रुपन्देही ३ मा उपचुनाव निकट- कांग्रेसबाट खाणदेखि ७९ मा चुनाव हारेका ४ नेताले खोजे टिकट

रुपन्देही । राप्रपा सांसद दीपक बोहराको निधनपछि रुपन्देही- ३ अहिले खाली छ । यहाँ उपचुनावका लागि नेताहरू दौडधुपमा छन् ।

नेपाली कांग्रेसबाट ०७९ मा रुपन्देहीका विभिन्न क्षेत्रबाट पराजित ४ उम्मेद्वार उपचुनावबाट संसद छिर्ने रणनीतिसाथ दौडधुपमा छन् । बोहराबाटै पराजित बालकृष्ण खाण, रुपन्देही-४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग पराजित प्रमोद यादव, ५ मा एमालेका वासुदेव घिमिरेसँग पराजित भरत शाह र प्रदेश सभामा रुपन्देही ३ को १ मा एमालेका तुलसीप्रसाद चौधरीसँग पराजित रामचन्द्र ढकाल टिकट लबिङको गृहकार्यमा जुटिसकेका छन् ।

खाण र शाह देउवा समूहमा थिए भने यादव र ढकाल इतर समूहका हुन् । अहिले खाणले इतरतिरै लागेको चर्चा छ । यो क्षेत्रमा खाण आफैँ उम्मेदवार बन्ने चाहनामा कार्यकर्तामाझ भेटघाट गरिरहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाणको मुद्दा किनारा लागिसकेको छैन । कांग्रेसकै एक नेता मुद्दाको छिनोफानो नलागेकाले उनलाई अघि सारे पार्टी अझै कमजोर हुने जिकिर गर्छन् ।

‘उहाँ पार्टीको बलियो आधार भएको नेता हुनुहुन्थ्यो तर भित्रकै समूह लागेर गएको निर्वाचन हराएका हुन्, अहिले पनि ती मान्छेहरूले पार्टीलाई जिताउँछन् भन्ने लागेको छैन तर खाण दाइ आफ्नो मुद्दा नटुंगिइ उम्मेदार बन्दा राम्रो सन्देश जाँदैन’ ती नेताले भने ।

खाण आफैँले भने सार्वजनिकरूपमा उम्मेदवारी आकांक्षा देखाएका छैनन् । निकटका नेताहरूले दाबेदारको रूपमा देखाइरहँदा अस्वीकार भने गरेका छैनन् ।

शुक्लासँग पराजित प्रमोद यादव पनि दक्षिणी र भैरहवा क्षेत्रको मत तान्न सक्ने तर्कसहित नेताकहाँ गएका छन् । तर खाण आफैँले चाहे र कानूनले पाएसम्म अरुलाई दिने छैनन् र आफूले नपाएपछि त्यसपछिको रोजाइमा यादव नपर्ने विश्लेषण भइरहेको छ ।

त्यस्तो अवस्थामा यसअघि उनकै समूहमा रहेका भरत शाह वा उनकी श्रीमती अनिता ढुंगाना शाहलाई सघाउनसक्ने गरी खाणले रणनीति लिनसक्ने कांग्रेस नेताहरूको आंकलन छ । यसअघि रुपन्देहीको पार्टी अधिवेशनमा बालकृष्णले आफ्नो भाइ रामकृष्णलाई सभापति र उपसभापतिमा अनितालाई सर्वसम्मत गराएर टीम बनाएका थिए ।

अर्का दाबेदार रामचन्द्र ढकाल कांग्रेसका पुराना र अनुभवी नेता हुन् । गत चुनावमा थोरै मतले एमालेका तुलसी चौधरीसँग उनी प्रदेशसभामा पराजित भएका थिए । पुराना नेता सोमनाथ शर्मालाई पनि आकांक्षीका रूपमा हेरिएको ५ ।

पत्रकार तथा विश्लेषक खिमानन्द भट्टराई चुनावको मिति निश्चित नभए पनि हुने नै पक्का भएकाले नेताहरूको तयारी स्वाभाविक भउको बताउँछन् ।

कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले पार्टीले उपचुनावबारे व्यक्तिगत रूपमा छलफल नगरेको र पार्टीसमक्ष निर्वाचनको विषय नै प्रवेश नगरेको बताए ।

‘लोकतान्त्रिक पार्टीमा नेताहरूले उम्मेदवार हुने चाहना राख्नु स्वाभाविक हो, आकांपार्टीमा धेरै सिनियर नेताहरू हुनुहुन्छ । चुनाव भएको अवस्थामा उहाँहरूमध्येबाट कसैले चुनाव लड्नुहुन्छ, तर अहिलेसम्म पार्टीभित्र व्यक्तिको विषयले प्रवेश पाएको छै, अझै पार्टीले त चुनावबारे बोलेकै छैन ’ अर्यालले भने ।

कानून व्यवसायी महेन्द्र पाण्डे विचाराधीन मुद्दाको टुंगो नलाग्दासम्म कोही पनि उम्मेदार बन्न नपाउने र कुनै कानून नहेरी उम्मेदवार बनेर जितेपनि शपथ लिन कानूनी झन्झट हुने तर्क गर्छन् ।

‘निर्वाचन आयोगको कानूनमा अदालतले दोषी नठहराएको व्यक्ति उम्मेदार हुने पाउने छ भन्ने उल्लेख छ तर अर्को बुँदामा उम्मेदार हुन र शपथ लिन अदालतमा विचाराधीन मुद्दाको किनारा लागेको हुनुपर्ने उल्लेख छ’, उनले भने ।

बोहराको निधनपछि यस क्षेत्रमा राप्रपाको प्रभाव कमजोर हुने ठहरसहित एमाले र कांग्रेसले बलियो उम्मेदवार उठाएर विगतको विरासत जोगाउन चाहेका छन् । तर, तिलोत्तमा क्षेत्रमा पछिल्ला समय रास्वपा, माओवादी र राष्ट्रिय जनमुक्तिले बनाउने रणनीति निर्णायक बन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आफूलाई स्थापित गरेर आउँदो चुनावका लागि नयाँ सन्देश दिन चाहेका छ । त्यसैले, ४ दलले यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । यही सेरोफेरोमा दलहरूप्रतिको वितृष्णा र असन्तुष्टिबाट लाभ लिने दाउमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरू पनि धेरै भएकाले उनीहरू भित्रै लडाई हुने ठूला दलहरुको विश्लेषण छ । संसद्को अवधि कम्तीमा ६ महिना रहेसम्म उपचुनाव गर्नुपर्ने व्यवस्था छ । तर कहिले गर्ने यसको निर्णय सरकारको चाहनमा भर पर्नेछ ।

०७९ मा रुपन्देही ३

उत्तरदक्षिण क्षेत्रमा फैलिएको रुपन्देही ३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । शुद्धोधन, सिद्धार्थनगर, सियारी, ओमसतिया, मायादेवी, तिलोत्तमा र बुटवलका ६ वटा वडा रहेका छन् ।

स्थानीय तहको परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले ६ मा प्रमुख र २ मा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ मा उपप्रमुख जितेको छ, भने लोकतान्त्रिक समाजवादी दलले १ पालिकामा उपप्रमुख जितेको छ । यद्यपि स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर लडेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *