कचुरी मठबाट डोला निस्केसँगै सुरु भयो १५ दिने मिथिला मध्यमिकी परिक्रमा

जनकपुरधाम । मिथिलाको महाकुम्भको रूपमा चिनिने धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला मध्यमिकी परिक्रमा धनुषाको कचुरीबाट सुरु भएको छ ।

धनुषाको मिथिला विहारी नगरपालिका ८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीतर्नसहित भगवान् रामको डोला निस्केको हो ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र साधुसन्तले डोला मन्दिरबाट निकालेपछि परिक्रमा विधिवत् सुरु भएको छ ।

हजारौँ साधुसन्त र श्रद्धालु सहभागी परिक्रममा १५ दिनमा १३३ किलोमिटर यात्रा तय गर्छन् । परिक्रममा सहभागीहरू खाली खुट्टा हिँड्छन् । १५ दिनमा नेपाल र भारतका १५ स्थानमा रात्रि विश्राम गर्छन् ।

कचुरीबाट निस्केको परिक्रमाका यात्रु साँझ जनकपुरधामको हनुमानगढीमा पुगेर विश्राम गर्ने महन्त रामनरेश शरणले जानकारी दिए । उनका अनुसार त्यहाँ जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला समाहित हुनेछ ।

अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । यो धार्मिकयात्रा १५ औँ दिन जनकपुरधाम पुगेर फागु पूर्णिमा तिथि पारी समापन गरिन्छ ।

परिक्रमामा मन, वचन र कर्मसमेतले सहभागी भएमा अनेकन् पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने जनविश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *