आफ्नै चलचित्रको प्रिमियरमा पुगिनन् एञ्जिला, प्रमुख कलाकारहरू पनि अनुपस्थित !

काठमाडौं । फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर भएको छ । शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टीम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङकङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा प्रिमियर गरिएको हो ।

प्रिमियरमा निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि चलचित्रकी मुख्य अभिनेत्री एञ्जिला र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण समारोहमा उपस्थित भएनन् ।

चलचित्रमा एञ्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको प्रमुख अभिनय छ ।

चलचित्र हेरेर निस्किएका दर्शकले ‘एञ्जिला’को सङ्घर्षको कथाले मन छोएको प्रतिक्रिया दिए । उनीहरुले चलचित्रको प्रशंसा गर्दै मिलन चाम्सको उत्कृष्ट निर्देशनको सराहना गरे ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले चलचित्रले नेपाली खेलाडीहरूको वास्तविक सङ्घर्षलाई चित्रण गरेको बताए । युवा दर्शकहरूले चलचित्र हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए । चलचित्रकी बाल कलाकार नमिक्षा मगरले एञ्जिलाको सङ्घर्ष देखेर आफू पनि रोएको बताइन् ।

दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टीम उत्साहित देखिएको छ । निर्माता श्रेष्ठले दर्शकहरूको माया र समर्थनले आफू भावुक भएको बताए । निर्देशक चाम्सले दर्शकहरू रुँदा आफू पनि भावुक भएको अनुभव सुनाए ।

चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए ।

चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको थियो । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका हुन् । सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *