जितगढीको गौरव : नेपाली वीरताको अमर गाथा

रुपन्देही । वि.सं. १८७१ पुस २१ गतेदेखि १८७२ वैशाख ७ गतेसम्म नेपाल र अङ्ग्रेज बीच भएको जितगढी युद्धले इतिहासमा नेपाली सेनाको शौर्य र रणकौशलको स्वर्णिम अध्याय रच्यो । आधुनिक हतियार र प्रशिक्षित अङ्ग्रेज सेनालाई घरेलु हतियार र बच्चा बोकेका महिलासहित नेपाली सेनाले पराजित गरेको यो युद्ध नेपालको “वीरताको प्रतीक“ बनेको छ ।

१८७१ देखि १८७२ सम्म नेपाल र अंग्रेजका बीचमा युद्ध भए । कुमाउ–गडवाल, मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । बुटवलमा भने नेपालले जित हासिल गरेको थियो ।

आधुनिक हतियार र तालिमप्राप्त अंग्रेज फौजलाई घरेलु हतियार र बच्चा बोकेमा महिलासहितको नेपाली फौजले पराजित गरेको इतिहास छ । अंग्रेजका तर्फबाट गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा आक्रमण गरिएको थियो भने नेपाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए ।

इतिहासका जानकार विमलबहादुर शाक्यका अनुसार अंग्रेज सरकारको सेनाले अवैध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बतसम्मको व्यापारिक नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरू गरेको थियो । जनरल सुलेमान र जनरल उडको नेतृत्वमा आएको अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापाको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै भारतको गोरखपुरसम्म लखेटेको थियो ।

बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढीमा तीन वटा गणबाट खटिएका नेपाली सेनाका फौजसँगको लडाइँमा ३ सयभन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको थियो । सोही आक्रमणबाट पाल्पाली सेववंशीय राजा मणिमुकुन्द सेनको बुटवलमा रहेको शीतकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र रहेको सुरूङमा लुकेका नेपाली सेनातर्फ ठूलो क्षति भएन । जितगढी किल्लामा उक्त सुरूङमार्ग अहिले पनि छ ।

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको त्यही वीरताको चिनो बुटवलको जितगढी किल्लामा युद्ध लड्दाको झलकसहित नेपाल र अंग्रेज फौजका प्रतिमा निर्माण गरिएका छन् । पाँच सय वर्गफिट इलाकामा फैलिएको ऐतिहासिक गढीकिल्ला १६ औँ शताब्दीतिर निर्माण भएको मानिन्छ ।

२८ वर्ष पहिलेसम्म तिनाउ नदीको पश्चिमतर्फ बेवारिसे अवस्थामा रहेको गढीकिल्लाको संरक्षणका लागि २०५२ सालमा पुरातत्व विभागले उत्खनन्को सुरूआत गरेको थियो । गढीको पर्खालको ट्रायल ट्रिच लिँदा उजिरसिंहको समयभन्दा अघिदेखि नै गढीको अस्तित्व रहेको बताइए पनि यसको पुष्टि भने अहिले पनि हुन सकेको छैन ।

अहिले बुटवल उपमहानगरपालिकाले नेपाली सेनाको सहयोगमा जितगढीको ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रूपमा विकास गरेको छ । जितगढी किल्लाको संरक्षणका लागि प्रदेश र संघ सरकारले पनि चासो दिएका छन् । गुरूयोजनामा जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल ९ वडा नं १० लाई प्राचीन बजार र पुरातात्त्विक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना बुटवल उपमहानगरपालिकाको छ । केही योजना बनिसकेका छन् भने केही प्रक्रियामा छन् ।

युद्धको पृष्ठभूमि: साम्राज्यवादी आक्रमण

अङ्ग्रेजहरूले नेपाललाई आफ्नो उपनिवेश बनाउन र तिब्बतसम्मको व्यापारिक मार्ग कब्जा गर्न गोरखपुरबाट आक्रमण गरेका थिए । गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जनरल डेभिड ओक्टरलोनी, जनरल जिलेस्पी, जनरल मार्ले, र जनरल सुलिभान ऊडले विभिन्न मोर्चाबाट नेपाली भूमि कब्जा गर्ने योजना बनाए । बुटवलको जितगढीमा ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा अङ्ग्रेज सेना घुसे पनि कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले उनीहरूलाई धुलो चटाए ।

रणभूमिमा नेपाली वीरताका झलक

पहिलो आक्रमण (पुस १८७१): अङ्ग्रेज सेना बुटवल आइपुग्दा नेपाली सेनाले गोरखपुरसम्म खेदाएर पछि हट्न बाध्य बनाए । दोस्रो आक्रमण (वैशाख १८७२): ऊडले फेरि आक्रमण गर्दा पाल्पाको शीतकालीन दरबार ध्वस्त भयो, तर किल्लाभित्र लुकेका नेपाली सेनाले सुरुङ्गाबाट आक्रमण गरी ३०० भन्दा बढी अङ्ग्रेज सैनिक मारे । ऐतिहासिक विजय (वैशाख ७): अङ्ग्रेज सेना पराजित भएर भाग्न बाध्य भएपछि यस गढीको नाम “जितगढी“ रहन गयो ।

वीर योद्धाहरू जसले लिए आफ्नो बलिदान

कर्णेल उजिरसिंह थापा (नेतृत्व)

लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, कृपासुर थापा

सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा, सुरवीर बोहरा

हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया

दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर, जुठे बस्नेत

किल्लाभित्र वीर योद्धाको शालिक निर्माण र जितगढी उत्सव:

जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको शालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ ।

जितगढीमा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकहरूको शालिक निर्माण गरिएको छ । प्रत्येक वर्ष वैशाख ७ गते यहाँ “जितगढी उत्सव“ मनाइन्छ । नेपाली सेनाले गोरखाबाट बुटवलसम्म पदयात्रा गरी थापाको ९ फिट उचाइको तामाको मूर्तिमा श्रद्धाञ्जली अर्पण गर्छन् । पाल्पाको रणउजिरेश्वरी भगवती जात्रा पनि यसै विजयको सम्झनामा मनाइन्छ ।

नेपाली टोली यसरी जित्यो अंग्रेजलाई

जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो । जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे ।

आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे ।

बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको इतिहासका जानकार विमलबहादुर शाक्य बताउँछन् ।

जनरल ऊडकै नेतृत्वमा दुई पटक भएको आक्रमणमा बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेज फौजमाथि आक्रमण गरी विजय प्राप्त गरेको थियो । शाक्यका अनुसार आधुनिक हतियारमा आएका अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले पराजित गरेपछि बुटवलगढीको नाम जितगढी रहन गएको थियो । अंग्रेजतर्फ ठूलो क्षति भयो ।

इतिहासका जानकारहरूका अनुसार पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले अग्रेजविरुद्धको युद्धमा वि.सं १८७२ मा विजय हासिल गरी विजय पताका फहराएका थिए । जितगढीको युद्धको झझल्को दिने गरी वृत्तचित्र बनाइएको छ । ‘जितगढीबाट सुरु भएर नुवाकोट डाँडासम्म सुरुङमार्ग छ भन्ने कुरा हामीले धेरै पहिलेदेखि सुन्दै आएका हौँ’, स्थानीय देवेन्द्रराज शाक्यले भने, ‘यसको उत्खनन गरी वास्तविकता बाहिर ल्याएर प्रचार गर्न आवश्यक छ ।’

जितगढी र भगवती जात्राको साइनो

पाल्पाको तानसेनमा भगवती जात्रा हुन्छ । भनिन्छ, बुटवलमा अंग्रेजसँगको युद्ध जितेर गएपछि उजिरसिंहले पाल्पामा विजय उत्सव मनाएका थिए । दुई सय वर्षअघिदेखि अहिलेसम्म पनि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ । जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ । रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा निकाल्न थालेको २ सय वर्ष भएको छ । भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पूजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित तिन पटक मन्दिर घुमाइन्छ ।

रथलाई तीन पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगर परिक्रमा गराइन्छ । रथलाई मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन छ । त्यसपछि व्यवस्थापन समिति, नेपाली सेना, प्रहरी प्रशासनबाट पूजा गर्ने गरिन्छ ।

परिसरमा रहेको ऐतिहासिक गढी

पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्बाई २ सय ५ फिट छ र चौडाइ करिब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ ।

गढीको भित्री भागबाट पर्खालको उचाइ ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ । करिब बाह्र लाखदेखि पन्ध्र लाख इँटा प्रयोग भएका र इँटाहरूका कोही १० इन्च वर्गाकारका तथा केही इँटाहरूको लम्बाई चौडाइ क्रमशः ८।६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरूको निर्माण गरिएको छ ।

नेपाली सेनाको तेस्रो पदयात्रा

तीन वर्षदेखि नेपाली सेनाले गोरखादेखि जितगढीसम्मको पदयात्रा सञ्चालन गर्न थालेको छ । पुरानो बाटोबाट गोरखाबाट हिँडेको सेनाको पैदलयात्री ७ गते बुटवल आउने गर्दछन् । जितगढी गतवर्ष नै नेपाली सेनाले पुनर्संरचना गरेर बुटवल उपमहानगरपालिकालाई बुझाएको छ ।

जितगढीः ऐतिहासिक संरचना र संरक्षण

१६ औँ शताब्दीमा सेन राजाहरूले निर्माण गरेको यो गढी ५५ फिट अग्लो टावर, ८ फिट मोटो पर्खाल, र १५ लाख इँटाले बनेको छ ।

२०५२ सालमा पुरातत्त्व विभागले उत्खनन गरेपछि रणउजिरेश्वरी भगवती मन्दिर, सुरुङ्ग मार्ग, र युद्धका अवशेष पाइए । हाल बुटवल उपमहानगरपालिकाले युद्ध संग्रहालय, पुरातात्त्विक पार्क, र पर्यटकीय स्थल विकास गरिरहेको छ ।

चुनौती: ऐतिहासिक धरोहर संरक्षण

जितगढीको सुरुङ्गा मार्ग र प्राचीन वस्तुहरू अहिलेसम्म पूर्ण उत्खनन भएको छैन । पर्यटकीय प्रचार नभएकोले अन्तर्राष्ट्रिय स्तरमा चिनिने मौका गुमाइएको छ । स्थानीय सरकारले नेपाल–अङ्ग्रेज युद्धको वृत्तचित्र बनाएर विश्वमै नेपाली वीरताको इतिहास पुराएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *