दाङका नेता भन्छन्- गणतन्त्र विरोधी गतिविधिको डटेर प्रतिवाद गर्छौं

दाङ । गणतन्त्रका विरुद्धमा राजावादीहरुको चलखेल सुरु भइरहँदा गणतन्त्रको सुदृढीकरणका लागि डटेर प्रतिवाद गर्ने यहाँका राजनीतिक दल र अधिकारकर्मीले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

प्रेस चौतारी नेपाल दाङले आज गरेको ‘गणतन्त्र सुदृढीकरणका सवालहरू’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले एउटै मञ्चबाट भने, ‘गणतन्त्र नेपाली जनताको संघर्ष र बलिदानको प्रतिफल हो । कसैले आवाज उठाएकै भरमा गणतन्त्र कमजोर बन्न सक्दैन । प्राप्त उपलब्धी गुम्न दिँदैनौं ।’

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका महासमिति सदस्य अनिता देवकोटाले कानुन निर्माणमा ढिलाइ भएकै कारण निरासा उत्पन्न भएको बताइन् । गणतन्त्रको विकल्पमा गणतन्त्र नै भएको बताउँदै उनले राजतन्त्रको माग बेमौसमी बाजा भएको टिप्पणी गरिन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य जीवन गौतमले गणतन्त्रले आम जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको दाबी गरे । जनजीविकाको क्षेत्रमा उल्लेख्य कार्य भएको भन्दै उनले केही भएन भन्ने भ्रम फैलाउन देशीविदेशी शक्तिहरुको चलखेल बढेकाले यसलाई निस्तेज पार्न सबै लाग्नुपर्ने बताए ।

‘गणतन्त्रले जनजीविकाको सवालमा ऐतिहासिक सफलता हासिल गरेको छ । केही भएन भनेर भ्रम फैलाउने शक्तिहरुकै कारण चौतर्फि निरासा उत्पन्न भइरहेका छन् ।’

गौतमले भने, ‘जनताको बीचमा भ्रम फैलाउने प्रयत्न भइरहेका छन्, समयमै यसलाई रोक्नुपर्दछ । राजनीतिक शक्तिहरु एकताबद्ध भएर लाग्नुपर्दछ ।’ उनले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरेर संबिधान कार्यान्वयन गर्नेबेला व्यवस्था विरोधी गतिविधि स्वीकार्य नहुने भन्दै राजावादीलाई टाउको उठाउन नदिने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले लोकतान्त्रिक गणतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताए ।

वक्ताहरूले वर्तमानमा राजावादी शक्तिहरू सक्रिय बन्दै गएको र गणतन्त्रविरोधी गतिविधिहरू बढ्दै गएकाले परिवर्तनकारी शक्तिहरू एकजुट भएर प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपालको गणतन्त्र स्थापनाको ऐतिहासिक पृष्ठभूमि, यसको मूल्य र सान्दर्भिकता, गणतन्त्रमाथि भइरहेका प्रहार, तथा वर्तमान अवस्था र आगामी चुनौतीहरूबारे पनि गहिरो छलफल गरिएको थियो ।

प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको प्यानल डिस्कसन कार्यक्रमको सहजीकरण केन्द्रीय सचिवालय सदस्य लुम्बिनी इञ्चार्ज टीकाबहादुर बस्नेतले गरेका थिए ।

 

Comments

One response to “दाङका नेता भन्छन्- गणतन्त्र विरोधी गतिविधिको डटेर प्रतिवाद गर्छौं”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    तेरो गॅाडतन्त्र र लुटतन्त्र चाहीदैन, गणतन्त्र भॅजाएर खान पाएका छौ तिमी पार्टीका झोलेहरूले। सघियताको नाममा कार्यकर्ताले लुट मच्चाउन पाएका छौ, बैठकै पिच्छे भत्ता पचाउन पाएका छौ गॅाउपालिका देखी राष्ट्रिय तह सम्म। त्यही भाग खोसिएला भनेर पिर छ तिमीहरूलाइ। यो कार्यक्रम गर्न पनि सरकारी खर्च दुरूपयोग गरेको हो कि, एनजिओ बाट हण्डी खाएर गरेका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *