विद्या भण्डारी राजनीतिमा फर्किन कुन कानूनले छेक्छ ? अन्य देशमा पनि छन् उदाहरण !

काठमाडौं । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानसेनापति रुक्माङ्गद कटवाललाई जसरी पनि हटाउने योजनामा थिए । उनले पत्राचार पनि गरे । तर, कांग्रेस र एमालेले सेनामा माओवादी हस्तक्षेप अस्वीकार गर्दै राष्ट्रपति रामवरण यादवमार्फत प्रचण्डको योजना विफल पारे ।

माओवादीले ‘नागरिक सर्वोच्चता’ भन्दै आन्दोलन गर्‍यो । केही दिन राजधानीमा आन्दोलन चलाइयो, तर माओवादी थाकेर सेलायो । कार्यकारी प्रधानमन्त्रीले सेनापति हटाउने सिफारिस गर्दा आलंकारिक राष्ट्रपतिले अस्वीकार गरेपछि प्रचण्ड तनावमा परे र राजीनामा दिएर सिंहदरबारबाट सडकमा आए । त्यतिबेला यो पंक्तिकारसहित शीतलनिवास पुगेका तत्कालीन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरूसँग राष्ट्रपति यादवले मिठाई खुवाउँदै भनेका थिए, ‘यो नगरेको भए माओवादीले सेना कब्जा गर्थ्यो ।’

कांग्रेस र एमालेले माओवादीको सेना कब्जा रणनीति रोक्न कटवाललाई जोगाए । तर, सत्तामा पुगेपछि कटवालले आफ्नो कार्यकाल लम्ब्याउन खोजे । सेनाको नियम मिचेर लबिङ गरे । तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारी उनको योजनामा बाधक बनिन् । उनले स्पष्ट भनिन्, ‘कार्यकालभन्दा एक दिन कम वा धेरै बस्नु हुँदैन ।’

उनले सेनाको व्यवसायिकता जोगाउन र आगामी नेतृत्वलाई अवरोध नहोस् भनेर यो कदम चालेकी थिइन् । यो कुरा तत्कालीन प्रधानसेनापति छत्रमान सिंह गुरुङले आफ्नो आत्मकथा ‘जनताको छारो’ मा उल्लेख गरेका छन् । गुरुङ नेपालका प्रथम जनजाति पृष्ठभूमिका प्रधानसेनापति थिए । यो घटनाले विद्या भण्डारी अलिकति चिनाउन मद्दत गर्छ ।

राष्ट्रपतिको रूपमा विद्या भण्डारी २०७९ फागुन २९ मा सात वर्ष शीतलनिवास बसेर बिदा भइन् । उनको कार्यकालमा रामवरण यादवले कार्यकारी प्रधानमन्त्रीको सिफारिस नमान्दा विवाद भएको थियो । तर, उनले ठीक उल्टो, कार्यकारी प्रधानमन्त्रीको सिफारिसमा २०७७ पुस ५ र २०७८ जेठ ८ मा संसद् विघटन सदर गर्दा विवादमा परिन् । राष्ट्रपतिको सुरक्षा प्रोटोकलमा पनि उनी अन्य राष्ट्रपतिजस्तै विवादमा आइन् । तैपनि, उनले केही उल्लेखनीय सफलता हासिल गरिन् ।

कमल थापाले उनको बिदाईमा लेखे, ‘राष्ट्रहितविपरीतको नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिएको अडानले विद्यादेवी भण्डारी सधैँ अविस्मरणीय रहनेछिन् ।’

२०७८ वैशाख-जेठमा भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविद र चिनियाँ राष्ट्रपति सी चिनफिङ फोन गरेर कोरोनाको खोप मागिन् । उनको पहलले कार्यकारी सरकारलाई सहयोग पुग्यो । चीनले १० लाख खोप नेपाललाई दियो । पछि भारत र अमेरिकाले पनि खोप दिने वातावरण बन्यो ।

भण्डारीले कोभिड कूटनीतिमा आलंकारिक भएर पनि देखिने परिणाम दिइन् । २०७३ फागुन २४ मा शुरू भएको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ उनकै अगुवाइमा भएको हो । फोर्ब्सले उनलाई विश्वका १०० शक्तिशाली महिलामध्ये ५२औँ स्थानमा राखेर अन्तर्राष्ट्रिय पहिचान दियो ।

भण्डारीको सक्रिय राजनीति आगमन स्वाभाविक

विद्या भण्डारीको राजनीतिक यात्रा मदन भण्डारीकी श्रीमती भएकाले मात्र शुरू भएको भन्ने दाबी आंशिक सत्य हो । उनी गृहिणीको रूपमा नभई नेताकै रूपमा मदनसँग जोडिएकी थिइन् । भोजपुर क्याम्पसमा पञ्चायतविरुद्ध लड्ने विद्या राजनीतिमा सक्रिय नै थिइन् ।

उनका प्राध्यापक डा. टंक न्यौपानेले यो पंक्तिकारसँग इटहरीमा भने, ‘मैले उनलाई आईएमा नेपाली पढाएँ । पञ्चेहरूले विद्यार्थी चुनावको बुथ कब्जा गर्दा उनी एक्लै प्रतिवाद गर्थिन् ।’

मदन भण्डारीका जीवनीकार रमेशरुचेन राईले ‘श्वेत सार्दूल’मा विद्या र मदनको भेट राजनीतिक कोणमा भएको र विराटनगरमा ‘जनवादी विवाह’ भएको उल्लेख गरेका छन् ।

राजनीतिक पृष्ठभूमिकी विद्या भण्डारीको सक्रिय राजनीति आगमन स्वाभाविक हो । संविधान र कानूनले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन निषेध गरेको छैन । कानूनले नरोकेको कुरा गैरकानुनी हुँदैन । उनी आउन वा नआउन स्वतन्त्र छिन् ।

उनको सम्भावित आगमनको चर्चा नेपाल प्रेसबाट शुरू भयो । २०७८ जेठ १३ मा अस्मिता थापाले नेपाल प्रेसमा उनको पक्षमा लेखिन्, ‘विरोधीलाई जवाफ दिऔँ- विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काऔँ ।’

तर, हालै डा. मुरारी पराजुलीले नेपाल प्रेसमै उनको आगमनको विपक्षमा लेखे, ‘विद्याको कमब्याक हल्ला-कसको स्वार्थ, कताको सल्लाह ?’

राष्ट्रपति पद आलंकारिक भए पनि शक्तिशाली नै हुन्छ । रामवरण यादवले ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ र विद्या भण्डारीले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ ल्याए । तर, कार्यकारी अधिकार नहुँदा भण्डारी सायद यो धित मेट्न आतुर छिन् ।

नैतिकताको आधारमा पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु हुँदैन भन्नु भावनात्मक तर्कमात्र हो । नेपालका तीनै राष्ट्रपति दलका शीर्ष नेता थिए, र व्यवहारमा यो पद दलनिकट नै देखिन्छ ।

विद्या भण्डारीको राजनीतिमा कमब्याकको अर्थ उनको व्यक्तिगत चाहनामा मात्र सीमित छैन । नेकपा एमालेभित्र ‘विद्या आऊ,एमाले बचाऊ’को अवस्थामा केही नेता कार्यकर्ता पुगिसकेका छन् । विशेषगरी पार्टी सत्ताको कार्यकारी अभ्यास गरिरहेका नेताहरुको कोपभाजनमा परेका केन्द्रदेखि वडासम्मका नेता कार्यकर्ताको मन बिसाउने चौतारी बनेको छ भण्डारी निवास चपली ।

भण्डारीले पनि पीडा पोख्न आइपुगेका नेता कार्यकर्तालाई बाहिर नरुनु बैरी हाँस्छन,रुनै परे मेरैमा आएर रुनू भन्ने गरेको चर्चा छ । पार्टीका कमिटी र भातृ संगठनका अधिवेशनहरुमा संस्थापन भनिने पक्षले व्यक्ति तोकेर यसलाई अध्यक्ष बनाउने भनेर पठाएपछि चुनाव लड्न नपाउने वा निषेधमा पर्ने पक्षले विद्या भण्डारीको ओत खोज्ने गरेको छ ।

पार्टीभित्र अहिले अर्को कुनै पदाधिकारीले असन्तुष्ट वा पीडित पक्षको नेतृत्व गर्ने आँट नभएकाले पनि विद्या भण्डारीको कमब्याकको बहस बलियो बनेको हो ।

भलै विद्या भण्डारी एमालेमा प्रतिस्पर्धा गरेर नेतृत्वमा आउने नभएर अध्यक्ष वा पार्टीकै प्रस्तावमा मात्र आउने नेताहरु बताउँछन् ।

विश्वमा आलंकारिक र कार्यकारी पदमा पुगेका उदाहरण

कानूनले निषेध नगरेसम्म कुनै व्यक्ति कुनै पदबाट अन्यत्र जानु गलत होइन । नेपालका पहिलो नागरिक प्रधानमन्त्री मातृकाप्रसाद कोइराला पछि अमेरिकाका लागि राजदूत भए । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रड हाल अमेरिकाका राजदूत छन् ।

बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन ऋषी सुनकको विदेशमन्त्री बने । फ्रान्सका ज्याक सिराक १९७४-७६ मा प्रधानमन्त्री र १९७७-९५ मा पेरिसको मेयर भए । रुसका भ्लादिमिर पुटिन र टर्कीका रेसेप ताइप एर्दोआनले आलंकारिक र कार्यकारी दुवै भूमिका निर्वाह गरे । श्रीलंकाका जे.आर. जयवर्दने र बंगलादेशका शेख मुजिबुर रहमानले पनि यस्तै अनुभव लिए ।

फ्रान्स, रुस, टर्की, श्रीलंका र बंगलादेशमा यस्ता उदाहरण छन् । एमालेको अध्यक्ष र अवसर मिले प्रधानमन्त्री बन्न खोज्नु विद्या भण्डारीको कुनै नौलो प्रयोग होइन । विधिको शासन र लोकतन्त्रमा कानूनले नरोकेको र लोकतान्त्रिक विधिबाट आएर उनले अध्यक्ष बन्न खोज्नु वा उनलाई बनाउन खोज्नु कदापि गलत होइन ।

यो पनि पढ्नुहोस्- शीतल निवासबाट बाहिरिँदा विद्या भण्डारीले छाडेका यी अविस्मरणीय पदचापहरू

Comments

3 responses to “विद्या भण्डारी राजनीतिमा फर्किन कुन कानूनले छेक्छ ? अन्य देशमा पनि छन् उदाहरण !”

  1. ksp pyl Avatar
    ksp pyl

    अनैतिक बाटोमा मान्छेलाई जान किन घचघचाएको? कि एमाले विरोधी हो कि विद्या आएपछि हसुरौंला भनेर हो ।

  2. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    देशको सर्वोच्च पद राष्ट्रपति, कार्यकारी सर्वोच्च पद प्रधानमन्त्री र मन्त्री भएर कार्यकारी भूमिका निर्वाह गरेका पात्रहरूले लोकतान्त्रिक राजनीतिमा असल परम्परा बसाल्ने ढंगले अभिव्यक्ति दिने र गतिविधिहरू गर्ने गर्नुपर्छ। “हिजो भएन भनेर आज पनि हुँदैन भन्ने भाष्यबाट मुक्त हुँदै आसावादी भएर असल परम्परा स्थापित गर्न योगदान गर्ने मनोविज्ञानबाट निर्देशित हुनुपर्छ।”

    यतिखेर ज्ञानेन्द्र शाहको फेरि राजा बन्ने सपनालाई प्रचण्डको योजनाले अस्वभाविक रूपमा सहयोग गरिरहेको छ। जबकि उनीहरूको राजनीतिक विचार पटक्कै मिल्दैन। विपरीत ध्रुवको राजनीति गर्नेहरूको सपना र योजना मिल्नु लोकतान्त्रिक प्रणालीका लागि शुभ संकेत होइन। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा सक्रिय हुने वातावरण बनाएर प्रचण्डले एकातिर पार्टीभित्रको अन्तरसंघर्षमा आफूलाई सुरक्षित बनाएका छन् भने अर्कातिर प्रधानमन्त्री केपी ओलीलाई अप्ठ्यारोमा पार्न र असल परम्परा स्थापित हुन नदिन पुर्वराजा ज्ञानेन्द्र शाह र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रत्यक्ष राजनीति आउन खुला आह्वान गरिरहेका छन्।

  3. Bir Bahadur Kunwar Avatar

    बाहिर नरुनुु रुनुु बैरी हास्छन् रुनुु परे मेरै मेरैमा आएर रुनुु भन्ने गरेको चर्चा । अनन्पचास सालमा म आर आर क्याम्पसमा आई ए प्रथम बर्षमा अध्ययन गर्थे शुुक्रबारको दिन क्याम्पसमा पढाई हुुँदैन थियो हामी साथीहरु बाग बजारमा महासचिव मदन भण्डारीलाई हेर्न जन्थ्यौँ उहाँको बालि मात्र सुुन्ने गर्थेऔँ । दिन भर त्यहि बसि रहन्थ्यौँ । साँझ डेरामा फर्कने समयमा यस्तो नेता भए बावुुको आवश्यकता छैन भनि उहाँको भनाईलाई एक आपसमा सुुनाउन्थेऔँ । उहाँको षडेन्त्रपूूर्ण दासढुुङ्गामा मृत्युु भयो । मृत्युुको खोजि गर्न आन्दोलन गरौँ । आन्दोलनले एउटा नारा जन्मायो शोकलाई शक्तिमा बदलौ जवजलाई अघि बढाऔँ । हामी जननेताको मायाले छटपटाउन थालेऔँ । यात्रा सम्माननिय पुुर्व राष्ट्पति बिध्या भण्डारीलाई भेट्न जान थालेऔँ । उहाँ केहि बोल्नुु हुुँदैन थियो मात्र दुुई थोपा आँसुु झार्नुु हुुन्थ्यो त्यो आँसुु पनि पुुच्छ्नुु हुुँदैन थियो । मैले आन्दोलन गर्दा पुुलिसको पिटाईले प्यारालाईसेस भए मलाई यातनामुुक्ति सरोकारकेन्द्रले उपचार गराईरहेको थियो । उसले अब हामी सक्दैनौ आफ्नै खर्चले गर्नुु भनेर प्रमाण पत्र दिएर पठायो । मैले औषधी गर्न सकेन । सबै साथीहरु चिन्तामा परे रातभर कल्पना गर्दा मैले उहाँको आँसुु सम्झे बिहानै साथीलाई ट्याक्सि ल्याउन भनेर ओच्छ्यानबाट ट्याक्सिमा राख्न लगाएर उहाँको डेरा चावहिलमा गए । उहाँले मलाई अर्थोपेडिक जोरपाटीमा पठाउनुु भयो । मदन भण्डारीको भाई कैलाश भण्डारीको ठाँउ पठायो उहाँले उपचार गर्ने समयमा भनेको शव्द दाजुु हुुनुुहुुन्न भाउजुुको तर्फबाट दाजुुको पीडा आईरहन्छ त्यो शव्दले म धेरै रुए नर्सले के भो किन रुएको भनि सोध्दा म केहि बोलेन । नर्सले सुुई लगाउनुु भयो म सुुते । त्यो हस्पिटलमा औषधि गर्दा मलाई ठिक भयो । मलाई उहाँले नौकरी लगाउनुु भयो ललितपुुर ग्वार्कोमा पासाङलामुु बोडिङ स्कुुलमा । सम्माननिय केपि ओलि प्रराष्ट मन्त्री हुुँदा तत्कालिन ललितपुुर सभाषद शुुशीला नेपालले मलाई बचन लगाउनुु भयो मैले उत्तर नदिएर त्यो नौकरी छोडे । अहिले मैले बिहे गरेर दुुई वटा छोरा छन् । म मात्र होईन मदन भण्डारीका चेला कोहि जोगि छन् कोहि सडकमा पागल भएर हिडिरहेका छन् । त्यसैले नेपाली जनताको आत्मा सान्तिको लागि उहाँको नेतृत्व आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *