‘पिताम्बर’ रिलिजअघि प्रदीप र दिव्यालाई प्रश्नः बक्स अफिस प्रेसर कति छ ?

काठमाडौं । यही चैत २९ गते रिलिजको तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘पिताम्बर’ को टीम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । कलाकारसँगै चलचित्रकी निर्देशक कृषा चौलागाईं पनि प्रोमोसनमा दौडिरहेकी छन् । यसैबीच चलचित्र रिलिज हुनु दुई दिनअघि निर्माण पक्षले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबारदेखि प्रदर्शन हुन लागेको चलचित्रबारे जानकारी दिन मंगलबार निर्माण टीमले पत्रकार सम्मेलन गरेको हो ।

भेटघाट कार्यक्रममा चलचित्रको निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए । केही कलाकार भने कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । कार्यक्रममा सुरुमै अभिनेता प्रदीप खड्कालाई ‘बक्स अफिस’ बारे प्रश्न गरियो । यस वर्ष प्रदीप अभिनित चलचित्र ‘पुजार सार्की’ ले घरेलु बक्स अफिसमा ठीकठाकै ग¥यो भने ‘एक्टर टेक वन’ चलेन ।

राम्रै प्रचार गरिए पनि ‘एक्टर टेक वन’ ले बक्स अफिसमा पानी भन्न पाएन । त्यही भएर पनि उनलाई पत्रकार भेटघाटमा सुरुमै बक्स अफिस कलेक्सनबारे प्रश्न तेर्स्याइएको थियो । उनले सेफ साइड लिँदै बक्स अफिसबारे सोधिएको प्रश्नमा २०८१ सालमा आफूले बक्स अफिसको दृष्टिकोणबाट काम नगरेको जवाफ दिए ।

प्रदीपले भने, ‘यो वर्ष मैले बक्स अफिसको प्वाइन्ट अफ भ्यूबाट काम गरेको छैन । चलचित्रको कथावस्तु हेरेर क्यारेक्टरमा मात्र काम गरेको छु ।’

उनले थपे, ‘यस वर्ष मेरो सफलता र असफलताभन्दा पनि, मैले निभाएको मेरो पात्रको काम चाहिँ राम्रोसँग गरें कि गरिनँ भन्ने कुराले अर्थ राख्नेछ । पिताम्बरको बक्स अफिसले मेरो लागि भन्दा पनि उद्योगलाई अर्थ राख्छ । मेरो लागि सस्टेन हुनु नै ठूलो सफलता हो ।’

त्यस्तै कार्यक्रममा उपस्थित अभिनेत्री दिव्या रायमाझीलाई पनि फिल्म सफल हुने या नहुनेबारे प्रश्न गरिएको थियो । दिव्याले ‘एक्टर– टेक वन’बाट यही वर्ष सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

कुनै बेलाका चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी भएकाले पनि, उनको सुरुवाती दिनबाटै राम्रो चर्चा थियो, तर दिव्याको डेब्यु चलचित्रले भने राम्रो गर्न सकेन । उनको पहिलो चलचित्र नै फ्लप भयो । उनलाई अब पहिलो हिट फिल्म दिनुपर्ने चुनौती छ ।

‘पिताम्बर’ले साढे ३ करोडको ओपनिङ गर्ने अनुमान रहेको बताउँदै दिव्याले भनिन्, ‘एक्टर- टेक वनको जुन रिजल्ट आयो, यसलाई म असफलता मान्दिनँ । यो मेरो सिक्ने अवसर थियो । फेलियरबाट मैले जे जे सिकें, त्यहाँबाट सिकेर सफलतातर्फ लाग्नेछु ।’

चलचित्रकी अक्री अभिनेत्री सुपुष्पा भट्टले पनि चलचित्रले कति ओपनिङ गर्नेछ भन्दा पनि लामो समयसम्म हलमा चल्नु चाहिँ ठूलो कुरा रहेको बताइन् ।

कार्यक्रममा उपस्थित अभिनेता सौगात मल्लले ढिलोचाँडो भए पनि दर्शकले राम्रो चलचित्र हेर्ने बताए । सौगात अहिलेका डिमान्डेड कलाकारमध्येका हुन् । उनका ४ चलचित्र प्रदर्शनको तयारीमा छन् । उनको ‘पिताम्बर’सहित ‘भाइरल गोर्खे’, ‘जन्ते बाख्रो’ र ‘जार’ रिलिज हुँदैछन् ।

‘पिताम्बर’ मा अभिनेता दिव्यदेव पन्तको पनि अभिनय छ । उनले कार्यक्रममा बोल्दै चलचित्र जुध्दा केही तनाव हुने बताए ।
चलचित्रमा अभिनेता अनुपविक्रम शाही पनि छन् । उनले यो चलचित्रलाई लिएर आफू निकै आशावादी रहेको बताए ।

अर्का अभिनेता प्रमोद अग्रहरिले अभिनेताको रुपमा राम्रो क्यारेक्टर चित्रण गर्नु आफ्नो दायित्व हुने बताए ।

कृषा चौलागाईंको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।

विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशिष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *