रुपन्देही । नेपाली महिला क्रिकेटकी राष्ट्रिय खेलाडी तथा यु-१९ कि कप्तान पूजा महतो र कविता कुवँर रुपन्देहीको एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर बनेका छन् ।
निजी क्षेत्रबाट निर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले महतो र कुवँरलाई आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो । महतो र कुवँरसंग मैदानका संचालक विनोद कुँवरले आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधीन मैदानमा एक कार्यक्रमकाबीच सम्झौता गरेका हुन् । कार्यक्रममा एक्स्ट्राटेकका निर्देशक तथा सञ्चालक कुँवरले नेपाली महिला क्रिकेट खेलमा सानो भएपनि योगदान गर्ने र खेलाडीलाई खेलमा केन्द्रित हुने वातावरण सिर्जना गर्ने उद्देश्यले महतो र कुँवरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए । उनले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको र युवा खेलाडीहरुले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने महशुस गर्दै सानो सहयोग गरेको बताएका छन् ।
निर्देशक कुँवरले खेलाडीहरूलाई खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने बताउँदै खेलाडीलाई खेलमा ध्यान केन्द्रित गर्ने अवस्था बनाउनु जरुरी रहेको धारणा राखेका थिए । उनले ब्राण्ड एम्वेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिवद्धता जनाउँदै आगामी दिन थप अरु खेलाडीहरुलाई समेटेर लैजाने योजना रहेको बताएका छन् ।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्रान्ड एम्बेसडर बनेको बताउँदै यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले निजी लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निमार्ण गरी ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीलाई लक्षित गरी गरिएको अर्को कामले नेपाली क्रिकेटमा उत्साह थपेको बताएका छन् ।
सो अवसरमा ब्राण्ड एम्वेसडर नियुक्त भएकी महिला क्रिकेट टिमकी सदस्य पूजा महतोले यू–१९ को टिम छनौटका लागि एक्स्ट्राटेक ओवल मैदानमा गरिएको क्लोज क्याम्प आफ्नो खेल जीवनको स्वर्ण क्षण भएको स्मरण गर्दै एम्वेसडर नियुक्तीले आफूलाई हौसला र खेलमा केन्द्रित हुने अवस्था निर्माण गरेको भन्दै खुशी व्यक्त गरिन् । महतोले यसले आफूलाई धेरै हौसला प्रदान गर्नुका साथै आफ्नो खेल जीवनमा धेरै सहयोग पुग्ने बताइन् ।
‘एक्स्ट्राटेकसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, महतोले भनिन् ।
एक्स्ट्राटेक ओवलले नेपालका लिजेन्ट क्रिकेट खेलाडी तथा पुरुष यू-१९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई यसअघि नै ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ ।

Leave a Reply