काठमाडौं । आगामी वडा दसैँको फूलपातीबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रमा नव-नायिका कविता रायले अभिनय गरेकी छन् ।
पोस्टरमा ‘किरण’ पात्र एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’ राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तु-स्थिति काल्पनिक रूपमा नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताएका छन्। जुन वर्गलाई उनले यस चलचित्रमा ‘भिल्ला’ वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई ‘भिल्लमगढ’ नामाकरण गरेका छन् । सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ ।
सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसन मार्फत कविता रायलाई छनौट गरिएको थियो । प्रमुख भूमिकामा यो चलचित्र नै रायको पहिलो चलचित्र हो । निर्देशक सेन भन्छन्,’यस भूमिकाका लागि उपयुक्त हाउभाउ, रुपरङ् र प्रभावशाली अभिनय क्षमता भएका महिला कलाकार छनोट गर्न अडिसनको आह्वान गरिएको थियो ।
हाम्रो कल्पनाको ‘किरण’, आवरण, आचरण, बोल्ने लवज र पात्रले देखाउनुपर्ने सशक्त अभिनय कविता रायमा भेटिएकाले हामीले उनलाई यस भूमिकाका लागि छनौट गरेका थियौँ ।’ चलचित्रमा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै चलचित्रमा कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्र ‘आसुसेन फिल्म्स् प्रा.ली.’ को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।

Leave a Reply