काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा दलगत आधारमा निर्वाचन नगर्ने प्रस्ताव राखेका छन्।
पोखरामा जारी लिट्रेचर फेस्टिभलमा बोल्दै संघ र प्रदेशमा दलको टिकटका चुनाव हुने भए पनि स्थानीय तहमा नगर्ने प्रस्ताव राखेका हुन्। उनले भने, ‘स्थानीय तहलाई दलगत रूपमा चुनाव नगर्ने दुनियाँका धेरै मुलुकका व्यवस्था छ। स्थानीय तह प्रदेशको इकाइको रूपमा राखौँ। संघीय प्रणाली भएका मुलुकहरूमा प्रदेशहरूमा भएको, बीचमा प्रदेश अनि अधिकार जति सबै संघमा, बीचमा प्रदेश सरकारजस्तो नै छैन। त्यहाँ पनि छलफल गर्नुपर्ने छ।’
उनले राजनीतिक नियुक्तिमा भागबन्डा गर्ने प्रणालीलाई अन्त्य गर्नुपर्ने बताए। उनले संविधानमा भएको अधिकार प्रदेशलाई दिएर सुविधा सम्पन्न बनाउनुपर्ने बताए। उनले थपे, ‘प्रदेशलाई केही अधिकार दिइएको छैन। अहिलेसम्म कानून नबनाएर किन पेन्डुलम बनाएको ? किन अधिकार नदिएको ? यसरी प्रदेश चल्दैन। क्षेत्राधिकारबारे छलफल गरौँ।’
उनले संविधान पनि सम्झौताको दस्ताबेज भएको बताए। उनले संविधानमा ३६० भन्दा बढी संशोधनको प्रस्ताव दर्ता भए पनि छलफल नै नगरी घोषणा गरिएको स्मरण गरे।

Leave a Reply