काठमाडौं । केही दिनयता प्रधानमन्त्री निवास बालुवाटारमा सामाजिक सञ्जालका चर्चित अनुहारहरूको चहलपहल बढिरहेको छ । युट्यूव-टिकटकबाट उदाएर लोकप्रियता कमाएका युवा-युवतीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार धाइरहेका छन् ।
परम्परागतरूपमा देशका प्रधानमन्त्रीले भेट्नेहरूको सूचीमा प्रायजसो ‘प्रबुद्ध’ व्यक्तिहरू हुने गर्छन् । यो ‘स्टेरियोटाइप’ बाट निस्किएर ओलीले युवा पुस्ताका ‘आइकोनिक फेस’ हरूलाई स्वागत गर्न थालेका हुन् । पछिल्ला केही दिनमा उनले र्यापर कुमा सागरदेखि कन्टेन्ट क्रियटर इस्टु कार्की, टिकटकर अंशु बर्मादेखि, मिस पवी (पवित्रा साँकी) र इभा गिरीसम्मलाई भेटे । उनीहरूसँगका भेटघाटको प्रयोजन र सन्दर्भ भने फरक-फरक थिए ।
गत २४ माघमा दुई चर्चित टिकटकर अंश बर्मा र मिस पवी (पवित्रा पार्की) लाई प्रधानमन्त्री ओलीले आफैँ बोलाएर संयुक्तरूपमा भेटेका थिए । उक्त भेटघाटको तस्बिर प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा पनि पोस्ट भयो ।

मिस पवी र अंश बर्मासँग खिचिएको तस्बिर हालेर प्रधानमन्त्रीले लेखेका छन्, ‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवी र अंश वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो ।’
टिकटकमा अंश बर्मा र मिस पवीका झण्डै १०-१० लाख फलोअर्स छन् । टिकटकमा लाइभ बसेर करोडौं कमाउनेमा पर्छन् अंश बर्मा । उनलाई ‘डिजिटल भिखारी’ भनेर ट्रोल समेत गर्ने गरिएको छ । मिस पवी भने टिकटकबाट उदाएर अहिले कलाकारितामा सक्रिय छिन् । उनी म्युजिक भिडिओहरू खेल्नुका साथै हाल टिभी रियालिटी शो ‘कमेडी दरबार’ मा पनि अभिनय गरिरहेकी छन् ।
प्रधानमन्त्रीले भेटघाटका लागि यी दुईलाई निम्त्याउनुको ठोस प्रयोजन खुलेको छैन । तर, प्रधानमन्त्रीले आफ्नै अकाउन्टबाट पोस्ट गर्नुले उनीहरूलाई महत्व दिएको बुझिन्छ । यो पोस्टमा ६ हजार ८ सयभन्दा बढी कमेन्टहरू आएका छन् । सम्भवत: अहिलेसम्म सर्वाधिक प्रतिक्रिया आएको प्रधानमन्त्रीको स्टाटस यही नै हुन सक्छ । तर, अधिकांश प्रतिक्रियाहरू सकारात्मक छैनन् । धेरैले मिस पवी र अंश बर्मालाई ‘प्रतिभावान क्रियटर’ भनेकोमा खिसी गरेका छन् । साथै, धरानका मेयर हर्क साम्पाङलाई भेट्न समय नदिएका प्रधानमन्त्रीले भाइरल युवायुवतीलाई अनावश्यक महत्व दिएको भन्दै कतिपयले असन्तुष्टि पोखेका थिए ।
उनले भने, ‘प्रधानमन्त्रीले सबै उमेर समूहका व्यक्तिहरूलाई आवश्यकता र अनुकुलताका आधारमा भेट्नु हुन्छ । त्यही क्रममा कहिले युवा पर्छन् त कहिले वृद्ध । यद्यपि, युवाहरूलाई भेटेर उनीहरूको कुरा सुन्न प्रधानमन्त्रीज्यूको विशेष अभिरुचि देखेको छु ।’
त्यस दिन संसदमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन थियो । तर, प्रधानमन्त्री संसदमा अनुपस्थित भएका थिए । कतिपयले संसद समेत छलेर प्रधानमन्त्रीले महत्वहीन व्यक्तिहरूलाई भेटेको भन्दै आलोचनासमेत गरे । प्रधानमन्त्रीको सचिवालयले भने स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री संसद जान नसकेको प्रष्टीकरण दिएको थियो ।
यसको केही दिनपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालकी ‘भाइरल लेडी’ इस्टु कार्कीसँग भेटेको तस्विर र भिडिओ सार्वजनिक भयो । प्रधानमन्त्री ओलीले आफ्नो टिकटक अकाउन्टमा नै भिडिओ पोस्ट गरेका थिए । भिडिओमा उनले इस्टुसँग गरेको संवाद सुन्न सकिन्छ । प्रधानमन्त्री ओलीले ‘केपी बा’ नामको युट्यूव च्यानल आफ्नो भएको बताएका छन् ।
‘बा भन्ने च्यानल हाम्रै हो, त्यसमा महिनामा एउटा-दुईवटा हाल्ने गर्या छु,’ ओलीले भन्छन् ।
त्यसपछि इस्टुले प्रधानमन्त्रीलाई निर्दोष तरिकाले सोधिन्, ‘साँच्ची हजुर के अभियोगमा जेल जानुभएको हो ?’
ओलीले सहजरूपमा जवाफ दिए, ‘अभियोग त मनपरी थिए । ८-१० जना मान्छे मार्या पनि भन्या थ्यो, बन्दूक खोस्या पनि भन्या थ्यो, डाका गर्या भन्या थ्यो, चोरेको भन्या थ्यो । जे जे भनेर मुद्दा लगाउन सकिन्छ त्यो सबै लगाको थ्यो ।’
अनि इस्टुले एउटा विचित्र प्रश्न गरिन्, ‘तपाईँलाई जेल जाँदाखेरि कस्तो लाग्थ्यो ? आहा कस्तो रमाइलो जस्तो लाग्थ्यो कि नरमाइलो ?’
ओलीले जवाफ दिन्छन्, ‘जेल जाँदा के रमाइलो हुन्थ्यो ? धेरै नराम्रोसित चुट्थ्यो । चुट्दा चुट्दा मेरो हात खुट्टा सुन्निएर बेहाल भएको थियो । बाँधेर, लडाएर चुट्थे ।’
यो संवादपछि इस्टुले प्रधानमन्त्रीलाई क्यामरातिर फर्किएर ‘हाइ’ भन्न लगाएकी थिइन् ।
प्रधानमन्त्रीसँग इस्टुको वान टु वान भेट भने थिएन । खासमा उनीसहित तीन जना युवतीहरू केपी ओली कपको उद्घाटन समारोहको विषयमा कुराकानी गर्न गएका थिए । टोलीको अर्को सदस्य थिइन् इभा गिरी । टिकटकमा लत परेकालाई उनको नाम पनि नौलो होइन् । उनी अत्यधिक ट्रोल हुने टिकटकरमा पर्छिन् ।
इभाले पनि प्रधानमन्त्रीसँग गरेको संवाद गरेको भिडिओ टिकटकमा पोस्ट गरेकी छन् । उक्त संवादमा उनले आफ्नो आमा पनि एमाले भएको प्रधानमन्त्री ओलीलाई सुनाउँछिन् ।
त्यसपछि ओली सोध्छन्, ‘तपाईँ नि ?’
इभा जवाफ दिन्छिन्, ‘म चैँ अब फ्यूचरमा । म चैँ फ्यान नै हो ।’
त्यसपछि प्रधानमन्त्रीले इभाको उमेर र परिवारका सदस्य संख्याको विषयमा सोधेका थिए । इभाले आफू २० वर्षको भएको बताइन् ।
प्रधानमन्त्रीले इस्टु र इभासँगको भेटघाटको भिडिओ टिकटकमा पोस्ट गर्दै लेखेका छन्, ‘शुभ विहानी । क्रियटर्स छोरीहरूसँग ।’
प्रधानमन्त्री ओलीले हाल अत्यधिक चर्चामा रहेका गायक कुमा सागरसँग पनि केही दिन अगाडि भेटे । कुमा सागर नेवा समुदायकै अन्य संगीतकर्मीको टोलीमा रहेर बालुवाटार पुगेका थिए । कुराकानीका दौरानमा उनले प्रधानमन्त्री ओलीलाई एउटा गीत पनि सुनाए ।
‘तिमी आई यो धर्ती रंगायौ रे…’ बोलको गीत सुनाएपछि ओलीले ताली बजाएर स्वागत गरे ।
अनि गीतको बोलमाथि टिप्पणी गर्दै भने, ‘तिमी आइ यो धर्ती रंगायौ रे… कस्तो भावना …. तिमी आउनुभन्दा पहिले यो धर्ती फिक्का थियो… ह्याप्पी भ्यालेन्टाइन डे ।’
अहिले चाहीँ एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा एक युवकले प्रधानमन्त्री ओलीसामु मुखले नै म्युजिक निकालेर ‘बा.. केपी बा..’ बोलको र्याप हानिरहेका छन् । यो भिडिओलाई लिएर धेरैले ट्रोल पनि गरिरहेका छन् । प्रधानमन्त्री ओलीले बालेनलाई ‘डिस’ हान्न एउटा र्यापर उतारेर आफ्नो गुणगान गाउन लगाएको कतिपयको आरोप छ । तर, यसको यथार्थ भने त्यस्तो थिएन ।
खासमा यी युवा नेकपा एमालेकै नेता (युवा संघका पूर्वअध्यक्ष) राजीव पहारीका छोरा हुन् । पेशाले इन्जिनियर उनी र्याप गाउनमात्र होइन, मुखले नै विभिन्न वाद्यवाधन यन्त्रको आवाज निकालन खप्पिस छन् । उनी आफ्नो बाबुको साथ लागेर प्रधानमन्त्री ओली निवासमा पुगेका थिए । त्यही क्रममा ओलीसँग उनले संक्षिप्त कुरकानी गर्ने अवसर पाए । ओलीले चासो राखेपछि उनले आफ्नो बारेमा बताए । आफूसँग भएको प्रतिभाबारे सुनाए । ओलीले प्रतिभा देखाउन भनेपछि उनले सो र्याप गाएका हुन् ।
विभिन्न विधाका कलाकारहरू बोलाउने र उनीहरूसँग रमाइलो गफगाफ गर्ने ओलीको पुरानै आदत हो । प्रधानमन्त्री नहुँदा पनि उनी आफ्नो निवासमा कलाकारहरू बोलाइरहन्थे । उनी नयाँ पुस्ताका पनि धेरै कलाकार र सेलिब्रिटीहरू चिन्छन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँको भनाइमा प्रधानमन्त्रीले गर्ने भेटघाटहरू आवश्यकता अनुरूप नै तय गरिएका हुन्छन् । युवा पुस्तालाई प्रधानमन्त्रीले प्राथमिकतामा राख्ने गरेको उनको भनाइ छ ।’
उनले भने, ‘प्रधानमन्त्रीले सबै उमेर समूहका व्यक्तिहरूलाई आवश्यकता र अनुकुलताका आधारमा भेट्नु हुन्छ । त्यही क्रममा कहिले युवा पर्छन् त कहिले वृद्ध । यद्यपि, युवाहरूलाई भेटेर उनीहरूको कुरा सुन्न प्रधानमन्त्रीज्यूको विशेष अभिरुचि देखेको छु ।’
प्रधानमन्त्री ओली प्राय राति १-२ बजेसम्म आफ्नो निवासमा आगन्तुकहरूसँग भेटघाट गरिरहेका हुन्छन् । बजगाईंका अनुसार राति १० बजेसम्मको भेटघाट सेड्यूल हुन्छ । तर, हरेक कुराकानीको समय लम्बिँदै गएर राति १-२ बज्ने गरेको उनको भनाइ छ ।

Leave a Reply