युवा संघको कविता र गजलका विजेता चुनिएः अरु विधाको पुरस्कार वितरण आजै

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागले आयोजना गरेको युवा साहित्य सम्मेलन २०८१ अन्तर्गतको कविता तथा गजलको ग्रान्ड फिनाले आज भएको छ । जसमा कवितातर्फ जीवन आरोही राईले प्रथम स्थान हासिल गरेर ५० हजार रुपैयाँ हात पारेका छन् ।

त्यस्तै रविना कँडेल दोस्रो र सन्तोष पौडेलले तेस्रो स्थानमा रहेर क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

गजल प्रतियोगितातर्फ प्रथम स्थान हासिल गरेर दैलेखका दिपिन सिजापतीले ५० हजार रुपैयाँ जितेका छन् । दोस्रो पुरस्कारबापत अंकित आचार्यले ३० हजार र तेस्रो पुरस्कारबापत खिमानन्द जोशीले २० हजार रुपैयाँ हात पारेका छन् ।

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आज भएको गजलको ग्रान्ड फिनालेमा निर्णायकहरु बाबु त्रिपाठी, संगीता थापा र प्रज्ज्वल अधिकारी रहेका थिए । कवितातर्फका निर्णायकमा भने ज्योति जंगल, गीता त्रिपाठी र ललिजन रावल रहेका थिए ।

यस अगाडि साहित्य सम्मेलनकै क्रममा विभिन्न विधामा उत्कृष्ट युवाहरु आजै पुरस्कृत भएका छन् । ४० वर्ष उमेर नपुगेका युवाहरुलाई लक्षित गरेर आयोजना गरिएको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भएकी छन् । काभ्रे स्थायी घर भएकी उनले १ लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् ।

यस्तै दिग्विजय लामिछानेले दोस्रो र इशा थापाले तेस्रो पुरस्कार हात पारेका छन् । दोस्रोलाई ५० हजार र तेस्रोलाई ३० हजार रुपैयाँ प्रदान गरिएको छ ।

निबन्ध प्रतियोगितामा मनोज बुढाले प्रथम स्थान हासिल गरेर ५० हजार रुपैयाँ हात पारेका छन् । यस्तै दोस्रो स्थान हासिल गरेकी ज्योति घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो स्थान हासिल गरेर २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रममा युवा वैज्ञानिक निश्चल बानियाँ र डा. प्रकाश महतलाई विशेष सम्मान गरिएको थियो ।

राष्ट्रिय युवा संघ नेपालका शिक्षा विभागका प्रमुख तथा लोकसेवाका सेलिब्रेटी आईक्यू गुरु कुवेर अधिकारीले युवा साहित्य सम्मेलनमा देशभरका एक हजार २०० भन्दा धेरै युवाले प्रत्यक्ष सहभागिता जनाएका थिए । अप्रत्यक्ष रुपमा हजारौंले जानकारी लिएको बताए ।

उनले भने, ‘अब यो कार्यक्रम राजधानीबाट क्रमशः प्रदेश–प्रदेशमा लाने योजना छ । यो कार्यक्रमले निरन्तरता पाउनेछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *