काठमाडौं । नायिका तथा निर्मात्री पूजा शर्माले आफ्नो पछिल्लो चलचित्र ‘रावायण’को विवादबारे प्रष्टीकरण दिएकी छन् । फेसबुक स्टाटसमार्फत उनले ‘रावायण’को लगानी र प्राविधिक अनि अन्य टीम सदस्यहरूलाई पारिश्रमिक नदिएकोबारे स्पष्टीकरण दिएकी हुन् ।
अहिले सिने क्षेत्रमा ‘रावायण’ का कार्यकारी निर्माता सुशान पाठकले वैदेशिक अध्ययनका लागि जान लागेको विद्यार्थीहरुको रकम, चलचित्र निर्माणमा लगानी गरेको, तर चलचित्र डुबेपछि उनी सम्पर्कविहीन भएको चर्चा छ । यो कुरा चर्किन थालेपछि ‘रावायण’ की निर्मात्रीसमेत रहेकी पूजाले यसमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएकी हुन् ।
विद्यार्थीबाट उठाइएको रकमको प्रमुख दोषी पाठक रहेको बताउँदै पूजाले लेखेकी छन्, ‘यो विषयसँग मेरो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छैन । विद्यार्थीहरूबाट उठाइएको रकमको प्रमुख दोषी सुशान पाठक हुन्, जो हाल फरार छन् र मलाईसमेत लगातार टारिरहेका छन् । म यस घटनाबाट स्वयं पीडित भएको महसुस गर्दैछु ।’
उनले फेसबुकबाटै सम्बन्धित निकायहरूले यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरेकी छन् । सुरुमा लगानी गर्ने सहमति गरेका पाठकलाई कार्यकारी निर्माताको हैसियत दिएको, तर अहिलेसम्म पाठकले कुनै आर्थिक योगदान नदिएको पूजाको भनाइ छ । प्राविधिक र टीमका अन्य सदस्यलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व पनि पाठकको भएको बताउँदै पूजाले उनी आफैंले प्राविधिकलाई चेक प्रदान गरेको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘प्राविधिक र अन्य टीम सदस्यहरूलाई तिर्नुपर्ने रकमको जिम्मेवारी पूर्ण रूपमा सुशान पाठकमाथि नै पर्छ, किनभने उहाँले नै प्राविधिकहरूलाई चेक प्रदान गरेका थिए । यस्ता गम्भीर विषयहरूमा प्रमाणविना कुनै समाचार प्रकाशित नगर्नुहोस् । तथ्यहीन र झूटा समाचारहरूले मेरो व्यक्तिगत तथा व्यवसायिक प्रतिष्ठामा गम्भीर असर परेको छ ।’
पूजाले निर्माण गरेको र सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘रावायण’ घरेलु बक्स अफिसमा फ्लप भएको थियो । चलचित्रले लगानीसमेत उठाउन सकेन भने यस चलचित्रका टेक्निसियन र अन्य केही टीम सदस्यहरूले अहिलेसम्म पैसा पाएका छैनन् ।
पूजाकाे स्टाटस्


Leave a Reply