के २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेलमात्रै हुन् ?

काठमाडौं । प्रहरीले चैत ४ गते राति काठमाडौंको झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रकबाट बरामद गरेको करिब २५ करोड रुपैयाँ नारायण पौडेलको भनी राजस्व अनुसन्धान विभागले खुलासा गरेपछि यस्तो प्रश्न उठेको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले मानिस पहिचान गरेर वारेन्ट जारी भइसकेको अवस्थामा प्रहरीले पक्राउ गर्ने र थप कारबाही अगाडि बढ्ने बताए । त्यसपछि थप अनुसन्धान अगाडि बढ्ने उनको भनाइ छ ।

उक्त रकमसँग सम्बन्धित व्यक्ति सिन्धुपाल्चोकका नारायण पौडेलमात्रै हुन् कि अरु पनि छन् भनी नेपाल प्रेसले गरेको प्रश्नमा महानिर्देशक घिमिरेले भने, ‘त्यो कुरा त प्रहरीले अनुसन्धान गरेपछि थाहा हुने हो, अहिले कसरी भन्नु ?’

तर प्रहरीलाई यसबारे केही पनि जानकारी छैन । केन्द्रीय प्रहरी अनुसन्धान व्युरो (सीआईबी)का निमित्त प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले आफूहरुलाई राजस्व अनुसन्धान वा कुनै पनि निकायले यसबारेमा ताकेता नगरेको बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसएसपी रमेश बस्नेतलाई नेपाल प्रेसले सोध्दा उनले पनि अनभिज्ञता व्यक्त गरे ।

डीआईजी खापुङका अनुसार राजस्व अनुसन्धानले के, कसरी व्यक्ति पहिचान गरेको छ, त्यस आधारमा मात्रै कसरी र कस्तो कारबाही अगाडि बढाउने भन्ने कुराको निर्क्योल हुनसक्छ ।

उनले भने, ‘संगठित अपराधको महल आकर्षित हुने एउटा अवस्था हुन्छ, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)को मुद्दा लाग्ने अर्को कुरा हुनसक्छ ।’

तर औपचारिक रुपमा प्रहरीलाई कसैले पनि अनुरोध वा निर्देशन नदिएको अवस्थामा मुद्दाबारे केही भन्न नसकिने उनले बताए ।

‘सरकारले जिम्मेवारी दियो भने हामी काम गर्छौं’, डीआईजी खापुङले भने, ‘तर अहिलेसम्म केही आएको छैन ।’

Comments

One response to “के २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेलमात्रै हुन् ?”

  1. ksp pyl Avatar
    ksp pyl

    छानबिन गर सिंगो माओवादी तस्करी गरेर बसेको पत्ता लाग्छ देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *