुभएको छ,कार्यालय तथा कागजी प्रकृया पुरा गरेर सेवा सुरु गरिने छ’ यूएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले भने ।
विगत लामो समयदेखि यूएईमा रहेका नेपालीले दुबईमा कन्सुलेट स्थापनाका लागि माग गर्दै आएका थिए । सरकारले गएको असोज तेस्रो साता मन्त्रिपरिषद्को निर्णय गर्दै दुबईसहित अमेरिकाको टेक्सस र क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय राख्ने निर्णय गरेको थियो ।
सोही निर्णयको कार्यन्वयन स्वरुप उपसचिवसहित तृतिय सचिव दुबई आइपुगेका हुन् भने एक शाखा अधिकृत तथा अर्का एक तृतीय सचिव समेत आउने क्रममा छन् ।
दुबई भारतको दिल्लीपछि एउटै शहरमा धेरै नेपालीको जनघनत्व भएको शहर हो । दुबईमा कन्सुलेट स्थापना गरेपछि आबुधावी भन्दा टाढा सारजाह, अजमान, उम्मलक्विन,रसअल खेमा , फुजेरा लगायतका राज्यमा कार्यरत नेपालीलाई सहज हुने आकलन गरिएको छ । सरकारले कन्सुलर सेवा सुदृढीकरणको पहलस्वरूप दुईजना अधिकारी खटाएको हो ।
यो कदमसँगै अब नेपाली नागरिकहरूले राहदानी, कानुनी परामर्श लगायतका विविध सेवाहरू दुबईमै सहज रूपमा पाउनेछन्। यो पहलले लामो समयदेखि टाढा टाढा बाट आबुधावीस्थित नेपाली दुतावास धाउनुपर्ने समस्या समाधानमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
यूएईमा रहेका नेपालीहरूको हकहित सुनिश्चित गर्न सरकारको यो कदम स्वागतयोग्य भएको सरोकारवालाको भनाइ छ ।

Leave a Reply