युवा संघ नेपाल झापाका इन्चार्जसहित ३ जनामाथि सांघातिक आक्रमण

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गएराति सांघातिक आक्रमण भएको छ ।

हत्या गर्ने योजनासहित भएको आक्रमणबाट तीनै जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदीप राजवंशी र अजय खवासको अर्थोवार्डमा राखेर उपचार भइरहेको छ ।

आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो। खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घटना विवरण अनुसार बिर्तामोड ( ४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएको बुझिएको छ । घर भित्र पस्नको लागि चेनगेटमा पुग्ने बित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अर्का घाइते खवासका अनुसार आङ्देम्बेको हत्या गर्ने योजनाले नै खुकुरी प्रहार भएको हो । ‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरेँ, खवासले भने, ‘मेरो हातको ४ वटा औँला काटिएको छ । यो आक्रमण योजनावद्ध देखिन्छ ।’

यस्तै अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका सोही समूहका ४ जनाले आक्रमण गरेको थियो ।

घटनाको विषयमा जानकारी भएपश्चात् संलग्नहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *