सुखानी पुगेका नेताले भने- सहिदको सपना एमालेबाहेक कसैले पूरा गर्न सक्दैन

झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमालेबाहेक कसैले सहिदको सपना पूरा गर्न नसक्ने बताएका छन् ।

नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहतस्थलमा आयोजित स्मृति दिवसमा बरालले त्यसका लागि एमाले प्रतिवद्ध रहेको बताए । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरूको सपना पूरा हुने बताउँदै उनले गन्तव्यहीन यात्रामा रहेका, अलमलमा परेकालाई पार्टीमा फर्किन आव्हान गरे ।

माई नगर कमिटीको व्यवस्थापनमा आयोजित कार्यक्रममा उपाध्यक्ष बरालले भने, ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईँहरू मूलप्रवाहमा समाहित हुनुहोस् ।’

‘नेपाली जनताको मुक्तिका लागि जीवन बलिदान दिने सहिदहरूको सपना साकार पार्न एमाले बाहेकले खुट्टा कमाउने अवस्था छ’, उनले थपे, ‘अरुले खुट्टा लरबराउन सक्छन्, बाटो विराउन सक्छन् । गन्तव्यहीन यात्रा रोज्न सक्छन् । एमाले सहिदको सपना पूरा गर्न सधैँ प्रतिवद्ध भई लागिरहनेछ ।’

नेता बरालले संविधानका सवल पक्षलाई अघि बढाउँदै कमजोरी भए सच्याएर जानुपर्ने बताए ।

कार्यक्रममा सहिद नेत्र घिमिरेकी छोरी कल्पना घिमिरेले सहिद परिवारलाई कुनै स्वार्थ नरहेको बताइन् । विगतमा सबैखाले समस्याहरु भोगियो, अब जनताको सुख नै सहिद परिवार एक मात्र स्वार्थ हुने उनको धारणा छ ।

सुखानी सहिदहरूको प्रेरणाले नै लाखौं नेपाली नेकपा एमालेमा लागेको र देशको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बन्न सफल भएको भन्दै कल्पनाले सहिदले देखाएको बाटो नभुल्न आग्रह गरिन् ।

वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरू नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *