देवराजले राजतन्त्रबारेको स्टाटस हटाउन नपर्ने, मनिष झा भन्छन्- उहाँको आशयमा म पनि सहमत छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले राजतन्त्रको सम्वन्धमा प्रस्तुत गरेको वैचारिक अवधारणालाई पार्टीले कुनै दख्खल नदिने भएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएर अलोकतान्त्रिक व्यवहार नदेखाइने स्पष्ट पारे ।

पाठकले केही दिनअघि राजसंस्थाका विषयमा आफ्नो निजी विचार सामाजिक सञ्जाल फेसबुकमा पेश गरेका थिए । त्यसमा उनले गणतन्त्रमा भ्रष्टाचार, बेथिति र अराजकता बढ्दा जनतामो वितृष्णा उत्पन्न भएको र त्यसको फलस्वरुप राजतन्त्रको चर्चा सुरु भएको बताएका छन् । जनताले विवेकपूर्ण तरिकाले सही जनप्रतिनिधि छान्ने सामथ्र्य नराखेको अवस्थामा देशको संरक्षकका रुपमा राजा चाहिने उनको तर्क छ ।

आफ्नो स्टाटसमा पाठकले राजसंस्था ल्याउने हो भने विरेन्द्रको वंशबाटै हुनुपर्ने समेत बताएका छन् ।

‘यही अवस्था हो भने राजतन्त्रको विरासत राजा वीरेन्द्रको वंशभित्र हुनुपर्छ, छोरा होस या छोरी । यो बहसमा फेरि पनि पुरुष प्रधान दृष्टिकोणले न्याय गरेन । राजा वीरेन्द्रको छोरी श्रुतीका दुई सन्तान गिर्वानी र सुरंगना छन् । किन बेलायत झैं राजाको ठाउँमा महारानी नराख्ने ?’, पाठकको प्रश्न छ ।

पाठकको यो स्टाटसबाट राजसंस्थाप्रति झुकाव देखिएको भन्दै रास्वपाभित्रै केही व्यक्तिहरुले प्रश्न उठाएका थिए । तर, पार्टी संस्थापनले भने यसलाई ‘निजी अभिव्यक्ति’ का रुपमा लिएको छ ।

कार्यवाहक महामन्त्री मनिष झाले पाठकको अभिव्यक्तिमा दुईवटा दृष्टिकोण प्रस्तुत भएको र त्यसमा आफू पनि सहमत रहेको बताए । पार्टीले स्टाटस डिलिट गर्न नभनेको र नभन्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘पहिलो त गणतन्त्रमा वेथिति बढेर नै राजतन्त्रको पक्षमा माहोल सिर्जना भएको यथार्थ हो । गणतन्त्रले राम्ररी डेलिभरि दिएको भए राजतन्त्र कसलाई चाहिएको छ र ? उहाँको स्टाटसको एउटा मर्म यो हो । दोस्रो चाहीँ उहाँले लैंगिक समानताको दृष्किोण पनि प्रस्तुत गर्नु भएको छ । राजा ल्याउने भन्नेवित्तिकै पुरुष पात्रहरुको नाममात्रै किन चर्चामा आउँछ । ज्ञानेन्द्रपछि पारस र हृदयन्द्रको कुरा मात्र किन हुन्छ ? हृदयन्द्रका दिदी बहिनी पनि छन् । अझ, राजा वीरेन्द्रकै वंशजका रुपमा श्रुतीका छोरीहरु पनि छन् । राजावादीहरुले पनि छोरा र छोरीमा विभेदपूर्ण दृष्टिकोण नराखुन् भन्ने मनसायले उहाँले लेख्नुभएको हो । त्यसमा आपत्ति मान्नुपर्ने केही छैन ।’

पाठकको स्टाटसबारे समाचारहरु आएपछि झाले आजै उनलाई फोन गरेर छलफल गरेका थिए । छलफलका क्रममा पाठकले पार्टीको आधिकारिक नीतिमा आफ्नो विमति नरहेको र फेसबुकमा राखेको विचार बहसका लागि मात्र भएको प्रष्ट पारे । त्यसपछि झाले उक्त स्टाटसलाई थप प्रष्ट्याउन पाठकलाई आग्रह गरे । सो आग्रह अनुसार आज पाठकले अर्को स्टाटस लेखेका छन् ।

उनी भन्छन्, ‘हामी संवैधानिक समाजवादमा विश्वास राख्दछौँ । संविधान परिवर्तनशील दस्तावेज हो । देश र जनताको सर्वोत्तर हितका लागि संविधानमा समयानुकूल परिमार्जन गर्दै संविधानको अक्षरसः पालना नै संवैधानिक समाजवाद हो । एक जिम्मेवार कार्यकर्ताको हैसियतले पार्टीले लिएको नीति र विधिविरुद्ध फरक कित्तामा उभिने कुरै हुँदैन । उभिएको पनि छैन । विषय के हो भने भ्रष्टाचार र राज्य सत्ताको दुरुपयोगमै लिप्त गणतन्त्रका ठेकेदारहरूले गणतन्त्र पूर्णत असफल बनाए । गणतन्त्रलाई गन्तव्यमा पु¥याउन सकेनन् । राष्ट्रपति एउटा दल विशेषको बन्यो । आम जनताको अभिभावक बन्न सकेन । जसको फलस्वरूप आज सडकमा राजतन्त्रको चर्चा सुरु भयो । अब दल र नेतृत्व छनौट गर्दा जनताले विवेक पुर्याउनुपर्छ भन्ने मेरो आशय हो । उता राजतन्त्रवादीहरूले वंशीय राजा नै खोजेका हुन् भने मुद्दामै न्याय गरेनन् भन्ने मेरो प्रश्न हो ।’

पाठकको स्टाटास र राजावादी आन्दोलनलाई लिएर प्रवक्ता झाले नेपाल प्रेससँग राखेको धारणा यस्तो छः

अहिले राजावादीको जुन किसिमको आन्दोलन भइरहेको छ, त्यो भनेको गणतन्त्रवादीहरुले डेलिभर गर्न नसकेर असफल बनेको उपज हो । गणतन्त्रले डेलिभर गर्न सकेको भए विकल्प किन चाहिएको थियो र जनतालाई ? त्यसैले गणतन्त्रले, यो व्यवस्थाले डेलिभर गरोस भन्ने हिसाबले एउटा तर्क उहाँले गर्नुभएको हो ।

अर्को तर्क चाहीँ, राजावादीले अर्को पुस्ताको चर्चा गर्दैगर्दा जहिले पनि पुरुषको मात्रै किन कुरा गर्छ ? महिलाको पनि किन कुरा गर्दैन ? यदि राजावादीहरु अर्को पुस्ताले यो देशको बागडोर सम्हालोस भन्ने चाहन्छन् भने पारसपछि हृदयन्द्रमात्रै किन भन्छन् ? कहिले पनि छोरीहरुको किन नाम लिँदैनन् ?

महिलाको कुरा गर्ने हो भने त वीरेन्द्रकै वंशका रुपमा नातिनीहरु बाँकी छन् । यो किसिमको कन्भर्सेसन त गर्न पाइयो नि । हामीले किन यो कोणबाट कुरा गर्दैनौं भन्ने उहाँको भावना हो ।

उहाँको स्टाटस पढिसकेपछि म आफूमा कन्भिन्स्ड भएर हटाउनुपर्दैन भनेको छु । आफ्नो दलको राजनीतिक प्रस्तावना, शासकीय स्वरुपमा कटिवद्ध छु भनेर लेख्नुस, अभिव्यक्ति हटाउनु पर्दैन भनेपछि उहाँले त्यो लेखिसक्नुभयो । त्यही नै पर्याप्त छ । यसमा कुनै अरु एक्सन लिनुपर्ने आवश्यकता म देख्दिनँ ।

राजनीतिक दल भन्दैमा हामीले कसैको पनि बौद्धिकतालाई बन्दी बनाउन त मिल्दैन नि । आफूलाई लागेको कुरा बोल्नै नपाउने, लेख्नै नपाउने हुँदैन । विचारको घर्षण हुने यसैगरि त हो । कांग्रेसमा शंकर भण्डारी लगायतले लामो समयदेखि हिन्दू राज्यको वकालत गरिरहेका छन् ।

एमालेमा चर्चित नेताहरुले नै संघीयताको विपक्षमा अभिव्यक्ति दिइरहेका हुन्छन् । हामी कांगे्रेस–एमालेभन्दा पनि अलोकतान्त्रिक त हुन सक्दैनौं नि ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *