०८५ सम्म सबै नागरिक साक्षर नभए सरकारी सुविधा प्राप्त नहुने प्रावधान छ : प्रचण्ड

सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानूनी प्रावधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन् ।

सप्तरीको खडक नगरपालिकाले आजदेखि सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान सुरु गर्दै संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरेको तथ शिक्षालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गरे ।

अनिवार्य शिक्षासम्बन्धी ऐनले विसं २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न नसके सरकारी सुविधा समेत प्राप्त गर्न नसक्ने व्यवस्था गरेकाले यसमा सबै स्थानीय तहको बेलैमा ध्यान जानुपर्ने बताए ।

खडक नगरपालिकाले आफ्ना नागरिकलाई साक्षर बनाउने अभियान थालेर महत्त्वपूर्ण सुरुवात गरेको उल्लेख गर्दै उनले यस्तो अभियान सबै पालिकाले चलाउनुपर्ने बताए ।

जनताको ठूलो बलिदानपछि प्राप्त भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा स्थापित गर्नु ठूलो सफलता भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संविधानअनुसार कानुन बनाउने र कानून कार्यान्वयन गरेर जनताको जीवन बदल्ने अभियानलाई तीब्र बनाउनुपर्ने बताए ।

संविधानको मूल मर्म समाजवादउन्मुख अर्थ सामाजिक व्यवस्था भएको र यसका लागि नि:शुल्क तथा अनिवार्य शिक्षा, निशुल्क स्वास्थ्य आदि कामलाई प्राथमिकताका साथ अघि बढाउनु पर्ने र त्यसमा स्थानीय तहले अगुवाई गर्नुपर्ने बताए ।

आफ्नो पार्टीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने नीति अघि सारेको जानकारी पनि दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *