‘वसन्त’को ट्रेलर सार्वजनिक

काठमाडौं । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सिनेमाको ४ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली समाजमा व्याप्त छुवाछुत र जातप्रथाका कारण उत्पन्न हुने जातीय भयलाई कथाको रूपमा प्रस्तुत गरेको छ।

स्कूले किशोरवय प्रेमीहरूको अन्तरजातीय सम्बन्धले नेपाली रूढीवादी समाजमा ल्याउने प्रतिक्रियालाई देखाइएको छ। साथै, नेपालले भोगेको द्वन्द्वसँग यसको सम्बन्ध जोडिएको छ, जहाँ एक दृश्यमा जातीय विद्रोहका लागि माओवादी छापामार बनेकी स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ।

ट्रेलरको एक दृश्यमा प्रहरी अधिकारी बनेका अनुप बराल भन्छन्, ‘मान्छे कानुनसँग डराउँदैनन्, तर अन्धविश्वाससँग डराउँछ। अन्धविश्वास कानुनभन्दा माथि छ।’ यसको जवाफमा प्रकाशले सोध्छन्, ‘सर, मान्छेको जीवनभन्दा पनि माथि ?’

यस संवादले प्रकाशको सिनेमाले प्रभावशाली र शक्तिशाली कथा प्रस्तुत गर्ने संकेत गर्छ। सिनेमा चैत २२ गते प्रदर्शन हुँदैछ ।

नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत स्वयं निर्देशक सपुतले तयार पारेका छन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्नका लागि गरेको संघर्षको कथा प्रस्तुत गर्नेछ।

सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं, र तराईका विभिन्न स्थानहरूमा सिनेमाको छायांकन गरिएको हो। सिनेमाका छायांकार सुसन प्रजापति हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *