मकवानपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गास्थित पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, आज बिहान करिब २ः४० बजे काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख. ६७१६ नम्बरको गाडी सडकमा रोकिएको थियो । सोही बसमा सवार उदयपुर त्रियुगा नगरपालिका-२ संगमटोल निवासी ५८ वर्षीय जितबहादुर प्रधान शौचालय जानका लागि सडक पार गर्ने क्रममा सोही दिशाबाट आइरहेको ना. ८ ख. १८०९ नम्बरको बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा प्रधानको टाउको, छाती र दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी नायब निरीक्षक अर्जुनप्रसाद देवकोटाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरेर हेटौँडा अस्पताल पठाएको थियो ।

उपचारको क्रममा बिहान ३ः२५ बजे चिकित्सकले प्रधानलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय मनहरिको नियन्त्रणमा रहेको छ भने बसका चालक धादिङ सिद्धलेक गाउँपालिका–३ निवासी २६ वर्षीय मोहन थापा मगर जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको पनि प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *