१५ लाखलाई रोजगारी दिएको यातायात क्षेत्र समेटिएन रोजगार मेलामा, के भन्छन् मेला संयोजक ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा यातायात क्षेत्र छुटेको छ । सन् २०२५ देखि ३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा गर्दा १५ लाख रोजगारी दिइरहेको यातायात क्षेत्र छुटेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले १५ लाख रोजगारी दरिरहेको यातायात क्षेत्रलाई रोजगार मेलामा नसमेटेकोमा गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘सार्वजनिक यातायातको प्रतिनिधित्व गर्ने देशभरिका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको प्रतिनिधित्व बिना श्रम रोजगार मन्त्रालय अर्थात् नेपाल सरकारले आयोजना गरेको श्रम रोजगार मेला गाईजात्रा सिवाय केही होइन । नेपालको सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक क्षेत्रले करिब १५ लाख श्रमिकलाई प्रत्यक्ष रूपमा रोजगार प्रदान गरेको छ । यही क्षेत्रबाट ४० लाखभन्दा बढी नागरिकको जीवनयापनमा योगदान पुर्‍याएको छ । यस क्षेत्रमा निजी क्षेत्रको करिब १२ खर्ब रुपैयाँ लगानी रहेको छ । जसले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ । तर, राज्यले मेलामा त्यही क्षेत्रलाई नदेखेको कारण नै हाम्रो ध्यानाकर्षण भएको हो ।’

सार्वजनिक यातायातले आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्दै व्यापार, उद्योग, पर्यटन तथा सेवा क्षेत्रलाई गतिशील बनाउनुका साथै स्वदेशमै रोजगारीको सृजना गरिरहेको उनको भनाई छ । देशभित्र वस्तु तथा जनशक्ति सहज रूपमा ओसारपसार गर्न मद्दत गर्दै आयआर्जनका अवसर सिर्जना गरेको छ । इन्धन खपत घटाई प्रदूषण नियन्त्रणमा टेवा दिँदै वातावरणीय दिगोपनमा समेत योगदान पुर्‍याएको क्षेत्रलाई मेलाका बारेमा केही थाहा नहुन दुखद रहेको सिटौला बताउँछन् । सरकारी ढुकुटी रित्याउने र झारा टार्नको लागि मात्र गरिएका यस्ता कार्यक्रमहरूले स्वयं सरकारलाई नै लज्जित बनाउने उनको भनाइ छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका राष्ट्रिय कार्यक्रम निर्देशक, प्रवक्ता तथा मेला संयोजक डण्डुराज घिमिरेले निजी क्षेत्रका सबै संस्थाहरूलाई हामीले निमन्त्रणा पठाएको बताए ।

उनले भने, ‘यातायात क्षेत्रलाई पनि सो मेलाको निमन्त्रणा पठाएका थियौँ । तर, यातायात क्षेत्र किन मेलामा आएन थाहा भएन । उहाँहरू नै सहभागी नभएका हुन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *