युरोपेली युनियनको सर्वोच्च अदालतमा उपमेयर डंगोल, नेपालको न्यायिक समितिबारे इयुको चासो

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले लक्जेम्बर्गमा अवस्थित इयुको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन) मा स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानका विषयमा अनुभव आदान प्रदान गरेकी छन् ।

युरोपको औपचारिक भ्रमणमा रहेकी उपमेयर डंगोलले त्यहाँ काठमाडौं महानगरपालिकाले स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानमा कसरी छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रक्रिया अवलम्बनको अभ्यास गरिरहेको छ भनेर अनुभव सुनाएको बताइन् ।

डंगोलले भनिन्– सबैका लागि न्यायमा सहज पहुँच सुनिश्चित, स्वच्छता, निष्पक्षता, समानता र समन्यायसहितको न्यायिक पद्धतिलाई हामीले कसरी आत्मसात् गरिरहेका छौँ भनेर मैले त्यहाँ हाम्रो अनुभव बताउने अवसर प्राप्त गरेँ । त्यहाँको अदालतले कसरी काम गरिरहेको छ ? उनीहरुले कुनै पनि मुद्दाको समाधान कसरी गरिरहेका छन् । कति समयावधिमा गर्छन् भन्ने सबै प्रक्रिया बारेमा पनि छलफल गर्ने अवसर प्राप्त भयो ।

युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको थियो ।

उपमेयर डंगोले त्यहाँ हरेक मुद्दाको दर्तादेखि निर्णय प्रक्रियासम्म कसरी हुन्छ भन्ने कुराको अध्ययन गर्ने अवसर समेत प्राप्त गरेको नेपाल प्रेसलाई बताइन् ।

डंगोलले भनिन्- नेपालमा स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति बनाएर न्याय निरूपणको कामलाई प्रभावकारी ढंगले अघि बढाइरहेको अनुभव सुनाएँ । राजनीतिक पृष्ठभूमिको व्यक्तिलाई स्थानीय तहको विवाद निरूपणको महत्त्वपूर्ण जिम्मेवारी सहित न्यायिक समितिमा मुख्य भूमिका दिएको कुरा उनीहरूलाई नौलो अभ्यास लागेछ । उनीहरूले राजनीतिक पृष्ठभूमि भएको मान्छेलाई नेतृत्व दिँदा राजनीतिक पूर्वाग्रह हुँदैन ? भनेर जिज्ञासा राखे । मैले यो हाम्रो नयाँ अभ्यास हो । संविधानसभा पछिको पहिलो कार्यकालपछि हामी दोस्रो कार्यकालमा छौँ, सुरुसुरुमा यो खालका प्रश्नहरू धेरै आउने गरे पनि अहिले बिस्तारै कम हुँदै गएको छ भने मैले त्यसो भन्दा उनीहरूले अचम्म माने ।

इयुको सर्वोच्च अदालत न्यायाधीश, रजिष्ट्रार र त्यहाँको विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि त्यही विषयमा अन्तरक्रियाको अवसर मिलेको डंगोलले बताइन् ।\

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *