रुपन्देही । बुटवलमा दुई दिनअघि प्रेमविवाह गर्न नमानेको आरोपमा भारतीय युवकले गोली हानेर गम्भीर घाइते भएकी टीका विष्ट क्षेत्रीको तीन दिनपछि मात्रै शल्यक्रिया गरेर गोली निकालिने भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया विष्टले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा संचालन गरेको होटलमै शनिबार बिहान भारतीय युवक सारे आलम अन्सारीले गोली हानेको घाइतेका मामा शंकर कुँवरले बताए ।
गोली लागेपछि बुटवल र भैरहवाको अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि चितवनस्थित मेडिकल कलेजमा पुराइएको कुँवरले बताए । ‘भारतीय युवकको नाम र फोटासहित प्रहरीमा जानकारी दिएका छौं, सारेआलम अन्सारी हामीले पाएको सूचनामा भारतीय युवक हुन्, उनले यसअघि पनि विहे नगरे मारिदिने धम्की दिएका थिए’, उनले भने ।
‘गोलीले पेटमा लागेको घाउको उपचार भइरहेको छ, गोलीले कलेजो र फोक्सोमा असर पारेको छ, गोली निकालिएको छैन, बाहिरको घाउ निको भएपछि मात्रै दुई दिनपछि सल्यक्रिया गरेर गोली निकाल्न सकिन्छ कि भनेका छन् डक्टरहरुले’, उनले भने ।
अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार क्षेत्रीको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ। उनका अनुसार चार पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्रा निकाल्ने, शल्यक्रिया गर्ने वा नगर्ने निक्र्यौल हुनेछ र बिरामीको अवस्था स्थिर रहेको छ ।

Leave a Reply