काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सुशासन प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेशको कुन चाहिँ बुँदामा असहमति हो भन्दै विपक्षी दलहरुलाई संसदको रोष्ट्रमबाट प्रश्न गरेका छन् ।
विपक्षी दलहरुको तर्फबाट नेकपा एसका सांसद भानुभक्त जोशीले पेश गरेको अध्यादेश अस्वीकार गर्ने प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीको तर्फबाट उपस्थित भएका मन्त्री गुरुङले अध्यादेशको कन्टेन्टमा विरोध गर्ने ठाउँ नभएपछि विपक्षीहरुले विरोधका लागि विरोधमात्र गरेको बताए ।
प्रवक्ता गुरुङले सेवाग्राहीलाई एक दिनमै सेवा प्रवाह गर्नुपर्ने कानूनका लागि ल्याइएको अध्यादेशको कुन बुँदामा विरोध हो भन्ने प्रश्न गरे । त्यस्तै तेजाब आक्रमण गर्ने अपराधीमाथि कडा दण्डको व्यवस्था गर्न लागिएकोमा विपक्षीको असहमति रहेको हो ? भन्दै उल्टै प्रतिप्रश्न गरे ।
मन्त्री गुरुङले भने- सरकारले तत्काल सेवा प्रवाहलाई सहज बनाउने,अर्थतन्त्र चलायमान बनाउनेलगायतका समस्या समाधान गर्नका लागि अध्यादेश ल्याएको हो । अहिले अस्वीकारको सूचना दर्ता गर्ने सबै दलहरुले विगतमा अध्यादेश ल्याएकै हुन् । अध्यादेशको कन्टेन्टमा विरोध गर्नका लागि ठाउँ नभएपछि अनेक कुरा गर्नुभएको छ । अध्यादेशले सेवाग्राहीलाई एक दिनमै सेवा दिनुपर्छ भनेको छ,के सेवाग्राहीलाई महिनौंसम्म दुःख दिनुपर्छ भन्ने तपाईहरुको माग हो ? योगमायालाई विदुषी किन भनियो भन्नु भएको छ, विदुषी नभनेर मुर्ख भन्ने हो त ? त्यसैले यो अध्यादेश सरकारको वा विपक्षीको नभएर सबैको हो ।
मन्त्री गुरुङले अध्यादेशका सबै पक्षहरुको संक्षिप्त विश्लेषण गर्दै सुशासन प्रवाह र अर्थतन्त्र चलायमान बनाउनका लागि ल्याइएकाले विरोधको अर्थ नरहेको बताए ।

Leave a Reply