नेपाली कम्प्युटर इन्जिनियरः अध्ययन स्वदेशमा, पलायन विदेशमा

नेपाली युवाहरूको आकर्षण प्रविधि क्षेत्र त्यसमा पनि कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नेतर्फ देखिन्छ । र, अध्ययनपछि स्वदेशमै पेशा व्यवसाय गर्नेभन्दा विदेश पलायन हुने प्रवृत्ति पनि बढ्दो छ । यो प्रवृत्ति केवल नेपालमा मात्र नभएर विश्वका अन्य विकासशील देशहरूमा पनि देखिन्छ । कम्प्युटर इन्जिनियरिङ जस्ता प्राविधिक विषयहरूले युवाहरूलाई आकर्षित गर्ने मुख्य कारणमा विश्वभरि नै यस क्षेत्रमा प्रशस्त रोजगारीका अवसर, व्यक्तिगत विकासका प्रशस्त सम्भावना र उच्च आम्दानी गर्न सकिने भएकाले कम्प्युटर इन्जिनियरिङ अध्ययन लोकप्रिय बन्दै गएको छ, तर यसले गर्दा नेपाल जस्ता देशहरूमा मानव पुँजीको कमी, बौद्धिक पलायन र देशको विकासमा नकारात्मक प्रभाव पर्ने समस्या उत्पन्न हुने सम्भावना छ ।

यस लेखमा नेपालमा कम्प्युटर इन्जिनियरहरूको अवस्था, सूचना प्रविधिमा सरकारको नीति, विदेश पलायन हुने कारण, प्रभावहरू र समाधानका उपायहरूबारे उल्लेख गर्ने प्रयत्न गरिएको छ ।

नेपालमा कम्प्युटर इन्जिनियरिङको अवस्था

प्रविधिको विकाससँगै नेपालमा पनि डिजिटल क्षेत्रको माग बढ्दो छ । बैंकिङ प्रणालीको डिजिटलाइजेशन, ई-कमर्सको वृद्धि र सूचना प्रविधिको प्रयोगले दक्ष इन्जिनियरहरूको आवश्यकता झनै बढाएको छ । नेपालमा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने संस्थाहरूको संख्या पछिल्ला दशकमा धेरै बढेको छ । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय तथा तिनका आङ्गिक कलेजहरूले वार्षिक करिब १ हजार २०० कम्प्युटर इन्जिनियर उत्पादन गर्दै आएका छन् ।

त्यसैगरी अनलाइन तालिम र कोडिङ बूटक्याम्पहरूको लोकप्रियताले युवा पुस्तालाई यो क्षेत्रमा थप सीप सिक्न प्रेरित गरेको छ । नेपालमा बढ्दो स्टार्टअप संस्कृति र प्रविधिमा आधारित उद्यमशीलता अवसरहरूले कम्प्युटर इन्जिनियरिङलाई थप महत्वपूर्ण बनाएको छ । नेपाली युवाहरूले स्थानीयस्तरमै नयाँ प्रविधिमा समाधानहरू विकास गरी रोजगार सिर्जना गर्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरिरहेका छन् ।

सेवाका हिसाबले नेपालमा भरपर्दो र सुरक्षित निजामती सेवालाई मानिन्छ । सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने नीतिसमेत सरकारले अख्तियार गरेको पाइन्छ ।

अर्कोतर्फ नेपालमा कम्प्युटर इन्जिनियरिङको शिक्षा गुणस्तरमा धेरै समस्या छन् । जसमा तीव्र गतिमा प्रविधिको विकास भए तापनि प्रविधि सँगसँगै विश्वविद्यालयहरूले पाठ्यक्रममा सुधार तथा परिमार्जन गर्न सकिरहेका छैनन् । त्यसैगरी कम्प्युटर इन्जिनियरिङ प्रयोगात्मक ज्ञानमा आधारित विषय भएको, तर शिक्षण संस्थाहरूमा पर्याप्त मात्रामा प्रयोगशाला, उपकरण र प्रशिक्षित शिक्षकहरूको अभाव भएको महसुस हुन्छ ।

सरकारी सेवा

सेवाका हिसाबले नेपालमा भरपर्दो र सुरक्षित निजामती सेवालाई मानिन्छ । सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने नीतिसमेत सरकारले अख्तियार गरेको पाइन्छ । सरकारीस्तरबाट सूचना प्रविधिको पर्याप्त विकास नभए पनि केही प्रयासहरू भएका छन्, तर जसरी सूचना प्रविधिको आवश्यकता र महत्त्वको विषयमा सरकारी तवरबाट भनिन्छ । त्यसको दाँजोमा भएका कार्यमा सन्तोष मान्न सकिने अवस्था देखिँदैन ।

एकातिर सूचना प्रविधिको विकास र अधिकतम प्रयोग गर्ने भनिन्छ, तर निजामती सेवामा सूचना प्रविधिमा काम गर्ने कर्मचारीलाई आकर्षण गर्नेतर्फ सरकारको ध्यान पुगेको देखिँदैन । तसर्थ कम्प्युटर इन्जिनियरहरूको आकर्षण नेपालको सरकारी सेवामा हुनुपर्ने हो, तर व्यवहारमा त्यो देखिँदैन । त्यसो हुनुमा सरकारी निकायहरूमा कम्प्युटर इन्जिनियर र सोभन्दा माथिको पदसंख्या ज्यादै न्यून भएकाले वृत्ति विकासका सम्भावना नगण्य रहनु प्रमुख कारण रहेको छ । साथै निजामती सेवामा सूचना प्रविधिको छुट्टै सेवा समूह नभएर विविध सेवाअन्तर्गत राखिएकाले पनि आकर्षणमा कमी रहेको बुझ्न सकिन्छ ।

त्यसैगरी सूचना प्रविधिलाई विशेषज्ञ सेवा भनिए पनि विशेषज्ञ पदहरू सिर्जना नगरिएकाले आफ्नो विज्ञताअनुसारको कार्यभन्दा पनि आइपरेका जुनसुकै कार्य गर्नुपर्ने पुरानो कार्य संस्कृति रहेको छ, जसले गर्दा आधुनिक प्रविधि र नवीनतम ज्ञानको प्रयोग गर्न पाउने अवस्था छैन । सरकारी संस्थाहरूमा अनुसन्धान र विकासको क्षेत्रमा लगानी धेरै कम छ । कम्प्युटर इन्जिनियरहरूले नवीनतम प्रविधि र अनुसन्धान गर्ने अवसर पाउँदैनन् । साथै १५-२० लाख खर्च गरेर कम्प्युटर इन्जिनियर बनेका र ५-७ लाख खर्च गरेर पढेकाहरूको समान पारिश्रमिक जुन नेपालकै निजी क्षेत्रभन्दा ज्यादै न्यून भएकाले पनि सरकारी सेवाप्रति कम्प्युटर इन्जिनियरहरूको आकर्षण कम देखिन्छ ।

एकातिर सूचना प्रविधिको विकास र अधिकतम प्रयोग गर्ने भनिन्छ, तर निजामती सेवामा सूचना प्रविधिमा काम गर्ने कर्मचारीलाई आकर्षण गर्नेतर्फ सरकारको ध्यान पुगेको देखिँदैन ।

त्यसैले सरकारी सेवा प्रवेश गरेका कम्प्युटर इन्जिनियरहरू पनि राजीनामा गर्दै विदेश जाने वा आफ्नै व्यवसायतर्फ लाग्ने गरेको देखिन्छ । जसको पुष्टि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विभागमा रहेका १० जना कम्प्युटर इन्जिनियरमध्ये पाँचले जागिर छाडेर गएको बताएको तथा राष्ट्रिय किताबखाना (निजामती)को तथ्याङ्कअनुसार कम्प्युटर इन्जिनियरको कुल दरबन्दी १४६ भएकोमा पदपूर्ति ११४ मात्र भएको देखिन्छ । विगत तीन वर्षमा ११ जना कम्प्युटर इन्जिनियरले राजीनामा गरेको विवरणले पुष्टि गर्छ ।

पलायनका कारण

नेपाल श्रम सर्वेक्षण २०७५ अनुसार नेपालबाट वार्षिक करिब २० लाख युवा नेपाली श्रम बजारमा आउने गरेको छ, तर त्यसमध्ये पाँच प्रतिशतले मात्र रोजगारी पाउने गरेको देखिन्छ । सर्वेक्षणअनुसार स्नातक तह उत्तीर्ण करिब ७० हजार व्यक्ति बेरोजगार रहेको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा काम गर्नसक्ने उमेरका ८६ लाख व्यक्तिले योग्यता र सीपअनुसारको रोजगारी पाएका छैनन् ।

कतिपय विद्यार्थी १२ कक्षा पासपछि नै उच्च शिक्षाको लागि विदेश जाने गरेका छन् । कतिपय स्नातक तहको अध्ययन सकेर थप अध्ययन गर्न विदेश जाने गरेको देखिन्छ । यसरी विदेश जानु पर्नाको कारणमा परीक्षा प्रणाली, परीक्षाफल प्रकाशनमा ढिलाइ, उपयुक्त पाठ्यक्रम नहुनु, धेरैजसो समय हड्ताल, तालाबन्दी भएर अध्ययन अध्यापन कार्य हुन नसक्नु नै रहेको बताइन्छ । त्यसैगरी राजनीतिक भागबन्डाद्वारा विश्वविद्यालयलाई अस्तव्यस्त बनाइएकाले नै अध्ययन अध्यापन गर्ने वातावरण नरहेको बताइन्छ ।

कम्प्युटर इन्जिनियरहरू विदेश पलायन हुनुको प्रमुख कारण भनेको नै जागिरको असन्तुष्टि हो । न्यून पारिश्रमिक, अध्ययन अनुसन्धनात्मक कार्य नहुनु, वृत्ति विकासको सम्भावना न्यून हुनु, विशेषज्ञताका आधारमा दरबन्दी नभएका कारण कुनै एक विषयमा दक्षता हासिल गरेको कम्प्युटर इन्जिनियरहरूले त्यस कार्यालयमा आइपर्ने सबै विधाको जिम्मेवारी लिनुपर्ने, तर पनि कामको उचित मूल्यांकन नहुनुलगायतका समस्याका कारण कम्प्युटर इन्जिनियरहरू विदेश पलायन भइरहेका छन् ।

त्यसैगरी विदेश पलायन हुने अन्य कारणहरूमा अन्तर्राष्ट्रिय शिक्षा प्रणालीको अनुभव, अनुसन्धान सुविधाहरूमा संलग्न हुन पाइने, इन्टर्नशिप र रोजगार अवसरहरूका कारण विदेश रोज्छन् । साथै केही विद्यार्थीहरूले विदेशमा अध्ययन गरेर आफ्नो अध्ययन गरेको विषयगत क्षेत्रमा राम्रो करियर सम्भावना र उच्च पारिश्रमिक पाइने हुनाले आकर्षित भएको देखिन्छ ।

सर्वेक्षणअनुसार स्नातक तह उत्तीर्ण करिब ७० हजार व्यक्ति बेरोजगार रहेको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा काम गर्नसक्ने उमेरका ८६ लाख व्यक्तिले योग्यता र सीपअनुसारको रोजगारी पाएका छैनन् ।

जो-कोहीले खोज्ने भनेको नै राम्रो जागिर हो । जागिर त्यस्तो होस्, जुन आफूले पढेको विषयसँग सम्बन्धित हुनुका साथै आफ्नो परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सकोस्, आफूले पढ्दा लिएको ऋण तिर्न सकियोस् भन्ने नै रहन्छ । जब जागिर खाएर पनि ऋण तिर्न त परै छाडौं, परिवार पाल्नसमेत धौधौ परेपछि ऊ विदेशिन बाध्य हुन्छ ।

नेपालको सरकारी निकायमा सूचना प्रविधि क्षेत्रमा आवश्यकभन्दा ज्यादै न्यून दरबन्दी भएकाले वार्षिक उत्पादन हुने कम्प्युटर इन्जिनियरको तुलनामा नगण्यमात्र माग हुने हुँदा अध्ययन सकेर पनि लामो समय बेरोजगार रहनुपर्ने अवस्था छ । त्यसैगरी निजी क्षेत्रमा पनि त्यति अवसर छैन । जागिरको अवसर खुलिहाल्यो भने पनि जागिरको सुरक्षा छैन । उनीहरू जुनसुकै बेलामा पनि निकालिने जोखिममा हुन्छन् ।

पलायनका प्रभावहरू

कम्प्युटर इन्जिनियरहरूको विदेश पलायनले देशले आफ्ना प्रतिभाशाली युवाहरूलाई गुमाउँदैछ । बौद्धिक जनशक्ति पलायनले गर्दा नवीनतम प्रविधिको प्रयोग र अनुसन्धानात्मक कार्यमा प्रत्यक्ष प्रभाव पर्छ । योग्य विद्यार्थी पलायन हुँदा सिर्जनशीलता, उद्यमशीलता र मेरिटको आधारमा हुने प्रतिस्पर्धा साँघुरिने र त्यसले देशको समग्र विकासमा असर पर्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

पलायन रोक्ने उपाय

विश्वव्यापीकरणको समयमा कम्प्युटर इन्जिनियरहरूको विदेश पलायनलाई पूर्ण रूपमा रोक्न नसके पनि नीति–नियम र सेवा सुविधामा सरकारले ध्यान दिने हो भने पलायन हुने दरमा कम गर्न भने सकिन्छ । जतिसुकै उत्कृष्ट इन्जिनियर भए पनि उसले काम गर्ने ठाउँमा सूचना प्रविधि उपकरणहरूको क्षमता, सुरक्षाका लागि आवश्यक उपकरण तथा टुल्सलगायत अन्य आवश्यक उपकरण छैनन् भने कर्मचारीको दक्षताले मात्रै उक्त संस्थाको सूचना प्रविधि छिटो, सुरक्षित र भरपर्दो बनाउन सम्भव छैन । प्रविधि र उपकरण अभावका कारणले सेवा प्रवाहमा पर्ने असहजताको जिम्मेवार इन्जिनियरलाई बनाएर समस्या समाधान हुँदैन । आवश्यक दरबन्दी र उपकरणको उचित व्यवस्थापनमा सरकारको ध्यान जानु आवश्यक छ ।

नेपालका कम्प्युटर इन्जिनियरहरूको तलब, सुविधा र अवसर सार्क राष्ट्रहरूकै तुलनामा निकै कम छ । कम्प्युटर इन्जिनियर पढ्न गरेको ऋण, परिवारको भरणपोषणका लागि आफूले पाउने पारिश्रमिकले धान्न नसक्ने भएपछि स्वाभाविक रूपमा कम्प्युटर इन्जिनियरहरू विदेश पलायन हुनतिर लाग्दछन् । यसरी नै विदेश पलायन हुने दर दिनानुदिन बढ्दै जाने हो भने अबको १० वर्षपछि नेपालमा कम्प्युटर इन्जिनियरहरूको खडेरी पर्ने सम्भावनालाई नकार्न सकिँदैन ।

नेपालको सरकारी निकायमा सूचना प्रविधि क्षेत्रमा आवश्यकभन्दा ज्यादै न्यून दरबन्दी भएकाले वार्षिक उत्पादन हुने कम्प्युटर इन्जिनियरको तुलनामा नगण्यमात्र माग हुने हुँदा अध्ययन सकेर पनि लामो समय बेरोजगार रहनुपर्ने अवस्था छ ।

तसर्थ नेपालमा कम्प्युटर इन्जिनियरहरूको विदेश पलायन रोक्न सरकारले निजी क्षेत्रको समेत सहभागितामा विभिन्न रणनीतिहरू अपनाउन ढिला गर्नुहुँदैन । केही महत्वपूर्ण उपायहरू यहाँ उल्लेख गरिएका छन्ः

  • प्रविधिसँग सम्बन्धित कम्पनीहरूलाई नेपालमा आकर्षित गरी अन्तर्राष्ट्रियस्तरको तलब तथा सुविधाहरू दिने वातावरण बनाउने ।
  • सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूलाई कर सहुलियत, अनुदान र लगानीको अवसर प्रदान गर्ने ।
  • विश्वविद्यालयहरूलाई अनुसन्धानमुखी बनाउने र अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाहरू स्थापना गर्ने ।
  • प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने कम्पनी तथा संस्थाहरूसँग सरकारले सहकार्य गरी प्रवर्द्धन गर्ने ।
  • बजारको मागलाई मध्यनजर गरी विश्वविद्यालयहरूको पाठ्यक्रम सुधार गर्न सम्बन्धित पक्षसँग सहकार्य गर्ने ।
  • नवीनतम प्रविधि (AI, Blockchain, Cloud Computing)मा विद्यार्थी तथा इन्जिनियरहरूलाई तालिम दिने कार्यक्रम ल्याउने ।
  • स्टार्टअप तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्न लगानी तथा आर्थिक सहायता दिने नीति बनाउने ।
  • सरकारी तथा निजी क्षेत्रमा सूचना प्रविधिको क्षेत्रका जनशक्तिलाई उच्च तलब र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएर नेपालमै बस्न प्रेरित गर्ने योजना ल्याउने ।
  • बहुराष्ट्रिय कम्पनीहरू Google, Microsoft, Amazon जस्ता कम्पनीहरूलाई नेपालमा कार्यालय स्थापना गर्न प्रेरित गरी नेपालमै अध्ययन अनुसन्धान केन्द्र खोल्ने वातावरण बनाउने ।
  • विदेशी लगानीलाई सजिलो बनाउने तथा सूचना प्रविधि क्षेत्रमा विशेष आर्थिक क्षेत्र (SEZ) विकास गर्ने ।

नेपाली कम्प्युटर इन्जिनियरहरूको विदेश पलायन नेपालको लागि ठूलो चुनौतीको रूपमा देखापरेको छ । यसले गर्दा देशले आफ्ना प्रतिभाशाली युवाहरूलाई गुमाउँदैछ, जसको प्रत्यक्ष असर देशको विकासमा पर्छ । यो समस्या समाधान नै गर्न नसकिने भने होइन । सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला मिलेर युवाहरूका लागि रोजगारी, उच्च शिक्षा र अनुसन्धानका अवसरहरू सिर्जना गर्नुपर्छ । माथि उदाहरणका रूपमा केही विषयहरू उल्लेख गरिएका छन् । यी र यस्तै अन्य उपायहरू के हुनसक्छन् भनी विज्ञहरूबाट अध्ययन गर्न लगाई त्यसबाट प्राप्त निचोड कार्यान्वयन गर्न सके नेपालमै राम्रो अवसर प्राप्त हुने हुँदा नेपाली कम्प्युटर इन्जिनियरहरू विदेश पलायन हुनुको सट्टा देशमै बसी आफ्नो क्षमता र प्रतिभालाई उपयोग गर्नतर्फ अग्रसर हुनेछन् ।

(लेखक भट्टराई नेपाल सरकारबाट सेवा निवृत्त सूचना प्रविधि निर्देशक हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *