चलचित्रमा रियल कुटाई खाएका सुशील भन्छन्- निर्देशकले बारम्बार रियल नगरौं भनेका थिए, मैले नै मानिनँ

काठमाडौं । नायक सुशील श्रेष्ठले आइतबार आफ्नो शरीरमा भएको चोटको डाम देखाउँदै केही तस्बिरहरु र एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उक्त चोट उनलाई चलचित्र ‘आउटलः दफा २१९’को छायांकनको क्रममा लागेको हो । चलचित्र छायांकनको क्रममा आफूले रियल कुटाई खाएको भन्दै सुशीलले उक्त तस्बिरहरु पोस्ट गरेका हुन् ।

तस्बिर र भिडियोसँगै उनले एक स्टाटस पनि लेखेका छन् । तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं । निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौं भनेर, तर मैले यो दृश्यलाई सकेसम्म वास्तविक बनाउन सके दर्शकहरुले अझ गहिरोसँग महसुस गर्नेछन् भनेर रियल गर्ने निधो गरें ।’

मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भनेर आफूले रियलमै सो दृश्य दिएको सुशील बताउँछन् । उनले यो चलचित्र आफ्नो टीमले दिनरात नभनी हरेक दृश्यलाई उत्कृष्ट बनाउन निकै मेहनत गरेको भन्दै छायाँकनको दिनलाई पनि सम्झिएका छन् ।

सुशीलले साथ र समर्थन दिने सबै दर्शकलाई धन्यवाद दिँदै लेखेका छन्, ‘हाम्रो सपना थियो संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन फिल्मलाई नयाँ उचाइमा पुर्‍याउने । यो चलचित्र मेरोमात्र होइन, यो सम्पूर्ण टीमको सामूहिक प्रयास हो र यस्ता चलचित्र नेपाली सिनेमा उद्योगमा निकै कम देखिन्छन् । यदि तपाईंले यसलाई शेयर गर्नुभयो भने मलाई विश्वास छ कि ‘आउटलः दफा २१९’ अझ धेरै दर्शकहरूसम्म पुग्नेछ ।’

बिहीबारबाट रिलिजमा आएको यस चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । चलचित्रमा अमित अग्रहरिको लगानी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *