रुपन्देही । कुकुरलाई रुखमा झुण्डाइएको भिडिओ बनाएर सामाजिक सन्जालमा राख्ने रोल्पाका दुई जना युवा पक्राउ परेका छन् । रोल्पाको लुंग्रि गाउँपालिका ७ हार्जङ क्वाछिवाङका २० वर्षीय सुन्दर परियार र १८ वर्षीय डम्बर पुन पक्राउ परेका हुन् ।
उनीहरुले हार्जङमा कुकुरलाई रुखमा झुण्डाएर भिडिओ बनाएर सामाजिक सन्जालमा राखेको आरोपमा पक्राउ गरिएको रोल्पा प्रहरीका सूचना अधिकारी रोहित कुमार शाहीले जनाएका छन् । उनले दुवै जनालाई पशुपंक्षी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जनाएका छन् ।
कानूनअनुसार यो कसुरमा ३ महिना जेल सजाय वा जरिवाना वा दुबै हुन सक्ने उल्लेख छ । पशु क्रूरता निवारण ऐन, २०७३ अनुसार पशुलाई क्रूर व्यवहार गर्ने, यातना दिने वा अनावश्यक पीडा दिने कार्यमा संलग्न व्यक्तिलाई ३ महिनासम्म कैद वा रू ५,०००र सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
यदि हत्यामा संलग्न व्यक्ति नाबालक हो भने उसलाई ३ महिना जेल सजायको बदलामा सुधार गृहमा राखिन्छ । बालिगलाई जेल सजाय नै हुन्छ । जरिवानाको हकमा नाबालक हो भने अभिभावकले जरिवानाको रकम तिर्नुपर्छ ।
कपिलवस्तुमा टिकटकमा सक्कली पेस्तोल देखाएर भिडिओ राख्ने युवक पक्राउ
यता कपिलवस्तुमा टिकटकमा सक्कली पेस्तोल देखाएर भिडियो पोस्ट गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख ६ गते रघुबिन्द यादव नामक टिकटक एकाउन्टबाट पेस्तोलसहितको भिडियो भाइरल भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।
इलाका प्रहरी कार्यालय पकडीको टोलीले शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिए। यादवलाई मायादेवी गाउँपालिका–१ पकडीस्थित मायादेवी होटेलबाट नियन्त्रणमा लिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply