होलीको दिन घरमै नमाज पढ्न मुस्लिम समुदायलाई उत्तर प्रदेश सरकारको आग्रह

काठमाडौं । भारतमा भूगोल तथा जनसंख्याको हिसाबले सबैभन्दा ठूलो र मुस्लिमको आवादी पनि सबैभन्दा धेरै रहेको उत्तर प्रदेश सरकारले होलीको दिन जुमाको नमाज नगर्न निर्देशन जारी गरेपछि खैलाबैला मच्चिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री तथा गोरखनाथ पीठका पिठाधीश योगी आदित्यनाथले जमाहको नमाज हरेक साता मस्जिदमा गर्न सकिने तर होली वर्षमा एक दिन मात्र आउने भएकाले त्यस दिन कुनै अप्रिय घटना हुन नदिन यस्तो आग्रह गरिएको बताएका छन् ।

यस वर्ष फागु पूर्णिमा अर्थात् होली आगामी शुक्रवार परेको छ । शुक्रवार मुस्लिम समुदायले मस्जिदमा जम्मा भएर नमाज पढ्ने र सडकमा ठूलो संख्यामा निस्कने गर्छन् । यस्तोमा साम्प्रदायिक दंगा हुन नदिन उत्तर प्रदेश सरकारले मुस्लिम समुदायलाई घरभित्रै नमाज पढ्न भनेको हो ।

मुख्यमन्त्री योगीले भने- होलीको अवसरमा मलाई लाग्छ कि एक अर्काको भावनाको सम्मान गर्न आवश्यक छ । स्वभाविक रूपमा जुमाहको नामज हरेक शुक्रवारको दिन हुनेगर्छ । होली वर्षमा एक पटक मात्र आउँछ । यही त भनेको हो,प्रेमपूर्वक सम्झाएको हो । हरेक साता मस्जिदमा जुमाहको नमाज त भएकै छ,वर्षमा एक दिन संयोगवश शुक्रवार नै परेको होलीको दिन उहाँहरू घरमै बसे के हुन्छ ?

यसअघि होली र रमजान पर्वको विषयलाई लिएर प्रदेशको संभल जिल्लामा भएको शान्ति समिति बैठकपछि प्रहरीका सर्कल अफिसर अनुज चौधरीले ‘होलीको रंग लागेर जसको धर्म भ्रष्ट हुन्छ भन्दैछन् उनीहरू त्यस दिन घरबाट बाहिर ननिस्कन आग्रह छ’ भनेका थिए ।

उनको यो भनाइलाई लिएर विपक्षी समाजवादी पार्टीलगायत मुस्लिम समुदायले आपत्ति जनाएपछि मुख्यमन्त्री योगीले प्रहरी अधिकारीको बचाउ गर्दै होलीको रंग लागे धर्म नष्ट हुन्छ भन्ने कसैलाई छ भने उनीहरू त्यस दिन घरभित्रै बस्न आग्रह गरेका छन् ।

अघिल्लो वर्ष संभल जिल्लामा हिंसा भड्केका कारण यस पटक सुरक्षा सतर्कता अपनाइएको छ । मुस्लिमहरूले होलीको रंग शरीरमा लाग्दा धर्न नष्ट हुने बताउँछन् । होलीको दिन भारतमा विशेष गरी युपीमा लाखौँ हिन्दुहरू रंग अवीर लगाउँदै सडकमा उत्सव मनाउन निस्कने गर्छन् ।

त्यस क्रममा मस्जिदमा जाने मुस्लिमलाई रंग लाग्दा हिंसा भड्किन नदिन उक्त दिन घरमै नमाज पढ्न भनिएको हो । वर्षमा एक पटक मनाइने पर्व भएकाले हरेक साता मनाउने समुदायले त्यस दिन अर्काको भावनाको सम्मान गर्न सक्नुपर्ने मुख्यमन्त्रीले बताएका छन् ।

योगीले आजतक च्यानलमा भने- १४ मार्चमा होली छ, २ बजेसम्म होली खेल्न दिनुस् त्यसपछि तपाईँहरू जुमाहको नामज पढ्न जानुस् । धेरै मुस्लिम धर्म गुरुले पनि यसअघि अपिल गरिसकेका छन् कि हामी यो कुरा मान्छौँ भनेर । अब तपाईँहरू वर्षमा एक दिन पनि हिन्दु समुदायको भावनाको सम्मान गर्न सक्नुहुन्न भने घरमै नमाज पढ्नुस् ।

प्रहरी अधिकारी अनुज चौधरी ओलम्पियन र धेरै वीरतापूर्ण पुरस्कार प्राप्त व्यक्ति भएकाले उनले आफ्नै शैलीमा दिएको बयानको विरोध गर्नु औचित्यहीन रहेको योगीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *