पेन्टिङमै भविष्य खोजेकी कपिलवस्तुकी संचिताः भारतमा अध्ययनसँगै यसरी बनिन् अब्बल

रुपन्देही । सानैदेखि पेन्टिङमा रमाउने कपिलवस्तुकी संचिता अग्रहरि मनभित्रैबाट सोचेको विषय पढ्न पाएर उत्कृष्ट विद्यार्थी बन्न पाएकोमा निकै खुसी छन् । कपिलवस्तु नगरपालिका वडा नं. २ जमुवारटोलमा जन्मिएकी उनी अहिले भारतको दिल्लीस्थित कोलाज आँफ आर्टमा फाइन आर्ट विषयमा स्नातक तहमा अध्ययनरत छन् ।

तर, उनले बनाएको पेन्टिङ्ग अहिले भारतको राष्ट्रपति भवनमा गरिएको प्रदर्शनीमा उत्कृष्ट सूचीमा परेपछि उनलाई धेरै हौसला मिलेको छ । संचिताको मेहनत भारतका उत्कृष्ट १५ पेन्टिङमा छनौट भएपछि भारतीय राष्ट्रपति कार्यालयमा कला प्रदर्शनीमा राखिएपछि सन्चिता, उनको परिवार निकै खुसी बनेका छन् ।

गतवर्ष भारतको नेशनल ग्यालरी अफ मोर्डन आर्टको आयोजनामा “विजन द्दण्द्धठः विकसित भारत” शिर्षकमा दिल्लीस्थित पुरानो किलामा आर्ट क्याम्प आयोजना गरिएको थियो । क्याम्पमा संचितासहित २ हजारभन्दा बढी चित्रकार कलाकारले दिइएको शिर्षकमा केनभास पेन्टिङ बनाएका थिए ।

संचिताले ४ घण्टाको अवधिमा आर्ट क्याम्पमा क्यानभास पेन्टिङ्ग तयार पारेकी थिइन् । तयार पारिएको पेन्टिङ्ग नेशनल ग्यालरी अफ मोर्डन आर्टमा दर्ता गराइएपछि २ हजारभन्दा बढी सहभागीमध्ये १५ जना महिला चित्रकारको पेन्टिङ्ग उत्कृष्टमा छनौट भएका थिए । छनौटमा परेका पेन्टिङ्गहरुलाई भारतको राष्ट्रपति भवन परिसरमा कला प्रदर्शनीको आयोजना गरी प्रदर्शन गरिएको थियो ।

२५ वर्षीया संचितालाई पेन्टिङ्गमा सानैदेखि रुची थियो । बुवा लवकुश, आमा मिथिलेश नन्दनी र ठूलो दाइ डाक्टर आनन्दकुमार अग्रहरिले उनको चाहनालाई बुझेर सधै उत्प्रेरणा दिँदै आएका थिए । बुवाआमाको ७ छोराछोरी रहेका अग्रहरि परिवारमा सबैले आफ्नो कलालाई सधै सम्मान गरेको उनको बुझाई छ ।

माध्यमिक तहको शिक्षा तौलिहवाको बुद्धपद्य मावि, १२ कक्षासम्मको शिक्षा सिद्धार्थ बिद्या मन्दिर तौलिहवा र बीबीएसको शिक्षा भैरहवाको भैरहवा बहुमुखी क्याम्पसबाट पूरा गरेकी संचितालाई सानैदेखिको रुची विषय पढ्न पाएकोमा निकै गौरव छ । “सानैबाट रुची थियो मलाई पेन्टिङ्ग सिक्न र बनाउन ।

विद्यालयस्तरमा आयोजना हुने चित्रकलामा सहभागी भएर पुरस्कार जित्ने गरेकी थिएँ,मैले स्कुल छाडेपछि पनि सरहरुले त्यहाँबाट मलाई सहभागी गराउनुहुन्थ्यो, अहिलेसम्मको नतिजाले निकै खुसी छ, सबैको साथ पाएकी छु, सिक्न धेरै बाँकी छ’ संचिताले नेपाल प्रेससँग भनिन् ‘धेर्रैले त्यहाँ पढिसकेपछि के गर्ने, नेपालमा यसको भविश्य के छ भनेर पनि सोध्नुभएको छ, भारतमा त यसको निकै भविश्य छ, नेपालमा पनि हुनेछ, पहिले अध्ययन सकेर सिक्न पाइयोस् अनि भविश्य त आफै बनाउने हो नि ।’

उनले रुचिअनुसार व्यवस्थापन संकायमा स्नातक तहको अध्ययन पूरा गरेर तौलिहवामै अवधि लोककलाका चित्र बनाउन थालेसँगै पोट्रेट, लेण्डस्केप, हिस्टोरिकल र अयल पेन्टमा विभिन्न पेन्टिङ्ग बनाएको बताउँछिन् । क्यानभासमा बनाइएका ५० भन्दा बढी अयल पेन्ट आफूसँग सुरक्षित राखेकी बताउने संचिताले कतिपय साथी र व्यक्तिहरुका लागि पोट्रेट पेन्टिङ्गसमेत बनाएकी छन् ।

त्यसो त उनको चित्रकला अध्ययनको रुची पूरा गर्न परिवारकै सल्लाहमा चित्रकला अध्यापन हुने नेपालको ललितकला क्याम्पसमा समेत विभिन्न जानकारीहरु संकलनपछि भारतको दिल्लीस्थित कलेज अफ आर्टमा चित्रकला अध्ययनका लागि पठाउने निर्णय गरिएको हो । यसका लागि संचिताका दाजु डाक्टर आनन्दकुमार अग्रहरिले विशेष प्रोत्साहन गरेंका थिए ।

आफ्नो रुचि र परिवारको साथसहयोग पाएकी संचिता चित्रकला अध्ययनका लागि दिल्ली पुगेर अध्ययनको क्रममा पहिलो वर्षको परीक्षामै कलेजमा उत्कृष्ट विद्यार्थी बनेपछि अझै उत्साहित बनिन् । उनले पाएको नतिजापछि कलेजका सबैजस्तो प्राध्यापक र विद्यार्थीले उनलाई अझै महत्व र सम्मान दिन थालेको उनको बुझाई छ ।

‘सबैले महत्व दिनुहुन्छ र मेरो कलालाई प्रमोशन गर्नुहुन्छ, म नेपाली हुँ भन्ने सबैलाई थाहा छ र मलाई नेपाली भनेर सम्बोधन गर्नुहुन्छ’उनले भनिन् ‘भारतको राष्ट्रपतिलाई आफ्नो पेन्टिङ्ग देखाएर वर्णन गरेको विषय परिवार र साथीभाइलाई जानकारी गराएँ । सबैले यो विषय सामान्य नभई एकदमै महत्वपूर्ण विषय भएको भनेर मलाई बधाई दिनुभयो । मलाई अहिले आफू आफ्नो कलाका कारण यो अवसर पाउन सकेकोमा साहैं खुसी र गर्वको महशुस भएको छ ।’

संचिताको प्रगतिले आफूलाई निकै खुसी बनाएको बुवा लवकुशप्रसाद अग्रहरि बताउँछन् । ‘उनको प्रतिभालाई स्थान मिलोस् भनेरै भारतमा उनकै रुचीको विषय पढ्न पठाएका थियौं । छोरीले गरेको प्रगतिले परिवारलाई नै खुसी बनाएको छ, बिद्यालय तह पढ्दै छोरीले राम्रो पेन्टिङ्गहरु बनाउँथिन् । सबैको साथले अझै प्रगति गरुन्’ लवकुशले भने ।

संचिताले बनाएको चित्र उत्कृष्ट १५ मा पर्न सफल भएको जानकारीसहित भारत सरकारको संस्कृति मन्त्रालय अन्र्तगतको राष्ट्रिय आधुनिक कला संग्राहलयका महानिर्देशक डाक्टर संजिवकिशोर गौतमले प्रदर्शनीमा उनलाई आमन्त्रण गर्नका लागि निमन्त्रणा पत्र पठाएका थिए ।

राष्ट्रपति कार्यालय भवन परिसरमा आयोजित प्रदर्शनीको अवलोकन राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा २०२५ फेब्रअरी १ (२०८१ माघ १९) गते गर्ने उल्लेख गरेरै छनौटमा परेका १५ जना चित्रकार कलाकारलाई मात्रै आमन्त्रण पत्र पठाएर निमन्त्रणा गरिएको थियो ।

तोकिएको समयमा भएको प्रदर्शनीमा भारतीय राष्ट्रपति मुर्मुले सबै पेन्टिङ्गको अवलोकन गरेकी थिइन् । राष्ट्रपति मुर्मुले अवलोकनका क्रममा तस्बिरको भावले भारतको आर्थिक बिकासलाई प्रदर्शन गर्ने बुझाईका साथ चासो दिएर अवलोकन गरेकी थिइन् । राष्ट्रपति मुर्मुले अवलोकन गरेपछि १५ वटै पेन्टिङ्गलाई राष्ट्रिय आधुनिक कला संग्राहलयले दुई महिनासम्म राष्ट्रपति कार्यालयको ग्यालरीमा प्रदर्शनको लागि राखेको छ । संचिताले बनाएको सहितका १५ वटै पेन्टिङ्ग प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई समेत खुला गरिएको छ ।

संचिताले अवलोकनमा आएकी राष्ट्रपति मुर्मुलाई आफ्नो चित्रको बारेमा जानकारीमूलक बर्णन मात्रै गरिनन् चित्रमार्फत आफूले भारतको आर्थिक बिकासको पक्षलाई प्रष्ट्याएर ध्यानाकर्षण गराइन् । आफूले बनाएको क्यानभास चित्रमा रुपैयाँको प्रतीकले भारतको बढ्दो वित्तीय शक्तिलाई महत्व दिने तथा बुलले बलियो अर्थतन्त्रलाई प्रतिनिधित्व गर्ने र अशोक चक्रले भारतको मूल्यहरु, लोकतन्त्र र स्थिर प्रगतिको व्याख्या गर्ने संचिताले बताएकी थिइन् ।

त्यसैगरी सेतो छिटाहरुले छरिएका बनावटहरूले गति र ऊर्जा थप्नुका साथै द्रुत प्रगति र आर्थिक गतिशीलताको प्रतीकको रुपमा लिने सकिने संचिताको भनाइ छ । त्यसैगरी चित्रले भारतको विश्वव्यापी आर्थिक शक्ति घर बन्ने यात्रालाई चित्रण गर्नुका साथै शक्तिशाली रङहरू र बोल्ड रचनाले महत्वाकांक्षा, आत्मविश्वास र प्रगतिलाई प्रदर्शन गर्ने अनि क्यानभासमा निलो रंग र झण्डालाई साङ्केतिक रुपमा प्रस्तुत गरिएको उनले जनाएकी थिइन् ।

संचिता भारतमै पढेपनि बिदाको समय मिलेसम्म नेपालमा हुने यसका प्रतियोगितामा सहभागिता जनाउँदै आएकी छन् । लुम्बिनी प्रदेश सरकारले राखेका दुई वटा प्रदर्शनीमा सहभागी भएको र अब काठमाण्डौंमा ललितकताले गर्ने प्रदर्शनीमा सहभागी हुने बताइन् ।

  

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *