रुपन्देही । पाल्पाको सबैभन्दा ठूलो सरकारी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले बाजी मारेको छ । नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुले आफ्नो वर्चस्व दाबी गरिरहेको यो क्याम्पसमा क्रान्तिकारीको तर्फबाट बागलुङको निसीखोला ५ का २४ वर्षीय मिलन घर्तीले आफ्नो जित दर्ता गराएर सबैलाई आश्चर्यमा पाउनीहरूलाई चुनौती थपेको हो ।
क्याम्पसको स्ववियु निर्वाचनमा अहिलेसम्म नेविसंघ र अनेरास्ववियुले बाहेक अरूले निर्वाचन जितेका थिएनन् । त्यसो त यहाँको निर्वाचनमा क्रान्तिकारीले कसैको गठबन्धनमा पनि जितेको होइन । उल्टै उसको मुख्य प्रतिस्पर्धी रहेको नेविसंघले अखिल छैटौँको साथ लिएको थियो । एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियु समाजवादी एकल रूपमा उठेका थिए ।
अध्यक्ष पदमा चार मुख्य संगठनको प्रतिस्पर्धा रहेको थियो । जसमा अखिल क्रान्तिकारीका मिलन घर्ती निकै प्रतिस्पर्धामा विजयी भएका हुन् । मिलनले ३९० मत पाउँदा उनका प्रत्याशी नेविसंघका कृष्ण अर्यालले ३४२ मत पाएका छन् भने अनेरास्ववियुका अनुजा अर्यालले २८७ मत पाएकी छन् । स्वतन्त्रबाट उठेका नेकपा एसका उमेश भण्डारीले १८५मत पाएका छन् ।
सचिव पदमा नेविसंघका सुशील बस्याल फराकिलो मतान्तरले विजयी भएका छन् । उनले अनेरास्ववियुका दीपेश ज्ञवाली र अखिल क्रान्तिकारीका विपिन पंगेनीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । त्यसैगरी कोषाध्यक्ष पदमा नेविसंघका मिस्मा राना विजयी भएका छन् । उनले अनेरास्ववियुका इन्दु गाहा र अखिल क्रान्तिकारीका गंगादेवी बारगह्रेलाई फराकिलो मतान्तरले हराएका हुन् । सदस्यहरूमा नेविसंघ र छैटौँको गठबन्धनमा रहेका नै विजयी भएका छन् ।
त्रिभुवन बहुमुखी क्याम्पसमा जम्मा मतदाता १८९४ रहेकोमा १२२८ मत खसेको थियो ।
अरू सबै पदमा नेविसंघका उम्मेदवारहरु विजयी भए पनि अध्यक्ष पदमा क्रान्तिकारीका मिलन घर्तीले बाजी मार्नु संगठनसँगै उनको व्यक्तिगत प्रभावलाई पनि लिन सकिने यहाँका विद्यार्थीहरूको विश्लेषण छ ।
एमबीएस प्रथम वर्षमा अध्ययनरत बाग्लुङ निसीखोलाका मिलन सबै विद्यार्थीमाझ लोकप्रिय छन् । कलेजमा रहेका विद्यार्थीहरूका समस्यामा जति बेला पनि साथ दिने उनको बानीले धेरै विद्यार्थीको मन जितेको र संगठनको पनि आधार रहेको त्यहाँस्थित पत्रकार कृष्ण दर्नाल बताउँछन् । मिलनले त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययन गर्न थालेको ४ वर्ष भयो ।
उनी यहीँ आएपछि मात्रै राजनीतिमा जोडिएको बताउँछन् । ‘म विद्यार्थी राजनीतिमा जोडिएको ३ वर्षजति भयो, क्याम्पसमा आउने विद्यार्थीका समस्या विषयमा सबैलाई साथ दिने गरेको थिएँ, सबै विद्यार्थी साथीहरूले विवेक प्रयोग गर्नुभएको ठानेको छु’ उनले नेपाल प्रेससँग भने, ‘यो कलेजमा अहिलेसम्म क्रान्तिकारी विद्यार्थी संगठनले जितेको इतिहास थिएन, अबका विद्यार्थीहरूले विवेक प्रयोग गर्नुहुन्छ भन्ने यसको उदाहरण हो ।’
’पश्चिम नेपालकै पुरानो र शैक्षिक विरासत बोकेको यो क्याम्पसको गरिमा केही घटेको अवस्था छ, त्यसलाई उठाउने गरी क्याम्पस प्रशासनलाई अघि बढ्न दबाब दिने, विद्यार्थीहरूलाई रोजगारमूलक शिक्षाका लागि प्रेरणा दिने कार्यक्रम ल्याउने, नियमित अध्यापन र प्रशासनिक सहजता बनाउने मेरो मुख्य उद्देश्य रहेको छ’ उनले आफ्नो जितपछि प्रतिबद्धता जनाउँदै भने, ‘विरासत जोगाएर यहाँको सेवामा सहजता ल्याउने मुख्य जिम्मेवारीबाट विचलित हुनेछैन, चुनावमा संगठनको उम्मेदवार बने पनि सबै विद्यार्थीको सेवामा साथ दिनेछु ।’

Leave a Reply