मार्क्सवादी दृष्टिकोण: विश्व अर्थतन्त्रलाई कसरी अस्तव्यस्त पार्दैछन् ट्रम्प ?

अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनले विश्व अर्थतन्त्रमा एउटा ठूलो भूकम्पको नै सिर्जना गरेको छ भन्दा फरक नपर्ला । उनको राजनीतिक उदयले अमेरिकी समाजलाई मात्र प्रभावित गरेको छैन, बरु समग्र पुँजीवादी विश्वव्यवस्थामा नै गम्भीर प्रश्नहरू उठाएको छ । विशेष गरी, उनको “अमेरिका फर्स्ट“ नीति, चीनसँगको व्यापार युद्ध, कर कटौती र निजीकरणलाई बढवा दिने नीतिहरूले विश्व बजारमा अनिश्चितता बढाएका छन् । यसले अमेरिकी शेयर बजारमा मात्र होइन, युरोप, एसिया र ल्याटिन अमेरिकाका बजारहरूमा पनि उथलपुथल सिर्जना गरेको छ ।

यस संकटको विश्लेषण गर्दा, १९औँ शताब्दीका महान् दार्शनिक कार्ल मार्क्सले पुँजीवादको विनाशको जुन भविष्यवाणी गरेका थिए, त्यो आज आएर अझ बढी प्रासंगिक देखिन पुगेको छ । मार्क्सले भनेका थिए “पुँजीवादले आफ्नो चिहान आफैँ खन्नेछ ।’

आजको आर्थिक असमानता, श्रमिक शोषण, पुँजीको केन्द्रीकरण र बढ्दो विश्व आर्थिक संकटले उनको यो भविष्यवाणीलाई सत्य साबित गरिरहेको छ । यस लेखमा आजको विश्व अर्थतन्त्रमा देखिएको संकटलाई मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण र पुँजीवादको भविष्यका बारेमा चर्चा गरिनेछ ।

ट्रम्पको नीतिहरूले ल्याएको आर्थिक उथलपुथल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै विवादास्पद आर्थिक नीतिहरू लागू गर्दै आएका छन् । उनको नीतिहरूले अमेरिकी अर्थतन्त्रमा केही सकारात्मक प्रभाव पारे पनि, दीर्घकालमा यसले विश्व अर्थतन्त्रमा गम्भीर अस्थिरता बढाएको छ ।

ट्रम्पले चीनसँग ट्यारिफ लगाएर विश्वव्यापी आपूर्ति शृङ्खलामा ठूलो व्यवधान सिर्जना गरे । उनले चीनमा बनेका उत्पादनहरूमा १२५% सम्म ट्यारिफ लगाएका छन् । उनले राजश्व बृद्धी र घरेलु उत्पादनको प्रयोग बढाउनका लागि यसो गरेको बताए पनि अमेरिकी उपभोक्ताहरूले दैनिक उपभोग्य लगायतका सामानहरू महँगोमा खरिद गर्न बाध्य भएको देख्न सकिन्छ । यसले न केवल अमेरिका र चीनबीच तनाव बढायो, समग्र विश्व उत्पादन प्रणालीलाई नै प्रभावित गर्‍यो । फलस्वरूप ट्रम्पको विरोधमा अमेरिकामै ठुला ठुला प्रदर्शनहरू भइरहेको देख्न सकिन्छ ।

मार्क्सले भनेका थिए “पुँजीवादमा राष्ट्रहरू बीच प्रतिस्पर्धा हुनेछ र यसले अन्ततः संकट निम्त्याउनेछ ।’ आजको व्यापार युद्धले पनि त्यही संकटलाई बढवा दिएको देखिन्छ । चीनले पनि अमेरिकी कृषि उत्पादन तथा अन्य सामग्रीहरूमा प्रतिशोधात्मक ट्यारिफ लगाएकोले अमेरिकी किसानहरूले ठूलो आर्थिक नोक्सानी बेहोरेका छन् । यसरी, व्यापार युद्धले दुवै देशको अर्थतन्त्रलाई कमजोर पार्दै गइरहेको छ । जसको नकारात्मक प्रभाव नेपाल लगायत विश्वका सबै मुलुकमा पर्ने निश्चित नै छ ।

ट्रम्पले २०१७ मा “ट्याक्स कट एन्ड जब्स एक्ट’ पारित गरेर धनी व्यक्तिहरू र कर्पोरेट कम्पनीहरूलाई करमा ठूलो छूट दिए । यसले अमेरिकी सरकारको राजस्व घटाएर राष्ट्रिय ऋण बढाएको छ । यसरी, धनीहरूको सम्पत्ति बढे पनि सामान्य नागरिकहरूको आर्थिक अवस्था सुध्रिएन । अहिले पनि तिनै सिमिति पुँजीपतिलाई प्रत्यक्ष लाभ हुनेगरी कर छुट दिने र निजी व्यवसायीलाई प्रोत्साहन गर्ने डोनाल्ड ट्रम्पको संकेतले विश्व बजारमा पूँजीपति वर्ग र श्रमिक वर्गबिचको सम्बन्धलाई थप जटिलता तर्फ धकल्ने र विकराल द्वन्द्व निम्तन सक्ने सम्भावनामा बल पुगिरहेको छ ।

मार्क्सले “पुँजीवादमा धनीहरू धनी बन्दै जान्छन्, र गरिबहरू थप गरिब हुनेछन्’ भनेका थिए । आजको कर नीतिले यसलाई नै बढवा दिएको छ । अक्सफामको तथ्यांकअनुसार, कोभिड १९ महामारीकालमा विश्वका १० धनाढ्य व्यक्तिहरूको सम्पत्ति दोब्बर भएको छ, जबकि ९९% जनताको आय घटेको छ । यसलाई पुँजीवादको सबैभन्दा ठूलो विफलता हो भन्न सकिन्छ ।

ट्रम्प प्रशासनले स्वयम् अमेरिकी श्रमिकहरूको नै सुरक्षा र अधिकारलाई कमजोर पार्ने नीतिहरू ल्याइरहेका छन् । उनले ‘नेसनल लेबर रिलेसन्स बोर्ड’ (एनएलआरबि) लाई कमजोर पारे, जसले गर्दा यूनियनहरूको शक्ति घट्यो । यसले मजदुर वर्गको असन्तुष्टीलाई ह्वात्तै बढाएको छ, जसलाई मार्क्सले भविष्यवाणी गरेको ‘वर्ग संघर्ष’ को नयाँ रुप मान्न सकिन्छ ।

आज, अमेरिकामा ‘ग्रेट रिजिग्नेसन’ (धेरै मानिसहरूले आफ्नो काम छाड्ने प्रवृत्ति) चलिरहेको छ । श्रमिकहरूले कम मजदुरी, लामो समय काम गर्न बाध्यता र कामको असुरक्षित अवस्थाको विरोध गर्दै आफ्नो पदबाट राजीनामा दिँदै छन् । यसलाई मार्क्सको ‘श्रमिक चेतना’ को उदाहरणको रूपमा लिन सकिन्छ ।

नेपाली अर्थतन्त्रमा ट्रम्पको नीतिको प्रभाव

डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ लगायतका नीतिहरूले विश्व अर्थतन्त्रमा गहिरो असर पारेको छ, जसले नेपालजस्ता विकासशील देशहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्छ । ट्रम्पले चीनसँग गरिरहेको व्यापार युद्धले विश्वव्यापी आपूर्ति शृङ्खला बिगार्‍यो, जसले नेपालको निर्यातमा असर गर्न सक्छ । विशेष गरी हस्त शिल्प, कपडा र कृषि उत्पादनहरूमा असर पर्ने निश्चित छ । यसले गर्दा नेपाली बजारमा चिनियाँ सामानको दाम घट्न सक्छ, जसले साना उद्योगहरूको प्रतिस्पर्धालाई नष्ट गर्ने खतरा छ ।

अमेरिकी कर नीतिले बहुराष्ट्रिय कम्पनीहरूको मुनाफा बढाउँदा नेपालमा पनि पुँजीको केन्द्रीकरण बढेको छ, जसले आर्थिक असमानता झन् बढाउँछ । ट्रम्पको आप्रवासी विरोधी नीतिले नेपाली प्रवासी मजदुरहरूलाई असर गर्छ, जसले गर्दा रेमिटेन्स आय घट्न सक्छ, जुन नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार हो । यदि विश्व अर्थतन्त्रले मन्दी झेल्यो भने, नेपालले आयातित पेट्रोलियम पदार्थ र अन्य आवश्यक सामानहरूको मूल्यवृद्धि झेल्नुपर्छ, जसले मुद्रास्फीति बढाउँछ ।

यसबाट बच्न नेपालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ । स्थानीय उत्पादन बढाउने, श्रमिक अधिकार सुरक्षित गर्ने, र व्यापार विविधीकरण गर्ने । मार्क्सले भनेजस्तै, पुँजीवादी संकटले शोषण बढाउँछ, त्यसैले नेपालले यसलाई सामाजिक न्यायको आर्थिक मोडेल अपनाएर बचाउन सक्छ । जसप्रति नेपाली नीति निर्माणकर्ता, राजनीतिज्ञ र अर्थशास्त्रीहरू बेलामै गम्भीर हुन जरुरी छ ।

मार्क्सको भविष्यवाणी र आजको यथार्थ

कार्ल मार्क्सले आफ्नो विश्व विख्यात कृती ‘दास क्यापिटल’ (१८६७) मा पुँजीवादको आन्तरिक विरोधाभासहरू उजागर गरेका थिए । उनले त्यतिबेला नै भनेका थिए कि पुँजीवादले आफ्नै विनाशको बीउ रोप्छ । आजको विश्व अर्थतन्त्रमा भइरहेको अस्वाभाविक हर्कतले यसलाई प्रमाणित गरिरहेको छ भन्दा खास फरक पर्दैन ।

मार्क्सको तत्कालीन विचारलाई समर्थन गर्दै, आधुनिक युगका प्रख्यात फ्रेन्च अर्थशास्त्री थोमस पिकेटीले आफ्नो पुस्तक ‘क्यापिटल इन द ट्वेन्टी–फर्स्ट सेन्चुरी’ मा लेखेका छन् कि ‘पूँजीवाद आफ्नै विरोधाभासले धराशायी हुँदै गरेको छ ।’ उनको विश्लेषणले मार्क्सको सिद्धान्तलाई नयाँ सन्दर्भमा समेत पुष्टि गरेको छ । अझ भनौँ १५८ वर्ष पहिले पुँजीवादका सन्दर्भमा कार्ल मार्क्सले गरेको भविष्यवाणी सत्य साबित हुँदै गएको मान्ने आधारहरू प्रशस्त भइरहेका छन् ।

मार्क्सले पुँजीको केन्द्रीकरण र एकाधिकार पुँजीवादका सन्दर्भमा भनेका थिए ‘पुँजीवादमा पुँजी साना समूहहरूमा केन्द्रित हुनेछ ।’ आज, अमेजन, गुगल, एपल, माइक्रोसफ्ट जस्ता टेक कम्पनीहरूले विश्वको अधिकांश पुँजी नियन्त्रण गरिरहेका छन् । यी कम्पनीहरूले आफ्नो एकाधिकार बनाएर साना व्यवसायहरू नष्ट गरिरहेका छन् ।

उदाहरणका लागि, अमेजन, अलिबाबा, दराज जस्ता अनलाइन सपिङ व्यवसायले साना खुद्रा व्यापारीहरूको बजार समातेको छ । यसले गर्दा धेरै साना खुद्रा व्यापारहरू बन्द भएका छन् । यो ‘एकाधिकार पुँजीवाद’ हो, जसले गर्दा समाजमा आर्थिक असमानता बढ्छ ।

आजको आधुनिक युगमा पनि मजदुरहरू शोषित छन् र उनीहरूमा असन्तुष्टि बढिरहेको छ । ‘गिग इकोनोमी’ (पठाओ, इनड्राइभ, उबर, डेलिभरी, फ्रिलान्सिङ जस्ता अस्थायी रूपमा काम गर्ने प्रवृत्ति) ले श्रमिकहरूलाई सामाजिक सुरक्षा, पेन्सन, र स्वास्थ्य बीमाको सुनिश्चितताबिना नै काम गर्न बाध्य बनाएको छ ।

मार्क्सले भनेका थिए, ‘जब श्रमिकहरू आफ्नो शोषण बुझ्छन्, उनीहरू विद्रोह गर्छन् ।’ आज, अमेरिकामा स्टारबक्स, एमाजन र वालमार्टका कर्मचारीहरूले यूनियन बनाएर आफ्नो अधिकारका लागि आवाज उठाइरहेका छन् र अन्य धेरै मुलुकमा पनि यस्तै किसिमका विरोधहरू बढिरहेको देख्न सकिन्छ । । यो ‘वर्ग संघर्ष’ को नयाँ रूप हो ।

अहिलेको परिस्थितिलाई मध्यनजर गर्दा विश्व आर्थिक संकटको चक्रमा नौलो तरिकाले फस्दै गएको मान्न सकिन्छ । मार्क्सले भनेका थिए ‘पुँजीवादमा आर्थिक मन्दीहरू नियमित आउनेछन् ।’ २००८ को मन्दी, कोभिड १९ को आर्थिक प्रभाव, र अहिलेको मुद्रास्फीतिले यसलाई पुष्टि गरेको छ ।

२००८ को मन्दी पुँजीवादको लालचले सिर्जना गरेको थियो भन्दा फरक पर्दैन । बैंकहरूले जोखिमयुक्त ऋण दिएर आर्थिक बुलबुला फ्याके, जसले गर्दा विश्व अर्थतन्त्र धराशायी भयो । यसरी, पुँजीवाद आफ्नै अन्तर्विरोधले संकटमा परिरहेको देख्न सकिन्छ ।

के पुँजीवादको अन्त्य नजिक छ ?

मार्क्सले भविष्यवाणी गरेका थिए कि पुँजीवाद आफ्नै विरोधाभासले ध्वस्त हुनेछ । आजको संकटले यसलाई सत्य साबित गर्दैछ ?

हाल पुँजीवादको विकल्पमा वैकल्पिक अर्थतन्त्रको उदयलाई जोड दिएको देख्न सकिन्छ । साम्यवाद भन्दा पनि ‘मिश्रित अर्थतन्त्र’ (सरकारी नियन्त्रण र निजी क्षेत्रको सहभागिता) लोकप्रिय बन्दै गइरहेको छ । उदाहरणका लागि, नर्वे, स्वीडेन जस्ता देशहरूले उच्च कर लगाएर समाज कल्याणमा लगानी गर्छन् । यो मार्क्सको विचारको प्रभाव हो भन्दा फरक पर्दैन तर यसलाई उनीहरूले मार्क्सकै प्रभावको रूपमा पूर्ण रूपले मानेका छैनन् ।

आजको अवस्थालाई मध्यनजर गर्दा श्रमिक जागरणमा एउटा नयाँपन देखिएको छ । आज मजदुरहरू प्रविधि तथा सामाजिक सञ्जालहरूको प्रयोग गरेर विश्वव्यापी रूपमा संगठित भइरहेका छन्। पछिल्लो समयमा अमेरिकामा ‘यूनियनाइजेशन’ अस्वाभाविक रूपमा बढ्दै गइरहेको छ । यसलाई मार्क्सको ‘वर्ग चेतना’ नौलो रूप हो भन्न सकिन्छ ।

प्रविधिले ल्याएको अस्वाभाविक परिवर्तन श्रम बजारको आजको सबैभन्दा ठुलो चुनौती हो भन्दा फरक पर्दैन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र स्वचालनले पुँजीवादलाई चुनौती दिएको छ । मार्क्सले भनेका थिए ‘प्रविधिले श्रमिकहरूलाई विस्थापित गर्नेछ ।’ आज, एआईले धेरै पेशालाई नै लोप गराउँदैछ । यसले बेरोजगारी बढाउँछ, जसले गर्दा श्रमिकहरूमा असन्तुष्टिको मात्रा बढ्दै जान्छ ।

डोनाल्ड ट्रम्पको नीतिहरूले विश्व अर्थतन्त्रमा जुन संकट सिर्जना गरेको छ, त्यो केवल अल्पकालीन होइन, बरु पुँजीवादको दीर्घकालीन संकटको प्रतिबिम्ब हो । मार्क्सले भनेका थिए कि ‘पुँजीवाद आफ्नै अन्तर्विरोधले ध्वस्त हुनेछ ।’ आजको असमानता, श्रमिकहरूको असन्तुष्टि र आर्थिक अस्थिरताले यसलाई पुष्टि गरिरहेको छ।

यदि पुँजीवादले आफ्नो संकट समाधान गर्न सकेन भने, यसको अन्त्य निश्चित छ । तर, के पुँजीवादको अन्त्यसँगै अहिले नै साम्यवादको परिकल्पना गर्न सकिएला ? वा केही नयाँ आर्थिक मोडेल आउँछ ? भविष्यले यसको उत्तर दिने नै छ । तर अहिलेको अवस्थालाई सूक्ष्म रूपमा हेर्दा एउटा कुरा स्पष्ट छ; मार्क्सको विश्लेषण आज पनि सान्दर्भिक छ र पुँजीवादको संकट गहिरिँदै गइरहेको छ । जसले गर्दा १५८ वर्ष पहिले पुँजीवादका सन्दर्भमा कार्ल मार्क्सले गरेको भविष्यवाणी सत्य साबित हुँदै गएको मान्ने आधारहरू प्रशस्त छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *