हेटौँडा । जर्मनको बुन्डेस लिगामा उपाधि अभियानमा रहेको लिग लिडर बायर्न म्युनिख बोरुसिया डर्टमण्डसँग बराबरीमा रोकिँदा महत्त्वपूर्ण तीन अङ्कबाट विमुख भएको छ ।
यो सिजन उपाधि अभियानमा रहेको बुन्डेस लिगाको सर्वाधिक विजेता म्युनिखले डर्टमण्डसँग बराबरी खेल्दै दोस्रो स्थानको डिफेन्डिङ च्याम्पियन बायर लेभरकुसनसँगको अङ्क दुरी थप फराकिलो बनाउने अवसर गुमाएको हो । २९ औँ चरणको खेल सकिदा म्युनिख अब दोस्रो स्थानको लेभरकुसन भन्दा ६ अङ्कले अघि छ ।
शनिबार नै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन लेभरकुसनले पनि बराबरी खेलेको छ । युनियन बर्लिनसँग गोलरहित बराबरी गर्दै उसले आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेको छ ।
चारवटा टिमले सोझै च्याम्पियन्स लिगमा स्थान बनाउने बुन्डेस लिगामा बायर्न र लेभरकुसनले आफ्नो स्थान सुरक्षित गर्दा थप दुई टोलीको लागि कम्तीमा १० टोली प्रतिस्पर्धामा छन् ।
१८ टोली प्रतिस्पर्धामा रहेको लिगाको अहिलेसम्म रेलिगेसनको टुङ्गो लागेको छैन । अन्तिमको दुई टोली रेलिगेसन पर्ने लिगमा अन्तिम बाट तेस्रो हुने टिमले रेलिगेसन प्लेअफ खेल्ने नियम छ ।
बुन्डेस लिगाको शीर्ष चार टोलीले सिधै च्याम्पियन्स लिगा सहभागिता जनाउँदा पाँचौँ हुने टोलीले युरोपा लिग, छैटौँ हुने टोलीले युरोपा कन्फोरेन्स लिग खेल्न पाउँछन् ।

Leave a Reply