जस लिने होड : राप्रपामाथि खनिँदै दुर्गा प्रसाईंले भने- मैले माहोल बनाएपछि मिसिन आए (भिडिओ)

काठमाडौं । फागुन २५ गतेको जनप्रदर्शन भव्य रूपमा सफल भएपछि राजावादीहरुबीच यसको जस लिने होड चलेको छ । नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईँले यो जनप्रदर्शनको आयोजना आफूले गरेको दाबी गरेका छन् ।

प्रसाईँले आज पत्रकार सम्मेलन गर्दै प्रमुख राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीको खोइरो खने । काठमाडौं महानगरपालिकाले अस्तिको जनप्रदर्शनमा सडक बिगारेको भन्दै राप्रपालाई जरिवाना गराएको थियो । स्वतःस्फूर्त भएको जनप्रदर्शनको राप्रपा आयोजक थिएन, तर महानगरले गराएको जरिवाना राप्रपाले खुशी भएर तिर्‍यो । यसबाट जनप्रदर्शन राप्रपाले नै गराएको सन्देश गएपछि दुर्गा प्रसाईँ भड्किएका हुन् ।

प्रसाईँले आफूले तीन वर्ष मिहिनेत गरेर माहोल बनाएपछि राप्रपा ढोक्सा थाप्न आएको आरोप लगाए ।

उनले भने, ‘मैले राप्रपासँग कहिले हात मिलाएको छैन र मिलाउँदिन । म कसैको गोठालो होइन ।’

प्रसाईँको भड्किलो अभिव्यक्तिका केही अंशः

तीन वर्षदेखि कसैले पनि राजालाई सडकमा ल्याउन सकेको थिएन । मैले तीन वर्ष लगातार अघि बढाइरहेँ । मैले त्यो अभियान सुरु गर्दै गर्दा धेरै जना मान्छे हाँसे । १२ भाइ मिडियाले त जहिले पनि खेदो गर्‍यो । गणतन्त्रवादीले ‘दुर्गे गोरुगाडा चढेर अमेरिका जान खोज्यो’ भनेर भने । गोरुगाडा पनि हिँडेको हिँड्दै गर्‍यो भने एक दिन अमेरिका पुग्छ ।

मैले आफ्नो पेट काटेर, परिवारलाई रिस्कमा राखेर यो अभियान चलाएँ । कालोमोसोदेखि जुत्तादेखि हरेक कुरा खाएँ । यसपालि महाराजधिराजले फागुन ६ गते आह्वान गर्नुभयो । नागरिकहरू सकिए, युवा पलाउन भए, त्यसैले यो देश जोगाऊँ भनेर आह्वान गर्दा हामीले साथ दियौँ । हामी सबै राष्ट्रवादी हौँ, कुन पार्टीका मान्छे होइनौँ । मौका मिल्ने बित्तिकै संसदमा जाने, गणतन्त्रको भोज खाएर राजसंस्थाको वकालत गर्दैन दुर्गा प्रसाईँले । यस्तो नाटक गरेर हिँड्दिन । जे बोल्छु त्यही गर्छु ।

हाम्रो विशेष पहलमा २५ गते राजाको भव्य स्वागत गरियो । यो हामीले आयोजना गरेको कार्यक्रम हो । एयरपोर्टमा सवारी हुँदै गर्दा राजाको भव्य स्वागत गरेर निर्मल निवास छिरायौँ । सदनमा भएका साथीहरूको के कुरा गर्नु । हिजो यो स्थिति ल्याएको सबैभन्दा ठूलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाले हो । त्यतिबेला असोज ४ गते राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले साइन गरेका थिएनन् भने न राजसंस्था जान्थ्यो, न हिन्दु अधिराज्य जान्थ्यो । कुरा बुझ्नुभयो के ?

खोलामा बगाएर समुद्रमा लगेर राजसंस्थालाई तिलाञ्जली दिने, अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई आउने ? अनि के भइराछ कुरा भन्दाखेरि, ए हामीले गरेको… महानगरपालिकामा गयो, पैसा तिरेर हामीले गरेको, उता गएर हामीले गरेको, चैतदेखि आन्दोलन सुरु गरिहालौँ भनिरहेका छन् । दुर्गा प्रसाईँ आउनुपर्‍यो, हामीसँग मिल्नुपर्‍यो रे । मलाई त गोठालोजस्तो पो सोच्नुभएछ । आउनुपर्‍यो भन्नेलाई म के भन्छु भने उहाँहरूले कति जनालाई रोजगारी दिनुभएको छ ? मैले त ५ हजार जनालाई दिएको छु । डाक्टरहरूलाई दिएको छु । भिसी, प्रोफेसर, सीएलाई रोजगारी दिएर बसेको मान्छे हुँ ।

म संगत गर्छु भने राजाको संगत गर्छु, आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गर्छु, गोठालाहरूसँग गएर सडकमा नाटक देखाउँदिन । यो कुरा सबै जनालाई हेक्का रहोस्, क्लियर होस । म कसैको गोठाला होइन । राजाले पनि धैर्य गरेर सोच्नुहोला । तपाईँले यो लडाइँमा सारथी भएर रथ हाँक्नुस्, म अर्जुन भएर वाण चलाउँछु । कलियुगमा दुर्गा प्रसाईँजस्तो ‘अर्जुन’ अर्को भेट्टाउनुभएछ भने मलाई भन्नुहोला । तपाईँले देखिसक्नुभयो । गणतन्त्रमा जाने भोज खाने । ओलीसँग फोन गर्ने । माहोल बन्यो भने यसो परिहाल्छ कि भनेर ढोक्सा थाप्ने ।

हिजो पनि राजालाई दरबारभित्रको मान्छेले सिध्याएको हो । सचिवालयले सिध्याएको हो । आज पनि सचिवालयले सिध्याउँदैछ, भोलि पनि सिध्याउनेछ । होसियार हुनुस् । तपाईँको सचिवालय ठीक छैन । मलाई कुनै लोभ छैन । कुनै सरोकार छैन । यो देशमा प्रधानमन्त्री बन्नुपर्‍यो भने भोलि जनताले बनाउने हो, राजाले बनाउने होइन । मैले तीन वर्षदेखि सर्वहाराको माग उठाएर हिँडेको हो । दुर्गा प्रसाईँ कसैको गोठालो होइन । कलियुगले खोजेको आँधिबेरी ल्याउने मान्छे हो ।

राजा मसित रिसाए भन्ने होइन । हाम्रो राम्रो सम्बन्ध छ । तर यो बीचमा चलखेल भयो । हिजो माल खाएर धर्मनिरपेक्ष बनाउने, राजसंस्था बिदा गर्ने आफैँ, आज तीन वर्षमा मिहिनेत गरेर माहोल बनाएपछि हामीले गरेको रे । धवलशम्शेरलाई के भन्छु भने तपाईँ पनि क्यान्सर सर्भाइभर, म पनि । तपाईँ १० करोड रुपैयाँ हाल्नुस्, म पनि हाल्छु । पहिले तपाईँको पार्टी सदनबाट राजीनामा दिएर भुईँमा आओस् । ताक परे तिवारी नत्र गोतामे गरेर हुँदैन । तपाईँहरूले मलाई नपढेको बेवकुफ सम्झेको होला । दुर्गा प्रसाईँ यो कलियुगको युनिभर्सिटी हो ।

ज्ञानेन्द्र शाही हुनुहुन्छ नि जुम्लाको यार्सागुम्बा खाएको भाइ, त्यसरी फोटो नखिच्नुस् । तपाईँको पपुलारिटी पनि देखेको छ । म अभियानमै रमाएको छु । आवश्यकता पर्‍यो भने फेरि सबै नागरिकले भने भने पार्टी खोलेर अगाडि बढौँला । तर अहिले म गतिछाडा काम गर्दिनँ । म प्रधानमन्त्री हुन लायकको मान्छे होइन भनिराख्या छु । मेरो काम व्यवस्था परिवर्तन गर्ने हो । यति पवित्र मान्छे यो देशले भेटेको छन् । पृथ्वीनारायण शाह जंगबहादुर र राजा महेन्द्रपछि देशले दुर्गा प्रसाईँ भेटेको छ ।

Comments

3 responses to “जस लिने होड : राप्रपामाथि खनिँदै दुर्गा प्रसाईंले भने- मैले माहोल बनाएपछि मिसिन आए (भिडिओ)”

  1. RUM BAHADUR GURUNG Avatar
    RUM BAHADUR GURUNG

    हे हे हे । फटाहा नि कत्ती हो के ? पहिले पहिले पुर्व राजालाई सबभन्दा धेरै गाली गर्ने यै बाजे हुन पो त । ऐले फेरी यस्तो । अनी फेरी कुन हतियार तेर्स्याएर ल्याउने हो त नि राजालाई ???? न कुनै भिजन छ, न कुनै दुरदर्शिता छ, न कुनै योजना छ, न कुनै कुन तन्त्रको खाका छ ???? व्यवस्था परिवर्तन भनेको प्रदेशको मुख्य मन्त्री फेर्या जस्तो हो र भन्या ???

  2. bhupendra karki Avatar
    bhupendra karki

    5000 जनालाई रोजगारी !!!!!!
    बैंक ब्याज तिर्न चाहिँ गुण्डालाइ रोजगारी ।

  3. ksp pyl Avatar
    ksp pyl

    दिल्लीले राजा कुनै हालतमा चाहादैन । मालिकले नचाहे पछि नोकरहरूले भाँडभैलो गराउने नै भए नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *