राणाविरोधी स्वास्थ्यकर्मीलाई मन्त्री पद उपहार !

कविराज रामप्रसाद खनालको जन्म वि.सं. १९६५ मा तनहुँको चुँदी सिम्पानीमा भएको हो (हुतमणि अधिकारी, हाम्रो तनहुँ, अगस्त २४, २०२२) । वि.सं. २००३ मा ‘मातृशिक्षा’ नामक पाठ्यपुस्तक लेखेर छपाइ ५ हजार प्रति निःशुल्क वितरण गरेका उनले भारतको बनारसबाट आयुर्वेद, व्याकरण, कानून र अंग्रेजी पढेका थिए ।

त्यसवेला भारतमा शासन गरेका अंग्रेज र नेपालका एकतन्त्रीय राणाहरूको तुलना गर्दै तनहुँ आसपासमा राणा शासनविरुद्ध चेतना जगाउने र संघसंगठन बनाउने काम उनले गरे । वि.सं २००१ मा तनहुँको बन्दीपुरमा भानु पुस्तकालय खोल्न, २००४ मा ‘जयतु संस्कृतम्’ को अभियान चलाउन र २००६ मा तनहुँमा ‘हलो क्रान्ति’ गर्न उत्तिकै सक्रिय रहे । अहिले पनि तनहुँतिर त्यस समयलाई सम्झिँदै गीत गाइन्छ-

शेषकान्त लप्टन तोयनाथ तिघ्रे
रामप्रसाद कविराज हलो जोती बिग्रे । (जगन्नाथ श्रोत्रियसँगको कुराकानी)

विसं २००७ कात्तिकमा राजा त्रिभुवन दिल्लीको शरणमा पुगेपछि नेपालका विभिन्न स्थानमा राणाविरुद्ध सशस्त्र विद्रोहहरू हुन थाले । त्यही क्रममा २००७ पुस २६ गते तनहुँ सिम्पानीस्थित नेपाली कांग्रेसका नेता श्रीभद्र शर्मा खनालको घरबाट बन्दीपुर कब्जा गर्न निस्केको सर्वसाधारण जनताको नेतृत्व कविराज रामप्रसाद खनालले गरे भने महिलाको नेतृत्व श्रीभद्र शर्माकी आमा तारादेवीले र भूतपूर्व सैनिकको नेतृत्व दलसुर रानामगरले गरेका थिए (श्रीभक्त खनाल नेपाल लाइभ, शनिबार, वैशाख ४, २०७८)

रामप्रसाद खनाल बन्दीपुर कब्जा आन्दोलनका मुख्य नेता र कमान्डर भएकाले राणा पक्षीय सेनाका कप्तान र विद्रोही कार्यकर्तासँग उनी आफैंले समन्वय गरिरहेका थिए । २००७ मंसिर १ गते सेनाले ‘केही दिन पर्खिदिनुहोस्, हामीले माथि सम्पर्क गरेका छौं, आत्मसमर्पण गर भनेछन् भने छाडिदिन्छौं’ भन्दै गर्दा विद्रोही हजारौंको जुलुस अगाडि बढ्यो बन्दीपुर कब्जा गर्न ।

तत्काल सेनाका तर्फबाट गोली चल्यो, ६ जना आन्दोलनकारीले घटनास्थलमै शहादत प्राप्त गरे । कैयौं घाइते भए । घाइतेहरूको उपचार सरकारी कविराज कृष्णकान्त अधिकारीलगायतले गरे । सैनिकहरू सोही रात बन्दीपुर छाडी चितवनतर्फ लागे । बन्दीपुर आन्दोलनकारीहरूको नियन्त्रणमा आयो । यही समयमा जनसरकार गठन गर्ने छलफल चल्यो ।

२००७ साल माघ महिनाको अन्तिम हप्तामा श्रीभद्र शर्मा खनालको नेतृत्वमा ९ सदस्यीय जनसरकार गठन भयो । उक्त सरकारमा कविराज रामप्रसाद खनाललाई न्यायमन्त्रीको जिम्मेवारी दिइयो । त्यस्तै कविराज कृष्णकान्त अधिकारीलाई स्वास्थ्यमन्त्री बनाइयो (श्रीभक्त खनाल, नेपाल लाइभ वैशाख ४, २०७८)

उक्त सरकारमा गभर्नर र मन्त्रीहरूको तलब/पारिश्रमिक तोकिएको थियो, तर रामप्रसाद खनालले उक्त पारिश्रमिक लिएनन् बरु ‘राजनीति गर्नेले जनताको पैसाबाट तलब सुविधा लिन हुँदैन’ भनी आफ्नो आदर्श प्रदर्शन गरे ।

नेपाली कांग्रेस तनहुँको पहिलो सभापति भएका उनी विसं २०१० मा यो धर्तीबाट अस्ताए । नेपालमा प्रजातन्त्र र मौलिक हक अधिकार प्राप्तिका लागि राणाकालदेखि हालसम्म रामप्रसाद जस्ता स्वास्थ्यकर्मीहरूले योगदान गरेका छन् । त्यो योगदानको कदर राज्यले कति गरेको छ भनी अध्ययन गर्नु आवश्यक छ ।

(लेखक जनस्वास्थ्यविद् हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *