काठमाडौं । भारतीय टेलिभिजनमा प्रशारण हुने चर्चित टेलिश्रृंखला ‘सीआईडी’मा प्रमुख पात्र नै परिवर्तन गरिएको छ । एसीपी प्रद्युमनको भूमिकामा अभिनय गर्ने कलाकार शिवजी सतम उक्त श्रृंखलाबाट बाहिरिएका छन् ।
सीआईडीको दुई दशक लामो इतिहासमा यो सबैभन्दा ठूलो ट्विस्ट हो । श्रृंखलाको पहिलो एपिसोडदेखि नै शिवजीले एसीपी प्रद्युमनको भूमिका निभाउँदै आएका थिए । अब उनी सीआईडीमा सम्भवतः देखिने छैनन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार नयाँ एसीपीको भूमिकामा एक युवा कलाकारलाई भित्र्याइएको छ । उनी हुन् अभिनेता पर्थ समथान । अबका एपिसोडहरुमा उनलाई एसीपीको भूमिकामा देख्न सकिनेछ । समथान आफैंले एक अन्तर्वार्तामा यसको पुष्टि गरेका छन् ।
उनले भने, ‘मलाई सुरुमा कल आउँदा गर्ने कि नगर्ने दोधार भएको थियो । परिवारलाई सुनाउँदा उनीहरुले विश्वास नै गरेनन् । अन्तमा सबैसित सल्लाह गरेर खेल्ने निर्णय गरें । मेरो भूमिका एसीपी प्रद्युमनको भन्दा फरक हुन्छ ।’
अघिल्लो एपिसोडमा एसीपी प्रद्युमनको हत्या भएको देखाइएको थियो । अपराधी बर्बोजालाई सीआईडी टीमले लखेट्ने क्रममा बम विस्फोटमा परेर प्रद्युमनको हत्या भएको कथा बुनिएको छ । सम्भवतः अर्को एपिसोडमा एसीपी आयुष्मानको भूमिकामा समथानको इन्ट्री हुनेछ । उनले एसीपी प्रद्युमनको हत्याको अनुसन्धान गर्नेछन् ।
यो परिवर्तनलाई अडियन्सहरुले रुचाएका भने छैनन् । उनी एसीपीको भूमिकामा नसुहाउने धेरैको धारणा छ । कतिपयले अबदेखि यो सिरियल नहेर्ने घोषणासमेत गरेका छन् । केहीले दया र अभिजितलाई बढुवा गर्न सुझाव पनि दिएका छन् ।
शिवजीलाई श्रृंखलाबाट निर्माण पक्षले नै हटाएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक अन्तर्वार्तामा शिवजीले सिरियलमा आफ्नो क्यारेक्टर सधैंका लागि सकिएकोबारे थाहा नभएको बताए ।
उनले भने, ‘मलाई यो विषयमा थाहा छैन । मैले केही समयका लागि ब्रेक लिएको छु । अब शोलाई कसरी अगाडि लैजाने भन्ने मेकर्सलाई नै थाहा होला । यदि मेरो रोल सधैंका लागि अन्त्य भएको हो भने पनि कुनै गुनासो छैन, तर मलाई अहिलेसम्म उनीहरुले केही पनि भनेका छैनन् ।’

Leave a Reply