काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पानीको अभाव भन्दै शल्यक्रियाका लागि ठिक्क पारेका बिरामीलाई फर्काइएको छ ।
६ महिनाभन्दा बढी समयदेखि शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीहरू अपरेसन थिएटरमा ७ घण्टासम्म राखेर ‘धारामा पानी आएन’ भन्दै फिर्ता गरिएको हो । उनीहरूलाई डिस्चार्ज गर्दै घर फर्काइएकाे छ भने एक महिना पछि मात्रै अपरेशनकाे लागि डेट दिएर पठाएकाे छ ।
अस्पताल प्रशासनले ती बिरामीलाई महिना दिनपछि आउन भनेको हो ।
अपरेसनका लागि औषधिहरू चलाएर अन्तिममा पानी नआएको बहानामा फर्काएको भन्दै एक बिरामीले अस्पताल प्रशासनसँग क्षतिपूर्तिसमेत मागेकी छन् ।
उनका अनुसार नाकसम्बन्धी समस्या रहेकी ती बिरामी विगत ५ महिनादेखि डा. नरमाया थापाको निगरानीमा उपचाररत् थिइन् । आजका लागि अपरेसन तोकिएको उनलाई पछिल्लो ७ दिनदेखि एन्टिवायोटिक औषधि चलाइएको थियो ।
‘हिजो (१९ गते) अस्पताल भर्ना भई आज बिहान ८ बजे अपरेसन थिएटरमा लगेर केही औषधि प्रयोग गरी बेडमा ७ घण्टा बढी समय राखेर धारोमा पानी नआएको भन्दै अपरेसन गर्न नसकिएको र घर जान भनी डाक्टरले निर्देशन दिएको हुँदा लज्जा महसुससँगै अचम्भित हुँदै समस्यामा परेकी छु’, ती बिरामीले निवेदनमा लेखेकी छन् ।
साथै विभिन्न समयमा प्रयोग गरिएका औषधिहरूको २० हजार, अपरेसन चार्ज २० हजार, विभिन्न परीक्षणको १५ हजार र दशौं पटक फलोअपमा आउँदाजाँदाको खर्च १२ हजार गरी ७२ हजार क्षतिपूर्तिस्वरूप फिर्ता गराउन अनुरोध गरेकी छन् ।
हेर्नुहोस् निवेदन

स्वास्थ्य मन्त्रालयमा समेत बोधार्थ दिइएको उक्त निवेदन कार्यालय समय सकिएको भन्दै अस्पतालले दर्ता गर्न मानेन ।
अस्पतालको धारामा पानी नआएको विषयमा हामीले अस्पतालका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्यलाई सोध्यौं । उनले पानीको अभाव भएको सत्य भएपनि बिरामी फर्काइएको कुरा गलत भएको जिकिर गरे ।
उनले नेपाल प्रेससँग भने, ‘२ वटा बोरिङमा एकैपटक समस्या भएको हो । बोरिङ मर्मतको काम साँझसम्म सकिन्छ भन्नुभएको छ । अहिले खानेपानी जार ल्याएर प्रयोग गरिरहेका छौं र ट्याङकरबाट पानी ल्याएर सरसफाइ गर्ने काम भएको छ । अपरेसन गर्न आएका बिरामी फकाईएको भन्ने कुरा गलत हो । आजमात्रै विभिन्न प्रकृतिका ४० वटा अपरेसन भएका छन् । एकजना बिरामी पनि फिर्ता पठाइएको छैन ।’

Leave a Reply