सामाजिक सञ्जालबाट कांग्रेसलाई खतम पार्ने षड्यन्त्र पहिले रविहरुले गर्थे, अहिले राजावादीले गर्दैछन् : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले आफूले गरेको कामको प्रचार गर्न नसकेको बताएका छन्।

जनकपुरधाममा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अहिले कतिपयले कुनै पार्टीहरुविरुद्ध गलत प्रचार गर्नको लागि मान्छे नै खटाइरहेको जिकिर गरे।

उनले भने, ‘मोबाइल लिएर फलानो फलानोलाई गाली गर भनेर खटाइएको छ। फटाहा, चोर, बदमास हुन् भनेर भन भनेर लेखिरहेका छन्। हामीहरु आफूमाथि नै विश्वास गर्न छाडेर त्यो सुन्दा हेर्दा हाम्रो पनि त्यही कुरा विश्वास गर्ने निष्कर्षमा पुग्न थालिसकेका छौं।’
अहिले कुनै अर्को देशमा बसेर कांग्रेसलाई खतम बनाउने षड्यन्त्र गरेर लागिरहेको जिकिर गरे।

उनले भने, ‘हाम्रो ८ लाख सक्रिय सदस्य छन्। त्यसमा एक लाखले कांग्रेसलाई सामाजिक सञ्जालमा डिफेन्स गर्न थालौं त। कांग्रेसको कामको बारेमा भन्न थालौं त। अरुको भ्रमको बारेमा लेख्न थालौै त। भ्रमको पर्दा गिर्छ। अहिले राजावादीहरुले पनि त्यही गरिरहेका छन्। पहिले रविहरुले गर्थे। सामाजिक सञ्जालमा राजाको समयमा सुनौलो युग थियो भनेर प्रचार गर्दैछन्।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *