जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासका अवैध तथा अनाधिकृत पाँच अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा बिना अनुमति संचालनमा रहेका पाँच अस्पताललाई बन्द गर्न निर्देशन दिएका हुन् । उनले बर्दिबासका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले आठ अस्पतालको अनुगमन गरेका छन् । त्यसमध्ये पाँच अस्पताल सेवा सञ्चालन अनुमतिपत्रबिनै सञ्चालनमा रहेकाले ती अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।
उनका अनुसार विधि र प्रक्रियाअनुसार मापदण्ड पूरा गरी सेवा सञ्चालन अनुमति लिई मात्र अस्पताल सञ्चालन गर्न पनि अस्पतालका सञ्चालक तथा उपलब्ध कर्मचारीलाई निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा बर्दिवासस्थित महेन्द्र डेन्टल क्लिनिक प्रालिले सेवा सञ्चालन स्वीकृति लिएको पाइएको छ । सेवा सञ्चालन अनुमति लिएको जनसेवा हस्पिटल प्रालि र डि.एन.बि मेडिकेयर सेन्टर प्रालिलाई नवीकरण गराएका छैनन् । यी दुबै अस्पताललाई तत्कालै नविकरण गराउन पनि मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिँहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिदैआएका छन् ।

Leave a Reply