कैलाली। कैलालीको अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा टाउको छिन्नभिन्न पारिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले मृत फेला परेका व्यक्तिको पहिचान हुन नसकेको बताए ।
घटनास्थल र शवको अवस्था हेर्दा व्यक्तिको हत्या भएको आशंका प्रहरीले गरेको । घटनास्थल रक्ताम्मे छ । शव घिसारेको देखिएको छ । ढुंगाले टाउको फुटाइएको छ । दाँत झारिएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार मन्दिरभित्रै उक्त हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। शव मन्दिरको दक्षिण प्राङ्गणमा फेला परेको भए पनि रगतका धारा मन्दिरभित्र र आसपासका क्षेत्रसम्म फैलिएका थिए।
मन्दिरका पुजारी टिकादत्त पनेरुले मन्दिरको ढोका बन्द गरेर राति घर फर्केका थिए । बिहान साढे ६ बजे पतञ्जली योग समितिका एक सदस्यले शवको बारेमा जानकारी गराएका थिए ।
प्रहरीले शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शव इलाका प्रहरी कार्यालय मालाखेती र सुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरीको अघिल्तिरको मन्दिरमा फेला परेको हो ।

Leave a Reply