विवाहको एक दिनअघि दुर्घटनामा परेर अर्जुनको मृत्यु

रूपन्देही । बाँकेको राप्तीसोनारी–७ वसन्तपुरस्थित अर्जुन पासीको घरमा शुक्रवार बेलुकीसम्म निकै खुशीको माहौल थियो । उनको घरमा गत एक सातादेखि नाचगान लगायत विभिन्न कार्यक्रमहरू हुँदै आएका थिए ।

शनिवार अर्जुन पासीको विवाह भएकोले उनको जन्ती भारत जाने कार्यक्रम रहेको हुँदा घरका सबै जना सोही तयारीमा थिए । तर, शुक्रवार राति करिब ७ बजेतिर भएको एक दुर्घटनाले पासीको घरको खुसीयाली शोक र पीडामा रूपान्तरण भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार विवाहको तयारीका लागि सामान खरिद गर्न घरबाट निस्किएका अर्जुन पासीले चलाएको १२५ सिसीको नम्बर प्लेट नभएको कालो पल्सर मोटरसाइकललाई राप्ती सोनारी–७ भेलुनियामा विपरीत दिशाबाट आइरहेको नम्बर प्लेट मेटिएको ट्याक्टरले शुक्रवार करिब साँझ ७ बजेतिर ठक्कर दियो ।

सो ठक्करबाट गम्भीर घाइते भएका पासीलाई तत्काल प्रहरीको सहयोगमा नेपालगन्जस्थिच भेरी अस्पताल पुर्‍याइएपनि राति साढे आठ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकले जनाए ।

घट्नाको प्रारम्भिक अनुसन्धान अनुसार पासीले नजिकैको भारतीय हाट बजारबाट विवाहको सामान खरिद गरेर ल्याई स्थानीय एक पसलमा मदिरा सेवन गरेको जानकारी केही स्थानीयबाट प्राप्त भएकोले सो बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पासी सवार मोटरसाइकललाई ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिइएको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले ट्याक्टरका चालक फरार रहेकोले खोजी भइरहेको तर ट्याक्टर मालिक सम्पर्कमा आएको जनाएको छ । एक दिन अघिसम्म विवाहको खुसीयालीमा रहेको वसन्तपुर गाउँ अहिले गहिरो शोकमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *