पूर्वआईजी दुर्लभकुमार थापाको निधन

काठमाडौं । नेपाल प्रहरीका १० औं आईजी दुर्लभकुमार थापाको ९७ वर्षको उमेरमा निधन भएको छ । २०३५ साउन देखि २०३९ जेठसम्म उनले आईजीको जिम्मेवारी सम्हालेका थिए ।

हाल नक्सालमा रहेको नेपाल प्रहरी प्रधान कार्यालयको कम्पाउण्ड घेर्ने र त्यहाँ कार्यालय एवं निवासको संरचना तयार पार्ने काम उनको कार्यकलमा शुरु भएको हो । विभिन्न जिल्ला र इलाका प्रहरीका मन्दिर शैलीको कार्यालय भवन पनि उनकै कार्यकालमा निर्माण भएका थिए ।

प्रहरीलाई कमाण्डो तालिम दिने, उच्चस्तरीय सुरक्षा प्रबन्धका निम्ति पहरा गण स्थापना गर्ने र पर्यटन प्रहरी स्थापना गर्ने काम पनि उनकै कार्यकालमा भएका हुन् ।

थापा नेपाल प्रहरीको इतिहासमा एक कुशल व्यवस्थापक र योग्य कमाण्डरका रुपमा सदा स्मरणीय पात्र रहेको पूर्वआईजी ओमविक्रम राणा बताउँछन् ।

उनको आजै पशुपति आर्यघाटमा प्रहरी सम्मानका साथ अन्त्येष्टि हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *